कांग्रेस र आप आपसमा भिड्दा दिल्लीमा भाजपालाई सत्ता


प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

२७ बर्षपछि भारतको नयाँ दिल्लीमा सत्तारोहण गरेको भारतीय जनता पार्टीले झण्डै ४६ प्रतिशत भोट प्राप्त गरेको छ ।

सत्ता गुमाएको आम आदमी पार्टीले झण्डै ४४ प्रतिशत भोट प्राप्त गरेको छ । ७० मध्ये १ सिट पनि जित्न नसकेको भारतीय कांग्रेसले ६ प्रतिसतको हाराहारीमा भोट प्राप्त गरेको छ । कांग्रेस आई ले प्राप्त गरेको भोट अघिल्लो चुनावको साढे ४ प्रतिशत भन्दा बढी हो ।

यसपटकको चुनावमा दिल्लीका १४ सिट कांग्रेसका कारण आम आदमी पार्टी (आप) ले गुमाएको छ । ति सिटमा भारतीय जनता पार्टीका उम्मेदवारले जितेको अन्तरभन्दा कांग्रेसका उम्मेदवारले प्राप्त गरेको मत धेरै रहेको छ ।

लोकसभाको चुनावको बेलामा इण्डिया गठबन्धन बनाएर सँगै चुनावमा उत्रिएका कांग्रेस र आप भने बिधानसभाको चुनावमा एकल प्रतिश्पर्धामा उत्रिएका थिए ।

गठबन्धनका अन्य दलका नेताहरुले आप र कांग्रेसलाई आपसमा भिडेर भाजपामा फाइदा पुराएको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन । आपको उदय तत्कालिन मुख्यमन्त्री शिला दिक्षितको पतनसँगै भएकाले कांग्रेसका कार्यकर्ताले आपसँगको सहकार्यलाई नरुचाउने गरेका कारण पनि गठबन्धन संभव नभएको विश्लेषकहरुले बताएका छन ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी नयाँ दिल्लीमा २७ बर्षपछि सत्तामा फर्किएको छ । सत्तारुढ आम आदमी पार्टीलाई हराउदै स्पष्ट बहुमतका साथमा सत्तामा फर्किएको हो ।

विधानसभाका ७० मध्ये ४८ सिट भाजपाले जितेको छ । सत्तारुढ आम आदमी पार्टीले २२ सिटमा जित हात पारेको छ । सन १९९८ देखि १५ बर्ष सत्ता रहेको कांग्रेस आई लाई यो चुनावले पनि निरास बनाएको छ । उसले एक सिट पनि जित्न सकेन ।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टीका मुख्य नेताहरु पराजित भएका छन । मुख्यमन्त्री आतिशीले कालकाजी निर्वाचन क्षेत्रबाट जित हासिल गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले सुशासनको विजय भएको बताए । केन्द्र देखि राज्यसम्मको भाजपाको विजयलाई जनताले साथ दिएको बताउदै उनले विकासमा केन्द्र र राज्यको साथसाथ रहने बताए । आम आदमी पार्टीका नेता केजरीवालले जनादेशलाई स्वीकार गर्दै जनताकाबीचमा भाजपाले गरेको बाचालाई पुरा गर्न आग्रह गरेका छन ।

एक्जिट पोलहरुले भाजपाले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । आम आदमी पार्टी र कांग्रेसकाबीचमा गठबन्धन बन्न नसक्दा भाजपालाई फाइदा पुगेको देखिएको छ । दुबै दलका अडानका कारण गठबन्धन हुन सकेको थिएन । कांग्रेस नेता राहुल गान्धीले दिल्लीका जनताले दिएको जनादेशलाई विनम्रतापुर्वक स्वीकार गरेका बताएका छन ।

१९९८ , २००३ र २००८ को को विधानसभा चुनावमा कांग्रेसले दिल्लीमा बहुमत प्राप्त गरेको थियो । २०१३ मा कुनै पनि दलले दिल्लीमा बहुमत प्राप्त गर्न सकेन । तर आम आदमी पार्टीले कांग्रेसको समर्थनको साथ सरकार बनायो। यद्यपि यो सरकार ४९ दिन मात्र चलेको थियो।

२०१५ मा आम आदमी पार्टीले दिल्लीको ७० मध्ये ६७ सीटमा जित हासिल गर्यो। २०२० मा पनि आम आदमीपार्टीले ७० मध्ये ६२ सीट जितेर सत्ता पुन सम्हालेको थियो । अरविन्द केजरीवाल मुख्यमन्त्री बनेका थिए ।

उनको नेतृत्वमा दिल्लीमा सुधार र बिकासमा थुप्रै प्रयत्न भएको दावी गरिएको छ । तर पछिल्लो कार्यकालमा उनले भष्टाचारको मुद्धा खेपिरहेका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com