अध्यागमन प्रणालीको स्तरोन्नति : अनलाइनबाटै पेमेन्ट, अनलाइनबाटै भिसा !
प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार
नेपाल सरकारले अध्यागमन प्रणालीको स्तरोन्नति गर्ने बताएको छ ।
बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यागमन प्रणालीको स्तरोन्नति गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसाको सुविधा उपलब्ध गराइने बताएका हुन् ।
“अध्यागमन प्रणालीको स्तरोन्नति गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसाको सुविधा उपलब्ध गराइनेछ”, उनले भने ।
नेपालको अध्यागमन विभागले ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) प्रणाली लागू गरेको झन्डै डेढ वर्ष पुगेको छ । तर, इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा उपलब्ध नहुँदा विदेशबाट विभागमा आवेदन दिनेहरूलाई समस्या सिर्जना हुँदै आएको छ ।
आफूहरूले इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा उपलब्ध गराउन सकेको खण्डमा विदेशी पर्यटकलाई सहज हुने अध्यागमन विभागको सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपाने बताउँछन् ।
“हामीलाई इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा उपलब्ध नभएको अवस्थामा विदेशबाट विभागमा आवेदन दिनेहरूलाई समस्या भएको छ। यो नै प्रमुख समस्या हो। यदि हामीले इन्टरनेशनल कार्ड पेमेन्टको सुविधा पनि उपलब्ध गराउन सक्यौँ भने विदेशी पर्यटकलाई झन् सहज हुन्छ।”, न्यौपानेले खसोखाससँग भने ।
अध्यागमन विभागका अनुसार गत फागुन अर्थात् इटीए लागु भएको एक वर्षको अवधिमा विभागमा २९,७९६ वटा आवेदन परेका थिए, तर, स्वीकृत भने १,८६५ वटा मात्रै भएको थिए । त्यो कुल आवेदनको ६ प्रतिशत मात्रै हो ।
सरकारले आगामी बजेटमा स्टार्ट अप व्यवसायमा काम गर्ने विशेषज्ञ तथा लगानीकर्तालाई निःशुल्क आवासीय भिसा उपलब्ध गराएको जनाएको छ । यस्तै, नेपालमा बसेर विदेशी कम्पनीको लागि रिमोर्ट वर्क गर्ने व्यक्तिलाई डिजिटल नोम्याड भिसा उपलब्ध गराइने समेत जनाइएको छ ।








