पेन्सिलभेनियाका ५५ हजार नेपालीभाषीको मत अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक हुनसक्ने


प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

अमेरिकाको पेन्सिलभेनियाले अमेरिकाको राष्ट्रपति चुनावमा निर्णायक भूमिका खेल्दै आएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्पले जितेको पेन्सिलभेनियामा सन् २०२० को राष्ट्रपति चुनावमा जो बाइडेनले जितेका थिए । १९९२ देखि २०१२ सम्मका चुनावमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदबारले जित्दै आएको पेन्सिलभेनिया हल्का निलो राज्यका रुपमा रहदै आएपनि २०१६ मा ट्रम्पले जितेपछि यो राज्य अमेरिकी राष्ट्रपति चुनावमा पर्पल स्टेट बनेको छ ।

१९८० देखि १९८८ सम्म लगातार रिपब्लिकन राष्ट्रपति उम्मेदारले जितेको पेन्सिलभेनियामा कुल १९ इलेक्टोरल मत रहेको छ, जुन अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदबारलाई जीत दिलाउनका लागि प्रयाप्त छ । सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पले पेन्सिलभेनियामा जम्मा ४४ हजार २ सय ९२ मतको मार्जिनले जितेका थिए भने २०२० को चुनावमा बाइडेनले ८० हजार ५ सय ५५ मतको मार्जिनले जितेका थिए । पेन्सिलभेनियामा निर्णायक मतको मार्जिन कम देखिएको अवस्थामा यहाँ रहेका झण्डै ५५ हजार नेपालीभाषीको मत अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक हुनसक्ने देखिएको छ ।

पेन्सिलभेनियामा नेपाली भाषीहरु र खासगरी भुटानी शरणार्थीका रुपमा आएका नेपाली भाषीहरुको संख्या उल्लेख्य रहेको छ । विगतको राष्ट्रपति चुनावका तुलनामा यस पटकको राष्ट्रपति चुनावमा मतदान गर्ने नेपाली भाषीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार पनि सन् २०२० को राष्ट्रपति चुनावपछि पेन्सिलभेनियाबाट अमेरिकी नागरिकता लिने नेपालमा जन्मेका व्यक्तिको संख्या झण्डै २ हजार थपिएको छ ।

आर्थिक बर्ष २०२१ मा ३३५ र २०२२ मा ६५२ जना नेपालमा जन्मेका व्यक्तिले पेन्सिलभेनियाबाट अमेरिकी नागरिकता लिएका थिए । साथै पछिल्ला बर्षमा अन्य राज्यमा नागरिकता लिएर पेन्सिलभेनिया बसाए सराई गर्ने नेपाली भाषीको संख्या पनि उल्लेख्य छ । भुटानमा जन्मेका ७०८ जनाले २०२१ मा र ११३२ जनाले २०२२ मा अमेरिकी नागरिता लिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक रहेको छ । अर्थात् २०२० को राष्ट्रपति चुनावपछि भुटानमा जन्मेका झण्डै ४ हजारले यसपटक अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदान गर्दैछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा जन्मेका पनि सन् २०२० मा २५१, २०१९ मा ३३३, २०१८ मा ३३८, २०१७ मा २१९, २०१६ मा १७२, २०१५ मा १२९, २०१४ मा ४२, २०१३ मा ४३ जनाले पेन्सिलभेनियाबाट अमेरिकी नागरिकता लिएका थिए । २०१४ देखि भुटानमा जन्मेकाले पेन्सिलभेनियाबाट अमेरिकी नागरिकता लिने संख्या उल्लेख्य बृद्धि भएको छ । २०१४ मा २५५, २०१५ मा ६०७, २०१६ मा ९१८, २०१७ मा १३९६, २०१८ मा १०३६, २०१९ मा ९१२ र २०२० मा ६४९ जना भुटानमा जन्मेकाहरुले पेन्सिलभेनियाबाट अमेरिकी नागरिकता लिएको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग रहेको छ ।

सन् २०२० को जनगणनाले १४ हजार २०१ जना नेपालीभाषीहरु पेन्सिलभेनियामा रहेको देखाएको छ । तर जनगणनामा सबै नेपालीभाषीहरु नसमेटिएको विभिन्न तथ्यांकहरुबाट पुष्टी हुन्छ । सयुक्त राष्ट्रसंघीय उच्चायुक्तको तथ्यांक अनुशार सन् २०१३ सम्म अमेरिकामा ७१ हजारभन्दा बढी भुटानी शरणार्थीहरुको पुनर्वास व्यवस्था गरिएकोमा त्यसको ठूलो संख्या अमेरिकाको पेन्सिलभेनिया र ओहायोमा बसोबास गर्दै आएको छ ।

