अक्टोबर १ देखि ग्रिनकार्डको प्रकृया गाह्रो, ग्रिनकार्डका लागि अन्तरवार्ता लिन सुरु


प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

– किशोर पन्थी

ट्रम्प प्रशासनले अक्टोबर १ देखि लागु हुनेगरी ग्रिनकार्डको प्रकृयालाई झन् गाह्रो बनाएको छ । खासगरी एसाइलम गर्ने र एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्न चाहनेहरुका लागि प्रकृया थप कठिन र लामो बनाइएको हो । जुन प्रकृया अनुशार पहिले बिना अन्तरवार्ता नै ग्रिनकार्ड प्राप्त गर्न सक्ने आवेदकले पनि अब अन्तरवार्ताको झन्झटिलो र लामो प्रकृया पूरा गर्नुपर्ने भएको छ ।

जालसाजी रोक्न अन्तरवार्ता

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्डको प्रकृयामा हुने जालसाजी रोक्न र अध्यागमनलाई शशक्त बनाउन यो नयाँ नियम ल्याएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा यो नियम ल्याइएको युएससीआईएसले जनाएको छ ।

एसाइमल र रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिइदा अत्यन्तै ठूलो संख्यामा जालसाजी हुने गरेको रिपब्लिकनहरुको विश्वास रहेको छ । यसैक्रममा ट्रम्प प्रशासनले एसाइलमका अन्य नियमहरुमा पनि कडाई गरिरहेको छ । यसै सन्दर्भमा यो नयाँ नियम ल्याइएको हो ।

आवेदकलाई प्रत्यक्ष भेटेर अन्तरवार्ता लिंदा आवेदकका विवरणहरु प्रमाणित गर्न युएससीआईएस अधिकारीहरुलाई थप मौका मिल्ने युएससीआईएसले जनाएको छ । अमेरिकाको अध्यागमन प्रणालीलाई शशक्त बनाउन र अध्यागमनमा भइरहेको जालसाजी रोक्न यो विधि अपनाइएको युएससीआईएस कार्यकारी निर्देशक जेम्स म्याकक्यामेन्टले जनाएका छन् ।

कसकसले दिनुपर्छ अन्तरवार्ता ?

 

हालसम्म एसाइलम गरेका व्यक्तिका परिवार अमेरिकामा नै भएको खण्डमा उनीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि युएससीआईएसका अधिकारीसमक्ष थप अन्तरवार्ता दिनु पर्दैनथ्यो । मुख्य आवेदकको एसाइलम आवेदन स्वीकृत भएको खण्डमा मुख्य आवेदकसँगै उसका श्रीमान् वा श्रीमति र छोराछोरीहरुले ग्रिनकार्ड प्राप्त गर्न सक्थे ।

तर अब भने मुख्य आवेदकको एसाइलम स्वीकृत भएको खण्डमा पनि उसका श्रीमान् वा श्रीमति र छोराछोरीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि युएससीआईएसका अधिकारीहरुसमक्ष अन्तरवार्ता दिनुपर्नेछ । यदि अन्तरवार्ताका क्रममा मुख्य आवेदकले सुरुमा पेश गरेका विवरणहरु बाझिएमा युएससीआइएसले ग्रिनकार्ड स्वीकृत नगर्न पनि सक्नेछ ।

त्यस्तै एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्डका आवेदकहरुले ग्रिनकार्डका लागि युएससीआईएसका अधिकारीसमक्ष अन्तरवार्ता दिनु पर्दैनथ्यो । तर अब भने त्यस्ता आवेदकहरुले पनि युएससीआईएस समक्ष अन्तरवार्ता दिनुपर्ने भएको छ । अन्तरवार्ताका क्रममा आवेदकले पहिले पेश गरेका विवरणबारे युएससीआईएसका अधिकारीहरुले थप सोधपुछ र जाँचबुझ गर्नेछन् ।

