अमेरिकी करको चिन्ताबीच आसियान प्रमुखद्वारा क्षेत्रीय एकताको लागि आह्वान
प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार
व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बीचमा फसेको भन्दै दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताएका छन् ।
अमेरिकालाई आफ्नो मुख्य निर्यात बजारका रूपमा गणना गर्ने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सबैभन्दा कडा कर लगाउनेहरू मध्ये एक थियो ।
“आर्थिक अराजकता द्रुत रूपमा नयाँ सामान्य हुँदै गइरहेको विश्वमा सान्दर्भिक र लचिलो रहनका लागि हामीले स्थिर, पूर्वानुमानयोग्य र व्यापार–मैत्री वातावरणका लागि आसियानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न दृढतापूर्वक, निर्णायक रूपमा र सँगै काम गर्नुपर्दछ”, आसियानका महासचिव काओ किम होर्नले भने ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आसियानका आर्थिक तथा वित्तमन्त्रीहरू तथा केन्द्रीय बैंकका गभर्नरहरूको बैठकको पूर्वसन्ध्यामा अमेरिकी करको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गर्न बोल्दै उनले यस्तो बताएका हुन् ।
आसियान सरकारहरूले वार्तालाई प्राथमिकता दिँदै वासिङ्टनविरुद्ध बदला नलिने निर्णय गरेका छन् । तर अर्को प्रमुख बजार चीनले संयुक्त राज्य अमेरिकामा आफ्नै भन्सार शुल्क लगाएपछि उनीहरूको निर्यात उन्मुख अर्थतन्त्रहरू विश्वव्यापी व्यापार युद्धबाट प्रभावित हुने जोखिम छ ।
“अन्तर–आसियान आर्थिक एकीकरणलाई गति दिन र हाम्रो बजार र साझेदारीलाई विविधीकरण गर्न तत्काल र सामूहिक कार्यबिना, हामी विभाजित र द्रुत रूपमा विकसित हुँदै गरेको वैश्विक अर्थतन्त्रमा हाम्रो स्थान छोड्ने जोखिममा छौँ”, काओले भने ।
उत्पादन शक्ति र आसियान सदस्य भियतनाममाथि अमेरिकामा निर्यात गर्ने वस्तुहरूमा ४६ प्रतिशत भन्सार महसुल लगाइएको छ भने ठूला पश्चिमी ब्रान्डहरूका लागि कम लागतको कपडाको प्रमुख उत्पादक छिमेकी कम्बोडियामाथि ४९ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।
भारी भन्सार लगाइएका अन्य आसियान राष्ट्रहरूमा लाओस (४८ प्रतिशत), म्यानमार (४४ प्रतिशत), थाइल्यान्ड (३६ प्रतिशत) र इन्डोनेसिया (३२ प्रतिशत) छन् । दक्षिणपूर्व एसियाको तेस्रो ठूलो अर्थतन्त्र मलेसियामाथि २४ प्रतिशतको कम भन्सार लगाइएको छ ।
ब्रुनाईले पनि २४ प्रतिशत भन्सारको सामना गर्दछ भने फिलिपिन्समाथि १७ प्रतिशत र सिङ्गापुरमाथि १० प्रतिशत भन्सार लगाइएको छ।
आसियानको जनसङ्ख्या ६५ करोडभन्दा बढी छ तर लाओस र कम्बोडिया जस्ता गरिब देशहरूदेखि वित्तीय केन्द्र सिंगापुर जस्ता धनी देशहरूसम्म यसका सदस्यहरू आर्थिक विकासका विभिन्न चरणमा छन् ।








