न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना फन्दामा


प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार

person holding white and red card

न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट झण्डै ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना रोमानियन नागरिकहरू फन्दामा परेका छन् । उनीहरुले लाखौं डलर चोरेको संघीय अभियोजकहरूले बताएका छन् । एफबीआई, सेक्रेट सर्भिस र न्युयोर्क प्रहरीका अनुसन्धानकर्ताहरुले मे २०२२ देखि र फेब्रुअरी २०२३ को बीचको अपराधहरूमा विस्तृत अनुसन्धान पछि ठगी र पहिचान चोरी आरोपमा पाँचजनालाई पक्राउ गरिएको हो ।

एजेन्टहरूले ठगी गर्ने व्यक्तिलाई रंगेहात समातेको जनाएका छन् । उनीहरुले एटीएम स्किमिङ उपकरण उपकरणहरू समेत बरामद गरेका छन् । रंगेहात पक्राउ पर्नुले यस्तो प्रकारको ठगी अहिलेसम्म पनि जारी नै रहेको देखिएको छ । उनीहरुले नक्कली डेबिट कार्डहरू सिर्जना गर्न र हजारौं डलर चोरी गर्न एटीएममा उपकरणहरू लुकाएको र ती उपकरणहरुमार्फत गैरकानूनी रूपमा वित्तीय जानकारी प्राप्त गरेको अभियोग लगाइएको छ ।

संदिग्धहरूमा ३८ बर्षीय इओन एंटोन घेरासिम, ३४ बर्षीय एल्विस डैन अटोमेई, २५ बर्षीय डैन एड्रियन अगाफिटेई, ४९ बर्षीय बॉबी बोर्सिया र ३६ बर्षीय आर रज़वान विकोल रहो छन् । उनीहरुले डेबिट वा क्रेडिट कार्ड स्लटहरूमा पातलो ग्याजेटहरू हालेर कार्डहरूबाट डाटा क्याप्चर र भण्डारण गरी नक्कली कार्डहरु बनाउन सफल भएको जनाइएको छ । उनीहरुले क्यामेराले खिचेको पिन नम्बरको साथमा ती कार्डहरु प्रयोग गरेर रकम निकालेको जनाइएको छ ।

अभियोजकहरूले अदालतमा पेश गरेका पाँच संदिग्धहरूलाई एटीएम स्किमिङ अपराधहरू जारी रहेको अवस्थामा अदालती कारवाही पूरा नहुँदासम्म जेलमा राख्नु पर्ने तर्क गरेका छन् । साथै उनीहरु रोमानियन नागरिकहरु भएकाले भागेर जानसक्ने भएकाले पनि जेलमा नै राखेर अनुसन्धान गर्नुपर्ने उनीहरुको तर्क रहेको छ ।

एक संदिग्ध भिकोलले फेब्रुअरी १६ मा मात्र सात मिनेटमा ४ हजार डलर नगद निकालेको र थप ५ हजार डलर नगद निकाल्न खोजेको अभियोग लगाइएको छ । जब एजेन्टहरूले घेरासिमलाई गिरफ्तार गरे, उनीहरूले बेडरूममा विविध उपकरणहरू सहितको वर्कस्टेशन वा डेस्क फेला पारेका थिए । उनीहरुका साथबाट एटीएम कार्ड स्लटमा घुसाउने स्किमिङ उपकरणहरू र पिनहोल क्यामेराहरू लगायतका सामाग्रीहरु बरामद गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com