:: सन्दर्भ ११ सेप्टेम्बर :: ‘हुलका हुल मान्छेले मलाई कुल्चे’ –युली चेन


प्रकाशित मिति : भाद्र २६, २०७५ मंगलबार

जुम्ल्याहा भवनको १०६ तलामा विन्डोज अन द वल्र्ड रेष्टुरेन्टको क्याटरिङ सेल्स डिपार्टमेन्ट थियो । मैले पनि त्यहीं कार्यालयमा काम गर्थें । म सेप्टेम्बर ११ को दिन बिहान ८ बजेर ४२ मिनेट जाँदा जुम्ल्याहा भवनको लवीमा पुगेकी थिएँ । म लबीबाट अगाडि छिर्दासम्म पौने ९ बजिसकेको थियो । म त्यहाबाट पनि अगाडि जान के खोजेकी थिए, मानिसहरुको भागदौड सुरु भयो । मान्छेहरु आत्तिदै भवनभित्रबाट बाहिरतिर दौडन थाले । भागदौड र कोलाहल मच्चिएपनि सुरुमा त मैले केही ठूला घटना होइन होला भनेर महत्व नै दिइन ।

सधैभरी भवन वरीपरी उड्ने हेलिकोप्टरले भवनलाई कतै छोयो होला, त्यसैले मान्छेहरु भागदौड गरिरहेका होलान् भन्ने मेरो अनुमान थियो । त्यसैले अरु बाहिरतिर ओइरिएपनि म भने जुम्ल्याहा भवनको माथितिर जाने प्रयास गर्न थालें । तर मलाई माथि जान दिइएन । कुकुर सहित आएको प्रहरीले मलाई माथिल्लो तलामा जानबाट रोक्यो । उनीहरुले मलाई हात समातेर बाहिर निकाले । बाहिर निस्केपछि थाहा भयो, जहाजले वल्र्ड ट्रेड सेन्टरको उत्तरतिरको टावरमा हिर्काएको रहेछ । सबै जना आत्तिदै र हडबडाउदै आकाशतिर हेरिरहेका थिए ।

म पनि जुम्ल्याहा भवन बाहिर निस्केर आकाशतिर हेर्न थालें । १०७ औं तलाबाट सँगै काम गर्ने साथीहरुले आफूलाई बचाउन इशारा गरिरहेका थिए । उनीहरुले टेबुल क्लोथ हल्लाइरहेका थिए । तर तलबाट टेबुल क्लोथ हल्लाएको हेरेर बस्नु शिवाय अरु कुनै विकल्प नै थिएन । यति हुँदासम्म १५ मिनेट बितिसकेको थियो । यत्तिकैमा ९ बजेर ३ मिनेट जाँदा फेरी अर्को जहाज आयो । मैले त अर्को जहाज आपतमा परेकाहरुलाई बचाउन आए होला भन्ने ठानें । तर त्यो जहाज सिधै गएर दक्षिणतिरको दोश्रो टावरमा ठोक्कियो ।

त्यतिबेला मलाई यति डर लाग्यो कि अहिले म बताउन सक्दिन । मलाई संसार नै खसेजस्तो अनुभव भयो । हातखुट्टा पनि लुला भए । आत्तिदै म त्यहाँबाट भाग्न खोजिरहेकी थिएं । तर मान्छेको भागभाग र ठेलमठेलका कारण म अगाडि जानै सकिन । कता कता खुट्टा अल्झिएर भूईंमा पछारिएं । सयौं मान्छेले मलाई नै कुल्चिएर भागाभाग गर्न थाले । शरिरभर कुल्चीएर मान्छेहरु भागिरहेकाले म उठ्न सक्ने अवस्थामा थिइन । त्यसैले मैले त बाँच्ने आशा पनि छाडिसकेकी थिएँ । तर त्यती नै बेला एकजना प्रहरी आएर मलाई उठाइदियो ।

मलाई भगवान नै आएर उद्धार गरेजस्तो लाग्यो । त्यसैले म बाच्न सफल भएं । तर मेरा सबै साथीहरु टेबुल क्लोथ हल्लाउदा हल्लाउदै मृत्युको मुखमा पुगे । कसैले पनि बचाउन सकेन उनीहरुलाई । मैले यो घटनामा ९९ जना साथीहरु गुमाएं । र सबैभन्दा मिल्नेसाथी जुपिटर यमबनको पनि यहीं घटनाले ज्यान लियो । मैले मेरा साथीहरु गुमाएकाले र आफैले पनि मृत्युलाई नजिकबाट देखेकाले मलाई त्यसपछि मरिएला कि भनेर कहिले डर लाग्दैन । हरेक घटनासंग जुध्ने सामाथ्र्य बढेको छ । किनभने म यो घटनामा एउटा संयोगले मात्र बाँचेकी थिएं ।

छोरालाई बिहान साढे ७ बजे स्कुल पठाएर काममा जान खोज्दै थिएं , त्यतीबेला छोरीले कपाल बाटिदिन आग्रह गरिन् । त्यसपछि मैले छोरीको कपाल बाटिदिदा केही समय ढिलो भयो । त्यसैले म त्यो दिन अलिकति ढिलो काममा पुगेकी थिएं । नत्र त म पनि घटना हुँदा १०७ औं तल्लामा पुगिसकेकी हुने थिएं । घटना सम्झदा अहिले पनि आंग जिरिङग हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com