हाम्रा आमा-दिदीबहिनीहरूको सिन्दूर मेटाउने आतङ्ककारीहरूलाई मेटाइदियौं : प्रधानमन्त्री मोदी
प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार
पाकिस्तानसँगको युद्धविरामको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रात ८ बजे राष्ट्रको नाममा सम्बोधन गरे । भारतीय प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै आतङ्कवादविरुद्ध कडा कारबाहीको प्रतिबद्धता दोहोर्याए। २२ मिनेट लामो सम्बोधनमा उनले पहलगाम आक्रमण, अपरेशन सिन्दूर, युद्धविराम, सिन्धु जल सम्झौता र पाकिस्तान अधिकृत कश्मीर (पीओके) का विषयमा चर्चा गरे।
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले हाम्रा आमा-दिदीबहिनीहरूको सिन्दूर मेटाउने आतङ्ककारीहरूलाई मेटाइदिएको बताए । उनले अपरेशन सिन्दूरमा १०० भन्दा बढी खूंखार आतङ्ककारी मारिएको जानकारी दिए । उनले भने, ‘जुन आतङ्ककारीहरूले हाम्रा आमा-दिदीबहिनीहरूको सिन्दूर मेटाए, हामीले तिनीहरूलाई मेटाइदियौं । अपरेशन सिन्दूरमा १०० भन्दा बढी खूंखार आतङ्ककारी मारिएका छन्।’
उनले पाकिस्तानको अनुरोधमा भारतले युद्धविरामको सहमति जनाएको तर सैन्य कारबाहीलाई केवल स्थगित गरेको बताए। ‘पाकिस्तानको रवैया हेरेर हामी आगामी कदम चाल्नेछौं। हामी आतङ्कवाद र पीओकेका विषयमा मात्र वार्ता गर्छौं’, उनले थपे।
गत २२ अप्रिलमा पहलगाममा भएको आतङ्ककारी हमलाले भारत र विश्वलाई स्तब्ध बनाएको थियो। बिदा मनाइरहेका निर्दोष नागरिकहरूलाई तिनका परिवार र बालबालिकासामु निर्ममतापूर्वक मारिएको घटनालाई प्रधानमन्त्रीले आतङ्कको घृणित रूप र देशको सद्भाव तोड्ने प्रयासको संज्ञा दिए। ‘यो मेरो लागि व्यक्तिगत पीडा थियो। यो हमलापछि सम्पूर्ण राष्ट्र एकजुट भएर आतङ्कविरुद्ध कडा कारबाहीको माग गर्यो’, उनले भने।
मोदीले भारतीय सेनालाई आतङ्ककारीविरुद्ध पूर्ण स्वतन्त्रता दिइएको र अपरेशन सिन्दूरले देशका करोडौं जनताको भावनालाई प्रतिबिम्बित गरेको बताए। ‘यो न्यायको अटल प्रतिज्ञा हो’, उनले भने।
६ र ७ मे मा भएको यो अपरेशनमा भारतीय सेनाले पाकिस्तानस्थित आतङ्ककारी अखडा र तालिम केन्द्रहरूलाई सटीक प्रहार गरेको उनले उल्लेख गरे। ‘आतङ्ककारीहरूले सपनामा पनि सोचेका थिएनन् कि भारतले यति ठूलो कदम चाल्न सक्छ। हाम्रा मिसाइल र ड्रोनले आतङ्ककारी सङ्गठनको हौसला कम्पायमान बनायो’, उनले थपे।
प्रधानमन्त्रीले अपरेशन सिन्दूरले युद्धको मैदानमा भारतको श्रेष्ठता मात्र नभई नयाँ युगको युद्ध प्रविधिमा पनि देशको क्षमता प्रमाणित गरेको बताए। ‘हाम्रा मेड इन इन्डिया हतियारहरूको प्रामाणिकता विश्वले देख्यो। २१औं शताब्दीको युद्धमा भारतीय रक्षा उपकरणको युग सुरु भएको छ’, उनले भने।








