‘अमेरिकी भिसा जारी भएपछि पनि रोकिँदैन जाँच प्रक्रिया, नियम पालना नगरे हुन सक्छ भिसा रद्द’


प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार

नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी भिसा जारी भएपछि पनि जाँच प्रक्रिया नरोकिने बताएको छ । राजदूतावासले सामाजिक सञ्जालमार्फत अमेरिकी भिसा प्राप्त गर्ने व्यक्तिहरूले सबै अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरे/नगरेको निरन्तर जाँच गरिरहने बताएको हो ।

राजदूतावासले भनेको छ, “अमेरिकी भिसा जारी भएपछि पनि जाँच प्रक्रिया रोकिँदैन । हामी भिसा प्राप्त गर्ने व्यक्तिहरूले सबै अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् कि छैनन् भन्ने कुरा निरन्तर जाँच गर्छौ ।”

राजदूतावासले अमेरिकी भिसा प्राप्त गर्नेहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगर्नेहरूको भिसा रद्द गर्ने समेत बताएको छ । यस्तै, भविष्यमा कानुनी रूपमा अमेरिका जान नपाउने जोखिम समेत हुने भन्दै चेतावनी दिएको छ ।

“अमेरिकी कानुन र आप्रवासन नियमहरू यदि उनीहरूले पालना गरेका छैनन् भने हामी उनीहरूको भिसा रद्द गर्छौँ । भविष्यमा कानुनी रूपमा अमेरिका जान नपाउने जोखिम हुन्छ ।”, दूतावासले भनेको छ ।

यस्तै, अमेरिकी राजदूतावासले अमेरिका अवैध रूपमा जान खोज्दा फाइदाभन्दा जोखिम धेरै हुन सक्ने भन्दै सचेत समेत गराएको छ । दलाललाई लाखौँ बुझाएर आधिकारिक प्रक्रिया बिना अमेरिका जान खोज्दा ज्यान नै जान सक्ने बताएको छ । साथै, त्यसरी अमेरिका जान खोज्दा अपराधीहरूको सिकार बन्न सकिने भन्दै परिवारको भविष्य नोक्सान हुने गरी रेकर्ड दर्ता हुने समेत जनाएको छ ।

“अमेरिका अवैध रूपमा जान खोज्दा फाइदाभन्दा जोखिम धेरै हुन्छ । तपाईँले ज्यान गुमाउन सक्नुहुन्छ, अपराधीहरूको सिकार बन्न सक्नुहुन्छ, वा तपाईँ र तपाईँको परिवारको भविष्य नोक्सान हुने गरी रेकर्ड दर्ता हुन सक्छ ।”, राजदूतावासले भनेको छ ।

नेपालस्थित अमेरिकी राजदूतावास

अमेरिकी राजदूतावासले यसअघि, भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताएको थियो । राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताउँदै यस्तो गरेमा भिसाका लागि अयोग्य ठहरिन चेतावनी दिँदै आएको छ । दूतावासले अमेरिकी विदेश मन्त्रालयले भिसा प्रणाली सुरक्षित राख्न र देशको सुरक्षाको रक्षा गर्न कडा जाँच र सुरक्षा प्रक्रिया अपनाएको समेत स्मरण गराएको थियो ।

अमेरिकी राजदूतावासले भनेको थियो, “भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती हो । यस्तो गरेमा भिसाका लागि अयोग्य ठहरिन सकिन्छ । अमेरिकी विदेश मन्त्रालयले भिसा प्रणाली सुरक्षित राख्न र देशको सुरक्षाको रक्षा गर्न कडा जाँच र सुरक्षा प्रक्रिया अपनाएको हुन्छ ।”

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई कडा बनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com