ह्यारिसवर्ग भुटनिज समाजका अध्यक्ष तिलक निरौलाले पेन्सिलभेनियामा नेपालीभाषीहरुको संख्यामा भएको उल्लेख्य बृद्धिका कारण यस पटकको राष्ट्रपति चुनावमा नेपाली भाषी समुदायले निर्णायक भुमिका खेल्नसक्ने बताउँछन् । उनले भने – ‘पहिलेको वर्षमा भन्दा यो वर्ष सेन्ट्रल पेन्सिलभेनियामा हाम्रो समाजको जनसंख्या धेरै बढेको छ । विगत दुुई वर्ष यतादेखि सेन्ट्रल पेन्सिलभेनियामा अरु राज्यहरुबाट बसाई सराई गरेर यहाँ आएका छन् । अहिले पेन्सिलभेनियामा करिब ४५ हजारको हाराहारीमा नेपालीभाषीहरु बसोवास गरिरहेका छन् ।’

उनले यस पटकको चुनावमा करिब ४५ देखि ५५ हजारसम्मले मतदान गर्ने दावी गरेका छन् । अध्यक्ष निरौला भन्छन्  – ‘पेन्सिलभेनियाको ह्यारिसवर्ग, फिलाडेल्फिया, पिट्सबर्ग, ल्यान्कास्टर, स्क्यान्टन लगायतका क्षेत्रमा हाम्रो समुदायको बाक्लो बसोबास छ । सन् २०२३ को अगस्टसम्ममा सेन्ट्रल पेन्सिलभेनियामा भुटनिज समाजको जनसंख्या मात्र २५ हजार रहेको थियो । तर, अहिले यहा हाम्रो समाजको जनसंख्यामा निक्कै वृद्धि भएको छ ।’

‘सन् २०११ सम्म हाम्रो समुदायको जनसंख्यामा मात्र करिब २ हजार थियो । अहिले भने यो जनसंख्या करिब ४५ हजारको हाराहारीमा छ,’ उनले भने ।

ह्यारिसवर्ग भुटानी समाजका अध्यक्ष निरौलाले योग्य सम्पर्ण मतदाताहरुलाई आफुलाई मन परेको उम्मेदवार मतदान गर्न पनि आग्रह गरेका छन् । उनले भने – ‘तपाईहरु भोट हाल्न योग्य हुनुहुन्छ । आफुले पाएको अधिकारलाई सदुपयोग गर्नुस् ।’

पेन्सिलभेनिया निवासी तथा सामाजिक अभियान्ता ओम अधिकारी पनि यो पटकको चुनावमा मतदान गर्न निक्कै उत्सुक रहेको बताउँछन् । साथै उनले विगतका दिनमा पनि आफ्नो समुदायका व्यक्तिहरुलाई निर्वाचनमा मतदान गर्न सहयोग गरेको बताए ।

अधिकारी भन्छन् – ‘हामीले सन् २०१४ देखि नै सबै प्रकारका निवार्चनमा मतदान गर्न शुरु गरेका थियौ । त्यतिबेला हामीले हाम्रो समुदायका सबैलाई मतदान गर्नु पर्छ भनेर अभियान पनि चलाएका थियौं । हामीले त्यतिबेला भोटर रजिष्ट्रेशन, भोट हाल्ने तरिका, भाषाको सहयोग तथा सवारीसाधनबाट मतदान केन्द्रसम्म लैजाने काम पनि गरेका थियौं ।’

सामाजिक अभियन्ता अधिकारीले यस पटकको राष्ट्रपति चुनावमा आप्रवाशीलाई लक्षित गरेर निती नियम ल्याउनेलाई मतदान गर्ने पनि बताएका छन् । दोस्रो पटक राष्ट्रपतिको चुनावमा मतदान गर्न लागेका अभिकारीले यस पटकको निर्वाचन निक्कै चुनौतीपुर्ण रहेको बताए ।

रियल स्टेट एजेन्टका रुपमा काम गरिरहेका पेन्सिलभेनिया निवासी राम अधिकारीले यसपटक तेस्रो पटक मतदान गर्दैछन् । उनले तेश्रोपटक मतदान गर्न पाउदा खुशी लागेको बताएका छन् । अधिकारीले आफ्नो नेपाली भाषी भुटानी समुदायका व्यक्तिहरुलाई सहि उम्मेदवार चुनेर मतदान गर्न पनि आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com