यदि एसाइलम गर्ने व्यक्तिका परिवार अमेरिकामा नभएको खण्डमा भने पहिलेजस्तै उनीहरुले सम्बन्धित देशमा रहेको दूतावासमा अन्तरवार्ता दिएर अमेरिका आउनुपर्नेछ । त्यस्तै अमेरिकाबाहिरबाट एक्स्ट्रा अर्डिनरी लगायत रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्नेहरुका सन्दर्भमा पनि पहिलेजस्तै दूतावासमा अन्तरवार्ता दिनुपर्नेछ ।

तर पहिले नै एसाइलमबाट ग्रिनकार्ड पाइसकेका वा रोजगारमा आधारित ग्रिनकार्ड पाइसकेकाहरुले भने अन्तरवार्ता दिनुपर्ने छैन ।

अन्य श्रेणीका ग्रिनकार्डका लागि पनि अन्तरवार्ता दिनुपर्ने नियमको तयारी

अहिले तत्कालका लागि युएससीआईएसले एसाइलम गर्नेका परिवार र रोजगारमा आधारित ग्रिनकार्डका लागि आवेदन दिनेका सन्दर्भमा अनिवार्य अन्तरवार्ताको नियम ल्याएको छ । तर यीबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि पनि अनिवार्य अन्तरवार्ताको तयारी भइरहेको युएससीआईएसले जनाएको छ ।

युएससीआईएस कार्यकारी निर्देशक जेम्स म्याकक्यामेन्टले अमेरिकामा अध्यागमन सुविधा खोजिरहेको व्यक्तिका सन्दर्भमा आफूहरुले थप कडाई गर्नका लागि अन्य संघीय निकायहरुसँग काम गरिरहेको जनाएका छन् । साथै युएससीआईएसले जालसाजी गर्नेहरुकाबारेमा उजुरी गर्न सर्वसाधारणहरुलाई पनि प्रेरित गरेको छ ।

नयाँ नीतिको नेपालीहरुमा प्रभाव

अमेरिकी सरकारको नयाँ नीतिले नेपालीहरुमा पनि ब्यापक प्रभाव पार्नेछ । किनभने अमेरिकामा एसाइलम गर्ने नेपालीहरुको संख्या ठूलो रहेको भने नेपालीहरुले उल्लेख्यमात्रामा रोजगारमा आधारित ग्रिनकार्ड समेत प्राप्त गर्दै आएका छन् ।

साथै नयाँ नीतिले ग्रिनकार्डको प्रकृयालाई झन् लामो बनाउने र ब्याकलग थप्ने अनुमान गरिएको छ । न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले नयाँ नियमले ब्याकलग थप्ने सम्भावना भएकाले अब ग्रिनकार्ड प्राप्त गर्ने अवधि अझ बढ्ने बताउनुहुन्छ ।

कति नेपाली प्रभावित ?

सन् २०११ देखि अहिलेसम्म हरेक बर्ष ५ हजारको हाराहारीमा नेपालीहरुले शरणार्थी र एसाइलमबाट ग्रिनकार्ड प्राप्त गर्दै आएका छन् । त्यस्तै रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य नै छ ।

सन् २०१५ मा शरणार्थी र एसाइलमबाट अमेरिकी ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरु ५ हजार २ सय ६१ जना रहेका थिए भने १३५८ जनाले रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गरेका थिए । सन् २०१४ मा शरणार्थी र एसाइलम बाट ग्रिनकार्ड पाउनेहरु ५५१६ जना रहेका थिए भने ९४६ जनाले रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गरेका थिए ।

यसरी नयाँ नियमका कारण हजारौं नेपालीहरु पनि प्रभावित हुने भएका छन् । किनभने अमेरिकामा हरेक बर्ष सबैभन्दा धेरै नेपालीहरुले शरणार्थी र एसाइलमबाट नै ग्रिनकार्ड पाउने गरेका छन् भने दोश्रोमा डिभी लोटरीबाट ग्रिनकार्ड पाउने गरेका छन् ।

 

अब ग्रिनकार्ड पाउन झन् ढिलो हुन्छ

– खगेन्द्र जीसी, कानुन व्यवसायी

युएससीआईएसले एसाइलीको परिवार र रोजगारमा आधारित ग्रिनकार्डका आवेदकलाई अन्तरवार्ता अनिवार्य गर्दैछ । यसबारे थप जानकारी गराइदिनु हुन्छ कि ?

