पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूको श्रद्धाञ्जली
प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार
Pope Francis appears on the central lodge of St. Peter’s Basilica to bestow the Urbi et Orbi (Latin for to the city and the world) blessing at the end of the Easter mass presided over by Cardinal Angelo Comastri in St. Peter’s Square at the Vatican Sunday, April 20, 2025. (AP Photo/Andrew Medichini)
क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ । विश्वभरका नेताहरूले उनको विनम्रता, करुणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसले सधैं युक्रेन र यहाँका जनताको शान्तिका लागि प्रार्थना गरेको सम्झना गर्दै गहिरो दुःख व्यक्त गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बुद्धिमान, न्यायप्रिय र धार्मिक सहकार्यका पक्षपाती व्यक्तित्वका रूपमा वर्णन गरे ।
बेलायती प्रधानमन्त्री केर स्टार्मरले पोपको नेतृत्व कठिन समयमा पनि साहसी र विनम्र रहँदै आएको बताए । यस्तै, राजा चाल्र्सले उनीप्रति गहिरो श्रद्धा व्यक्त गर्दै भने, “उहाँले मानिस र प्रकृतिप्रतिको प्रेममार्फत धेरैको जीवनमा गहिरो प्रभाव पार्नुभयो ।”
अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले वैचारिक भिन्नता हुँदाहुँदै पनि पोपको सौम्यता र बुद्धिमत्ताबाट आफू प्रेरित भएको बताए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनलाई सधैं पीडित र कमजोरहरूको पक्षमा उभिने करुणामय व्यक्तित्वका रूपमा सम्झिए ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले “यो मानवजातिका लागि गहिरो क्षतिको घडी हो” भन्दै श्रद्धाञ्जली अर्पण गरिन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पोपलाई करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतिक बताउँदै भने, “उहाँसँगको भेट स्मरणीय रह्यो र उहाँको समावेशी तथा समग्र विकासप्रतिको दृष्टिकोणले मलाई गहिरो प्रेरणा दिएको छ ।”
इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगले पोपले यहूदी समुदायसँगको सम्बन्ध मजबुत पार्न महत्वपूर्ण योगदान दिएको स्मरण गरे । फलस्तीनी राष्ट्रपति महमुद अब्बासले पोपलाई फलस्तीनी जनताको सच्चा मित्र भन्दै श्रद्धाञ्जली अर्पण गरे ।
स्पेन, जर्मनी, इजिप्ट, केन्या, फिलिपिन्सलगायत विभिन्न देशका नेताहरूले पनि पोप फ्रान्सिसप्रतिको आफ्नो सम्मान, माया र प्रेरणालाई गहिरो भावनाका साथ अभिव्यक्त गरेका छन् ।
पोप फ्रान्सिसको सादगी, सहिष्णुता र सबैप्रतिको प्रेम भावले विश्वभरका करोडौँ मानिसको हृदय छुने काम गरेको छ । उनको दिव्य आत्माको चिर शान्तिको कामना गर्दै विश्व आज शोकमा डुबेको छ ।








