फ्याक्ट चेक: युएससीआईएसबाटै ग्रिनकार्ड नविकरणबारे गलत सुचना प्रवाह


प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार

ग्रिनकार्ड नविकरणका सन्दर्भमा युएससीईआएसले आउटडेटेड सुचना प्रवाह गरेपछि सेवाग्राहीहरु अन्यौलमा परेका छन् । युएससीआईएसले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकी नागरिकताका लागि आवेदन दिएपनि अधिकांश सन्दर्भमा म्याद सकिदै गरेको ग्रिनकार्डका लागि पनि नविकरण आवेदन दिनुपर्ने जनाएको थियो ।

यो पोष्ट सामाजिक सञ्जाल एक्समा ८ जनाले रिपोष्ट गरेका छन् भने ४१ जनाले लाइक गरेका छन्, साथै कैयनले कमेन्टपनि गरेका छन् । त्यस्तै फेसबुकमा यो पोष्ट १६ जनाले शेयर गरेका छन् भने १२ जनाले रियाक्ट गरेका छन् । २२ जनाले गरेको कमेन्टमा कतिपयले अमेरिकी नागरिकताका लागि आवेदन दिएपछि पनि म्याद सकिनै गरेको ग्रिनकार्ड नविकरणका लागि आवेदन दिनुपर्ने प्रावधान राम्रो नभएको कमेन्ट गरेका छन् ।

युएससीआईएसले आफ्नो फेसबुकमा गरेको आउटडेटेड पोष्ट, जसले सेवाग्राहीहरु अन्यौलमा परेका छन् ।

यद्यपी खसोखासले फ्याक्ट चेक गर्दा यो विवरण आउटडेटेड भएको पाएको छ । युएससीआईएसले नै आफ्ना सामाजिक सञ्जालहरुमा आउटडेटेट विवरण पोष्ट गर्दा सेवाग्राहीहरु अलमलमा परेपछि यसबारे खसोखासले फ्याक्ट चेक गरेको हो ।

डिसेम्बर ९, २०२२ मा युएससीआईएसले अमेरिकी नागरिकताका लागि आवेदन दिएकाहरुको म्याद सकिएको वा सकिन लागेको ग्रिनकार्डको अवधि स्वत २४ महिना थपिने नीति ल्याएको थियो । उक्त नीति सन् २०२२ को डिसेम्बर १२ देखि लागु गरिएको थियो । त्यसैले युएससीआईएसले सामाजिक सञ्जालमा गरेको पोष्ट सन् २०२२ को डिसेम्बर १२ भन्दा अगाडिको नीतिमा आधारित भएको देखिएको छ । अर्थात् उक्त पोष्ट आउटडेटेड देखिएको छ ।

युएससीआईएसले २०२२ को डिसेम्बरमा नीतिमा अद्यावधिक गर्दै नागरिकता आवेदन दिएकाहरुको ग्रिनकार्डको अवधि २ बर्षसम्म लम्बिने घोषणा गरेकोमा त्यो नीति नै अहिलेसम्म कायम रहेको छ ।

हेर्नुहोस् सन् २०२२ को डिसेम्बरमा युएससीआईएसले ल्याएको नीति

यो नीति लागु नहुदासम्म नागरिकता आवेदन दिएपछि कतिपय ग्रिनकार्डवाहकको ग्रिनकार्डको अवधि नागरिकता प्राप्त नहुदै समाप्त हुँदा यात्रा गर्नमा समस्या हुने गरेको थियो । तर उक्त नीति लागु भएपछि नागरिकताका लागि लामो समय लागेको खण्डमा समेत ग्रिनकार्डको अवधि स्वत लम्बिदा उक्त समस्याबाट मुक्ति मिल्दै आएको छ ।

हेर्नुहोस्  ग्रिनकार्डको म्याद स्वत २४ महिना थपिने नीतिबारे खसोखासले सन् २०२२ को डिसेम्बर ९ मा प्रकाशित गरेको समाचार

उक्त नीति अनुशार जसले ठीक तरिकाले नागरिकता आवेदन एन ४०० फाइल गरेको छ, उसले नागरिकता आवेदनको रिसिप्टमा ग्रिनकार्डको अवधि २४ महिनासम्म लम्बिने स्पष्ट पार्दै आएको छ । उक्त रिसिप्ट म्याद सकिएको ग्रीन कार्डको साथमा पेश गरेर बैध स्थीतिको निरन्तरता र रोजगार योग्यता प्रमाणीकरण गर्न सकिन्छ । तर रिसिप्ट नोटिसमा उल्लेखित २४ महिनासम्ममात्र यसले काम गर्छ ।

यसबारेको युएससीआईएसको हालको नीति हेर्न यहाँ क्लीक गर्नुहोला ।

यो परिवर्तन हुनु अघि अर्थात् सन् २०२२ को डिसेम्बर अगाडि अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा ग्रिनकार्डको म्याद कम्तीमा ६ महिना हुनुपर्ने प्रावधान रहेको थियो । यदि ग्रिनकार्डको म्याद ६ महिनाभन्दा कम रहेको अवस्थामा अमेरिकी नागरिकता आवेदन दिनु अगाडि ग्रिनकार्ड नविकरणका लागि आई ९० आवेदन दिनुपर्ने अवस्था थियो ।

आफ्नो ग्रीन कार्डको म्याद सकिनु भन्दा कम्तिमा छ महिना अघि नै नागरिकताका लागि आवेदन दिएका तर ग्रिनकार्डको म्याद सकिनु अगाडि नै नागरिकता नपाएका आवेदकले आफ्नो पासपोर्टमा एलियन डकुमेन्टेसन, आइडेन्टिफिकेसन, र टेलिकम्युनिकेसन स्ट्याम्प प्राप्त गर्न योग्य रहेका थिए । जसले उनीहरूको ग्रिनकार्डको अस्थायी प्रमाणको रूपमा काम गर्दै आएको थियो ।

पूरानो नीति अमेरिकाको नागरिकता आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्यमा आधारित रहेको थियो । तर नागरिकताका लागि लामो समय लाग्न थालेपछि सन् २०२२ को डिसेम्बरमा नयाँ नीति ल्याइएको थियो । ग्रिनकार्डको अवधि स्वत लम्बिने नीतिले युएससीआईएसका फिल्ड अफिसहरुमा पासपोर्टमा छाप लगाउनका लागि अप्वाइन्टमेन्ट लिनुपर्ने झण्झट हटेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com