बाल्यकालमा अमेरिका छिरेका ६० नेपाली जोखिममा, देशनिकाला हुनसक्ने


प्रकाशित मिति : आश्विन ६, २०७४ शुक्रबार

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम खारेज भएमा त्यसबाट कैयन नेपालीहरु समेत प्रभावित हुने भएका छन् । अमेरिकी सरकारको युएससीआईएसले अहिलेसम्म डाकाप्राप्त नेपालीहरु ६० जना रहेको जनाएको छ । डाका खारेज भएमा ती नेपालीहरु प्रभावित हुने भएका छन् ।

उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्नै आएका तथा सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् । उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

यसअघि अमेरिकामा डाकाप्राप्त नेपालीको यकिन विवरण सार्वजनिक भएको थिएन । डाकाप्राप्त नेपालीहरु केहीसयको संख्यामा रहेको अनुमान गरिएपनि युएससीआईएसले भने जम्मा ६० जना नेपालीहरु डाकाप्राप्त रहेको पुष्टी गरेको छ । उनीहरु सन् २०१७ को सेप्टेम्बर ४ अगाडि नै डाका प्राप्त गरेकाहरु हुन् ।

अमेरिकामा सबैभन्दा धेरै डाकाप्राप्त गर्नेहरु मेक्सिकन रहेका छन् । कुल ६ लाख ८९ हजार ८ सय मध्ये ५ लाख ४८ हजार मेक्सिकनहरुले डाका प्राप्त गरेका छन् । त्यस्तै दोश्रोमा एल साल्भाडोरका २५ हजार ९ सयले, तेश्रोमा ग्वाटेमालाका १७ हजार ७ सयले र चौथोमा होण्डुरसका १६ हजार १ सयले डाका प्राप्त गरेका छन् । नेपालीहरुले भन्दा पनि कम डाका प्राप्त गर्ने अरु देशहरु ४९ वटा रहेका छन् ।

अब ट्रम्प प्रशासनले सन् २०१८ को मार्च ५ बाट डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम चरणबद्ध रुपमा हटाउन सुरु गर्ने घोषणा गरिसकेको छ । बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

तर वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रम अन्त्य गर्ने घोषणा गरिसकेका छन् । उनले पहिले नै यो कार्यक्रमका लागि योग्य ठहरिएकाहरुका सन्दर्भमा उपयुक्त समाधान ल्याउन सदनलाई ६ महिनाको समय दिएका छन् ।

ट्रम्प प्रशासनको घोषणापछि अमेरिकी सरकारको युएससीआईएसले मंगलबारदेखि नै डाकाका लागि नयाँ आवेदनहरु लिन छाडिसकेको छ । अगस्त २० सम्म १ लाख ६ हजार ३ सय ४१ आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् । जसमध्ये ३४ हजार ४ सय ८७ नयाँ आवेदन रहेका छन् भने ७१ हजार ८५४ नविकरणका लागि दिइएका आवेदन छन् ।

डाका प्राप्त गरिसकेकाहरुले आफ्नो डाका स्टेटस नसकिदासम्म त्यसको प्रयोग गर्न पाउनेछन् । आगामी मार्च ५ अगाडि नै अवधि सकिनेहरुले यही अक्टोबर ५ सम्म २ बर्षको लागि देशनिकाला हुनबाट बच्न र वर्क परमिट रिन्युका लागि आवेदन दिन सक्नेछन् । आगामी मार्च ५ अगाडि नै अवधि सकिने र रिन्यु गर्नुपर्नेहरुको संख्या झण्डै २ लाख रहेको छ । यसरी सन् २०२० सम्म सबैको डाका समाप्त हुनेछ ।

सदनले कुनै नयाँ समाधान नल्याएमा सन् २०१८ को अक्टोबर ६ पछि डाकाको अवधि सकिनेहरुको म्याद थपिने छैन । यसर्थ डाका प्राप्त गरेकाहरुले सन् २०१८ को मार्च ६ देखि नै आफ्नो स्टेटस गुमाउन थाल्नेछन् । मार्च ६ पछि डाकाको अवधि सकिनेहरु क्रमश देशनिकालाको लागि योग्य हुनेछन् । तर मार्च ६ अगाडि नै रिन्युका लागि योग्य हुनेहरु भने थप २ बर्षसम्म अमेरिकामा बस्न र कामगर्न पाउनेछन् ।

डाकाका आवेदकहरुले युएससीआईएसमा बुझाएका विवरणहरु उनीहरुलाई पक्राउ गर्नका लागि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टलाई प्रदान नगरिने युएससीआईएसले स्पष्ट पारिसकेका छ । आवेदकहरुले युएससीआईएसमा आफ्ना नाम, ठेगाना र औठाछाप लगायतका विवरणहरु बुझाएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पहिले डाका प्राप्त गरिसकेका व्यक्तिलाई उनीहरुले अपराध नगर्दासम्म देशनिकालाको प्राथमिकतामा नराखिने जनाएको छ ।

ट्रम्पले सदनलाई समाधानसहित आगामी मार्च ५ भित्र आउन आग्रह गर्दै र नआएमा त्यसपछि डाका खारेज गरिने बताएपनि विभाजित सदन मार्च ५ भित्र सहमतिमा पुग्नेबारे अनिश्चितता रहेको छ । यद्यपी केही विधयेकहरुका ड्राफ्ट भने तयार पारिएको छ । डाका खारेज भएमा डाका प्राप्त व्यक्तिले अमेरिकामा एसाइलम, पारिवारिक आधारका भिसा आवेदन वा विवाहका उपायहरु अपनाउन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com