स्कोर रद्द भएका नेपाली डाक्टरले ३० देखि ६० दिनभित्र अमेरिका छाड्नुपर्ने


प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार

group of doctors walking on hospital hallway

युएसएमएलईको पहिलो वा दोश्रो स्टेपको परीक्षाको स्कोर रद्द भएर रेसिडेन्सी खारेज भएका अमेरिकामा रहेका नेपाली डाक्टरले रेसिडेन्सी खारेज भएको मितिले ३० देखि ६० दिनभित्र अमेरिका छाड्नुपर्ने भएको छ । अमेरिकामा नै रहन चाहनेहरुले स्टाटस परिवर्तनका लागि आवेदन नदिए गैरकानुनी उपस्थीति हुनसक्ने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।

अमेरिकामा जे वान वा एच वान बी भिसामा रहेर म्याचिङ कार्यक्रममा समावेश भएर रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरुले युनिभर्सिटी सम्बद्ध अस्पताल वा शिक्षण संस्थाबाट म्याचिङ कार्यक्रम रद्द भएको जानकारी दिएको ३० देखि ६० दिनभित्र अमेरिका छाडनुपर्ने वा स्टाटस परिवर्तनका लागि आवेदन दिनुपर्ने कानुन व्यवसायी केशवराज सेडाइले जानकारी दिनुभएको छ । स्टेप ३ को स्कोरमात्र रद्द भएकाहरुको भने रेसिडेन्सी खारेज नहुने भएकाले उनीहरुले युएसएमएलईको रिभ्यालीडेट परीक्षा दिएमात्र पुग्नेछ ।

जे वान भिसामा रहेकाहरुले स्टाटस परिवर्तन गर्नका लागि ३० दिनकोमात्र सहुलियत अवधि हुने र एचवान बी भिसामा हुनेहरुले स्टाटस परिवर्तन गर्नका लागि ६० दिनको सहुलियत अवधि हुने भएकाले उक्त अवधिभित्र स्टाटस परिवर्तनका लागि आवेदन नदिनेहरु उक्त अवधिभित्र नेपाल फर्कनुपर्ने अवस्था आउनसक्ने कानुन व्यवसायी सेडाईको भनाई छ । अमेरिकामा गैर कानुनी उपस्थीति भएको खण्डमा भविश्यमा अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्नुका साथै ग्रिनकार्ड प्राप्त गर्न समेत समस्या हुने भएकाले गैर कानुनी उपस्थीति नहुने सुनिश्चित गर्न स्कोर रद्द भएका डाक्टरहरुलाई सुझाव दिइएको छ ।

कानुन व्यवसायी सेडाईले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘एचवानबी भिसामा रहेर रेसिडेन्सी गरिरहेकाहरुको रेसिडेन्सी खारेज भएको खण्डमा उनीहरुले ६० दिनभित्र विद्यार्थी भिसा एफ वान वा बी टु भिसामा स्टाटस परिवर्तनका लागि आवेदन दिन सक्छन् । बीटु भिसाको अवधि ६ महिनामात्र हुने भएकाले उनीहरुले उक्त ६ महिनाभित्र अर्को एचवान बी खोज्ने वा अन्य विकल्पहरु अपनाउनुपर्ने हुन्छ । तर विद्यार्थी भिसा एफ वानमा स्टाटस परिवर्तनका लागि आवेदन दिनेहरुका लागि विकल्प खोज्नका लागि लामो समय हुने भएकाले हतार गरिहाल्न पर्दैन । उनीहरु विद्यार्थी भिसामा रहुन्जेल अध्यागमन स्टाटस जोगाउने अन्य झन्झट हुँदैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अमेरिकाबाट जे वान भिसामा बसेपछि स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएका जे वान भिसा वाहकले भने विद्यार्थी भिसा एफ वान वा भिजिटर भिसा बी टुमा स्टाटस परिवर्तन गर्न पाउँदैनन् । स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान छुट भएकाहरुले भने विद्यार्थी भिसा एफ वान वा भिजिटर भिसा बी टुमा स्टाटस परिवर्तनका लागि ३० दिनभित्र आवेदन दिनसक्छन् । स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएकाहरुले स्टाटस परिवर्तन गर्न वेभर चाहिने र वेभर लिंदा झण्डै एकबर्ष लाग्ने भएकाले त्यो अवधिसम्म गैर कानुनी उपस्थीति हुने भएकाले उनीहरु नेपाल फर्किनुपर्ने अवस्था आउनसक्ने कानुन व्यवसायीको भनाई छ । तर स्वदेश फर्केर २ बर्ष विताउनुपर्ने प्रावधान भएकाहरुले पनि एक्स्ट्राअर्डिनरी क्षमता भएकालाई प्रदान गरिने ओ वान भिसाका लागि भने ३० दिनभित्र आवेदन दिनसक्छन् । यद्यपी ओ वान भिसा प्राप्त गर्नका लागि आवेदकको असाधारण क्षमता भएको पुष्टी गर्नुपर्छ ।

अमेरिकामा दर्जनौं नेपाली डाक्टरहरुले रेसिडेन्सी गरिरहेको जनाइएको छ । जसमध्ये ठूलो संख्यामा जेवान र एच वान बी भिसामा रहेका छन् । युनिभर्सिटी र अस्पताल प्रणाली र गैर नाफामुलक अस्पतालहरुले डाक्टरहरुका लागि एच वान बी भिसाका लागि आवेदन दिंदा ८५ हजारको सिमाबन्दीभित्र पर्नु नपर्ने र लोटरीमा समावेश हुनु नपर्ने भएकाले जतिबेला पनि आवेदन दिनसक्ने प्रावधान रहेको छ । यही प्रावधान अन्तरगत उनीहरुले एच वान बी भिसा प्राप्त गरेका हुन्छन् । र पछि ग्रिनकार्ड प्राप्त गर्नका लागि स्थीति समायोजनको आवेदन दिइन्छ ।

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् ।

युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com