प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको सम्बोधन – ‘थालिएका काममा प्रगति हुँदैछ’


प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

प्रधानमन्त्री ओली – सम्बोधन काठमाडौँ, १८ माघः प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । हिउँदे अधिवेशन प्रारम्भको पहिलो दिन आज प्रधानमन्त्री ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताएका छन् ।

उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्त्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरे । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अगाडि बढिरहेको बताए ।

उनले काठमाडौँ–तराई मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथाङ्का सडक मार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराए । प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी काम अघि बढिरहेको जानकारी दिए ।

“यस्तै, सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । विकास निर्माणका काममा ‘ब्रेक–थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि अगाडि बढाएका छौँ”, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com