एसाइलीका अमेरिकामा रहेका परिवार र रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिनेहरुलाई अन्तरवार्ता नगरिकनै ग्रिनकार्ड दिइदै आएको थियो । तर अब आगामी अक्टोबर १ बाट अन्तरवार्ता अनिवार्य गरिएको छ । यसले ब्याकलग सृजनागर्ने देखिन्छ । अहिले नै ग्रिनकार्डमा लामो समय लाग्ने गरी ब्याकलग रहेको अवस्थामा युएससीआईएस अधिकारीको उपलब्धता अनुशार अन्तरवार्ताको मिति तोक्नुपर्ने भएकाले ब्याकलग अझ बढ्ने देखिन्छ । ट्रम्प प्रशासनले नयाँ कर्मचारी नियुक्त नगर्ने र तीब्र गतिमा हुने केसमा पनि अन्तरवार्ता लगायतका झन्झट थप्दा ग्रिनकार्ड प्राप्त गर्न लामो समय लाग्ने अवस्था देखिन्छ । अर्कोतर्फ एसाइलीका परिवारलाई पनि अधिकारीले अन्तरवार्ताका क्रममा मुख्य आवेदकले फाइल गरेको आवेदनबारे सोध्न सक्ने अवस्था रहन्छ ।

अन्तरवार्ताको विधिले जालसाजी रोक्न कत्तिको सफल होला ?

जालसाजी रोक्न युएसससीआईएसले थप अनुसन्धान पनि गर्नेगर्छ । अन्तरवार्ता नहुने केसमा पनि जालजासी रोक्न अनुसन्धान नहुने भन्ने कुरा भएन । तर अन्तरवार्ता गर्दैमा जालसाजी रोकिन्छ भन्न सकिने अवस्था छैन । जालसाजी रोक्न औंठाछाप लिनेदेखि कागजात चेक गर्ने सम्मका युएससीआईएसका प्रकृयाहरु छन् । त्यसैले अन्तरवार्ताले ग्रिनकार्ड ढिलो गर्नेमात्र हो ।

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्नेलाई कतिबेला अन्तरवार्ता लिइनेछ ?

अमेरिकामा नै रहेर एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड फाइल गर्नेहरुका सन्दर्भमा अन्तरवार्ता लिइनेछ । आवेदकको आई १४० आवेदन स्वीकृत भएपनि आई ४८५ आवेदन अर्थात् ग्रिनकार्ड स्वीकृत गर्नुभन्दा अगाडि अन्तरवार्ता लिइनेछ । अन्तरवार्ताका क्रममा व्यक्तिगत पृष्ठभूमी र कागजात चेक गर्न सक्नेछन् । अन्तरवार्ता दिनुपर्ने भयो भनेर डराउनुपर्ने अवस्था छैन । तर आवेदक आफूले फाइल गरेको कागजातसँग फेमिलियारिटी हुनुपर्छ ।

अन्तरवार्तामा जाँदा के कुरामा ध्यान दिनुपर्ला ?

आफूले दिएको आवेदनको बारेमा तयारी गर्नुपर्छ । अन्तरवार्तामा दिंदा ओरिजिनल कागजातहरुका साथमा जानुपर्छ भने कागजातमा भएका कुराहरु याद गर्नुपर्छ । महत्वपूर्ण मिति र स्थानहरु याद हुनुपर्छ । पहिले पेश गरेका कागजात र अन्तरवार्तामा बोलेको कुरा बाझिनु हुँदैन । जालसाजी गरेको व्यक्ति अन्तरवार्तामा आउँदा डराउने मनोवैज्ञानिक अवस्थालाई पनि पहिचान गर्न युएससीआईएसले अन्तरवार्ताको व्यवस्था गरेको हुनसक्छ ।

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com