सलमान रुश्दीमाथि हत्या प्रयासको मुद्दामा दोषी ठहरिएका मातरलाई २५ वर्षको जेल सजाय


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

Salman Rushdie-Assault

सुप्रसिद्ध लेखक सलमान रुश्दीमाथि सन् २०२२ मा भएको हत्या प्रयासको मुद्दामा दोषी ठहरिएका हादी मातरलाई चटाउक्वा काउन्टी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ। न्यूजर्सीका २७ वर्षीय मातरलाई दोषी ठहरिएको तीन महिनापछि शुक्रबार हत्या प्रयासमा सजाय सुनाइएको हो ।

सन् २०२२ मा पश्चिमी न्यूयोर्कमा आयोजित एक साहित्यिक समारोहमा मातरले रुश्दीमाथि चक्कु प्रहार गरेका थिए। ७७ वर्षीय लेखक रुश्दी गम्भीर रूपमा घाइते भएका थिए । उनको दाहिने आँखाको दृष्टि स्थायी रूपमा गुमेको थियो। सुनुवाइको क्रममा रुश्दीले आफूलाई मृत्यु निश्चित भएको महसुस भएको क्षणको मार्मिक वर्णन गरेका ।

उनले भने, ‘म रगतको पोखरीमा लडिरहेको थिएँ, मेरो आँखा र हातमा असह्य पीडा थियो । मलाई स्पष्ट रूपमा म मरिरहेको छु भन्ने लाग्यो।’ मातरले रुश्दीको टाउको, घाँटी, धड र बायाँ हातमा १५ पटक चक्कु प्रहार गरेका थिए, जसले उनको आँखा, कलेजो र आन्द्रामा गम्भीर चोट पुर्‍यायो।

मातरलाई रुश्दीको व्याख्यानमा मध्यस्थकर्ता रहेका राल्फ हेनरी रीसमाथि आक्रमण गरेकोमा थप सात वर्षको सजाय सुनाइएको छ। जिल्ला वकिल जेसन स्मिटले मातरले यो आक्रमण रुश्दी र समुदायलाई अधिकतम क्षति पुर्‍याउने उद्देश्यले डिजाइन गरेको बताए। ‘उनले यो आक्रमण १,४०० दर्शकहरूको अगाडि गरे, जसले समुदायमा ठूलो आघात पुर्‍यायो’, स्मिटले भने। दुवै सजायहरू एकसाथ चल्नेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सजायअघि मातरले अदालतमा दिएको बयानमा रुश्दीमाथि अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाए। ‘सलमान रुश्दीले अरूलाई अपमान गर्न चाहन्छन्, उनी धम्की दिन चाहन्छन्। म त्यससँग सहमत छैन’, उनले भने। यद्यपि, सार्वजनिक रक्षक नथानियल ब्यारोनले मातरको कुनै पूर्व आपराधिक रेकर्ड नभएको र उनलाई सुरुदेखि नै निर्दोषताको अनुमान नदिइएको तर्क गरे। ‘यो मुद्दा अन्तर्राष्ट्रिय प्रचारको केन्द्र बनेको छ’, ब्यारोनले भने।

मातरको आक्रमणको प्रेरणा रुश्दीको उपन्यास ‘द स्याटानिक भर्सेस’ लाई लिएर इरानी धार्मिक नेताहरूले ३५ वर्षअघि जारी गरेको फतवाबाट प्रेरित थियो। सन् २००६ मा हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरल्लाहले यो फतवालाई समर्थन गरेको भाषणलाई मातरले आधार बनाएको अभियोगमा उल्लेख छ। रुश्दीमाथि आक्रमण गर्नुअघि मातरले उक्त किताबको केवल ‘दुई पृष्ठ’ मात्र पढेको स्वीकार गरेका थिए।

रुश्दीले यो घटना र आफ्नो रिकभरीको यात्रालाई ‘नाइफ : मेडिटेशन्स आफ्टर एन अटेम्प्टेड मर्डर’ नामक संस्मरणमा विस्तृत रूपमा वर्णन गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com