कर्मचारी सरुवाको बाटो खुल्यो


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

सरकारले निजामती सेवा नियमावली २०५० को चौधौ संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको हो ।

नियमावली संशोधनसँगै कर्मचारीको सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयलाई बाटो खुलेको छ । यसअधिको व्यवस्था अनुसार सामान्य प्रशासन मन्त्रालयले साउन महिनाभित्र मात्र कर्मचारीको एक मन्त्रालयबाट अर्काे मन्त्रालयमा सरुवा गर्न सक्ने व्यवस्था थियो । सरकार परिवर्तनका कारण साउनमा सामन्यले कर्मचारीको सरुवा गर्न नसकेकाले करिब तीन हजार कर्मचारीको सरुवा निवेदनमाथि कारबाही हुन सकेको थिएन ।

संशोधित नियमावली अनुसार अब सामान्य प्रशासन मन्त्रालयले भदौ भर सम्बन्धित मन्त्रालयले असोज १५ सम्ममा र विभाग र कार्यालयले असोज १६ देखि असोज मसान्तभित्र मातहतका कर्मचारीको सरुवा गर्न सक्ने सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिएका गोरखापत्रमा खबर छ । यसअधिको नियमावलीमा सामान्यले साउनमा, सम्बन्धित मन्त्रालयले भदौमा र विभाग तथा अन्य कार्यालयले असोजमा मातहतका कर्मचारीको सरुवा गर्ने व्यवस्था थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com