‘आलोचना गर्दै गरुन्, काम गर्न पछि हट्दिँन’


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छिन्। नेपाल बार एसोसिएसन, महिला समितिले शुक्रबार आयोजना गरेको कानुन व्यवसायी महिलाको २५औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘काम गर्दा नेपालमा जस पाइँदैन, आर्यघाटमा पुगेपछि मात्र जस पाइन्छ, आलोचना गरुन्, मलाई वास्ता छैन तर म सधैँ राम्रो काम गर्ने प्रयास गर्छु।’

उनले कानुन व्यवसायी महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी न्यायाधीश बन्न लायक हुनुपर्नेमा जोड दिँदै भनिन्, ‘तपाईंहरु सक्षम हुनुपर्छ, सङ्घर्षशील हुनुपर्छ, न्यायाधीशमा महिला नियुक्त गर्न म तयार छु, न्याय परिषद्ले महिलालाई भर्ती गर्छ।’

प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी महिलाले दूरदराजमा रहेका महिलालाई न्याय हुनेखालको काम गर्नुपर्नेमा जोड दिँदै राम्रो काम गर्नका लागि न्यायालयले सदा सहयोग गर्ने बताइन्।

न्यायाधीश सपना मल्ल प्रधानले न्याय क्षेत्रमा गुणात्मक वृद्धि हुँदै गएको र अझ आर्थिक तथा व्यावसायिक क्षेत्रमा कानुन व्यवसायी महिला अब्बल हुनुपर्ने आवश्यकता रहेको औँल्याइन्। यस्तै न्यायाधीश मीरा खड्काले न्याय क्षेत्रमा कानुन व्यवसायी महिलाको राम्रो सम्भावना रहेको भन्दै त्यसका लागि कडा मेहनत गर्न आग्रह गरिन्।

देशभरका कानुन व्यवसायी महिलाको व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष सम्मेलन गर्ने गरेको बारको उपाध्यक्ष तथा बार महिला समितिकी अध्यक्ष उमा मल्ल पाठकले जानकारी दिइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com