भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन
प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार

Shri Natwar Singh assumes the charge of Union Minister for External Affairs in New Delhi on May 24, 2004 (Monday).
भारतका पूर्वविदेशमन्त्री तथा कांग्रेस नेता के नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका उहाँको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो ।
काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।
सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषद्मा विदेश मन्त्रीको रूपमा काम गर्नुभएको थियो । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।