ट्रम्पसँग भेट्नु अघि बेलायती प्रधानमन्त्री स्टार्मरले गरे रक्षा खर्च बढाउने घोषणा
प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

बेलायतले रक्षा खर्च बढाउने घोषणा गरेको छ । बेलायतले सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री किर स्टार्मरले सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने घोषणा गरेका हुन ।
आगामी संसदमा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेको प्रतिबद्धता जनाए । बिहीबार अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको युक्रेनबारे महत्त्वपूर्ण वार्ताअघि स्टार्मरको घोषणा आएको हो ।
यो वृद्धि अर्थतन्त्रको शून्य दशमलव पाँच प्रतिशतबाट शून्य दशमलव तीन प्रतिशतमा विदेशी विकास सहायता कटौती गरेर वित्त पोषण उनले बताए ।
ट्रम्पले नेटो सहयोगीहरूलाई आर्थिक उत्पादनको पाँच प्रतिशतसम्म रक्षा खर्च लक्ष्य दोब्बर बनाउन माग गरेका थिए ।
बेलायतले सन् २०२३/२४ मा कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को दुई दशमलव तीन प्रतिशत रक्षामा खर्च गरेको थियो ।
स्टार्मरको लेबर सरकारले पहिले नै रक्षा खर्च दुई दशमलव पाँच प्रतिशतसम्म बढाउने प्रतिबद्धता जनाएको थियो । तर समयसीमा भने तोकेको थिएन ।
ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आफ्नो रक्षा खर्च बढाउन बारम्बार आह्वान गर्दै आएका छन ।
स्टार्मरले भने “यो लगानीको अर्थ बेलायतले नेटोमा र महाद्वीपको सामूहिक रक्षामा नेतृत्वकर्ताको रूपमा आफ्नो स्थिति बलियो बनाउनेछ ।”