न्यूयोर्कमा “नेपाल डे परेड २०२५” आयोजना हुँदै, नेपाली कला, संस्कृति र पहिचानको प्रदर्शन गरिने
प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने मूल नाराका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको न्यूयोर्क शाखाले आगामी मे १८, २०२५ आइतवारका दिन न्यूयोर्क सिटीको म्यानह्याटनस्थित ३८औं सडक र म्याडिसन एभिन्यूमा “नेपाल डे परेड २०२५” को आयोजना गर्न लागेको छ।
यो कार्यक्रम नेपाली समुदायका लागि मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका सामु नेपाली कला, संस्कृति, पहिचान र गौरवलाई प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिँदैछ। यस परेडमा नेपालको विविध जातीयता, भेषभूषा, झण्डा, परम्परा, गीत, नृत्य प्रदर्शनी समावेश गरिनेछ। कार्यक्रमले विदेशमा रहेका नेपालीहरूको मनोबल उच्च पार्ने, एकताको सन्देश दिने, र नयाँ पुस्तालाई नेपाली सम्पदासँग परिचित गराउने महत्त्वपूर्ण प्रयासका रूपमा लिइएको छ।
कार्यक्रमको सबै तयारी पूरा भएको बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित पत्रकार भेटघाटमा परेडकी कन्भेनर मनिता गुरुङले जानकारी दिइन् । परेड कार्यक्रममा नेपालका चर्चित कलाकारहरु दुर्गा गुरुङ, रामजी खाँड, स्टोरीटेलर साइग्रेस पोखरेलपनि सहभागी हुने तथा नेपालका पूर्वदेखि पश्चिमसम्मका संस्कृति झल्काउने प्रस्तुती र झाँकीहरु रहने उल्लेख गर्दै कन्भेनर गुरुङले सबैलाई परेडमा सहभागी हुन आव्हान गरिन् ।
कन्भेनर मनिता गुरुङले कार्यक्रम ढिलो हुनुको मुख्य कारण आर्थिक अभाव रहेको स्पष्ट गरिन्। यस पटक पर्याप्त प्रायोजक नपाउँदा धेरै क्षेत्रहरूमा कटौती गर्नुपरेको उल्लेख गर्दै उनले ट्रकको संख्या कम गर्नु परेको, तयारीमा ढिलाइ भएको, र स्रोत अभावका बाबजुद पनि नेपाली समुदायको उत्साह र सहयोगले कार्यक्रम सम्भव भएको बताइन्। “हामीले पैसा मात्रै होइन, भावना र पहिचानको आधारमा पनि यो कार्यक्रम गरिरहेका छौं,” उनले भनिन्।
उनले नेतृत्वको चुनौतीलाई आत्मविश्वासका साथ सामना गरिरहेको र कार्यक्रममा संलग्न सबै पुरुष सहकर्मीहरूको समर्थनप्रति आभार व्यक्त गरिन्। मनिता गुरुङले सयभन्दा बढी नेपाली संघसंस्थालाई समेट्ने प्रयास गरिएको बताउँदै अझै केही संस्थाहरूसँग सम्पर्क हुन नसकेको स्वीकार गरिन्। उनले सबै नेपालीहरूलाई “नेपाली भएर आउनुहोस्” भन्ने आग्रह गर्दै, चिठी नपाए पनि सहभागी हुन अनुरोध गरिन्। परेडको व्यवस्थापनमा फोहोर संकलन, ट्वाइलेटको व्यवस्था, स्वयंसेवक परिचालन जस्ता पक्षमा पनि विशेष ध्यान दिइएको उनले जानकारी दिइन्।
गुरुङले यो परेड कुनै व्यक्तिको नभई सम्पूर्ण नेपाली समुदायको साझा प्रयास भएको स्पष्ट पारिन्। “यो टीम वर्क हो, एकजनाले मात्र सम्भव छैन,” उनले न्यूयोर्कका सम्पूर्ण नेपालीहरूको समर्थनका लागि आभार व्यक्त गरिन्। “हामी ९० प्रतिशत तयारीमा छौं, र यो कार्यक्रम सफल हुने विश्वास छ,” उनले भनिन्। नेपाल डे परेड २०२५ नेपाली समुदायको पहिचान, एकता र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा देखाउने ऐतिहासिक अवसर भएको विश्वास मनिता गुरुङले व्यक्त गरिन्।
त्यस्तै नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिङ शेर्पाले नेपालपन झल्काउने परेडमा सहभागिताका लागि सबैलाई आव्हान गर्दै एकताको सन्देश प्रवाह गर्न आव्हान गरेका छन् । परेड सफल पार्नका लागि झण्डै २८ हजार डलरको स्पोन्सर र सहयोग प्राप्त भइसकेको नेपाल डे परेड २०२५ का वित्त संयोजक कृष्ण आचार्यले जानकारी दिए । सहयोगहरु आउने क्रम जारी रहेको उल्लेख गर्दै उनले सबै सहयोगदाता र स्पोन्सरहरुलाई धन्यवाद समेत दिएका छन् ।
एनआरएनए न्यूयोर्क शाखाले विगतमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको भए तापनि “नेपाल डे परेड” बिस्तारै एउटा चिनारीमूलक वार्षिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ। यस वर्षको परेडलाई अझ भव्य र समावेशी बनाउने योजना गरिएको छ। कार्यक्रमको सुरुवात बिहान ११ बजेदेखि हुने र विभिन्न सांगीतिक, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर चल्नेछन्। परेडमा सहभागी हुनेहरूको लागि नेपाली भेषभूषामा सजिन प्रोत्साहन गरिएको छ, ताकि नेपाली संस्कृति र परम्पराको गौरव सम्पूर्ण न्यूयोर्क शहरमा उजागर गर्न सकियोस्।
यस परेडमा न्यूयोर्क तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने नेपाली संघसंस्था, समाजसेवी, व्यवसायी, कलाकार, विद्यार्थी, बालबालिका तथा विभिन्न पेशामा आबद्ध नेपालीहरू सहभागी हुनेछन्। कार्यक्रमले नेपाली समुदायको एकता, सहकार्य र संस्कृतिप्रतिको प्रेमलाई उजागर गर्ने अपेक्षा गरिएको छ।
“नेपाल डे परेड २०२५” लाई सफल बनाउन तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ। नेपाली समुदायले प्रवासमा रहँदासमेत आफ्नो पहिचान जोगाउने, भाषा र संस्कृतिप्रतिको गर्व अभिव्यक्त गर्ने र भावी पुस्तामा पनि नेपालीपन हस्तान्तरण गर्ने प्रयासस्वरूप यो परेड एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको छ।