न्युयोर्क सिटीमा आजराती ३ इन्चसम्म हिमपातको अनुमान, समयमा सफा नगरे ८५० डलरसम्म जरिवाना


प्रकाशित मिति : फाल्गुन ४, २०८० शुक्रबार

न्युयोर्क सिटी मौसम पूर्वानुमानले यस क्षेत्रमा शुक्रबार रातिदेखि शनिबारसम्म अर्को हिउँआँधी आउने देखाएको छ । जसले उत्तरी न्युजर्सी, लङ आइल्याण्ड र न्युयोर्क सिटीमा २ देखि ३ इन्च हिउँ ल्याउने अनुमान गरिएको छ । यदि तूफान उत्तरतिर सरेमा अझ बढी हिउँ जम्मा हुने पूर्वानुमान गरिएको छ ।

रात्ी १० बजेदेखि मौषम एड्भाइजरी लागु गरिएको छ । यो एड्भाइजरी शनिबार दिउसो १ बजे सम्म कायम हुनेछ । न्युयोर्क सिटीका सबै पाँच बरोहरूको लागि यात्रा सल्लाहहरू जारी गरिएको छ ।

शुक्रबार राति अबेर अर्थात् सोमबार विहानै हल्का हिमपात सुरु हुने छ । मुख्यतया १ बजे पछि यस क्षेत्रमा रातभरि ठूलो मात्रामा हिमपात हुने र सूर्योदय अघि २ देखि ३ इन्च जम्मा हुने अनुमान गरिएको छ ।

मंगलबार न्युयोर्कमा आफ्नो घर अगाडिको हिउँ सफा गर्ने क्रममा चर्चित कानुन व्यवसायी बासु फुलारा ।

बिहान २ बजेदेखि बिहान ८ बजेसम्म एक इन्च प्रति घण्टाको दरले हिमपात हुने छ। तापमान सबैभन्दा अधिकतम २० डिग्री फरेनहाइटको सेरोफेरो  रहनेछ।

हिउँ शनिबार बिहान १० बजेतिर हल्का हुने र दिउँसोको आसपासमा पर्न छोड्ने पूर्वानुमान गरिएको छ। सडकहरु चिप्ला हुने भएकाले सवारी चालकहरुलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

राष्ट्रिय मौसम सेवाका अनुसार न्युयोर्क सिटी क्षेत्रमा अझै पनि बेलुका ४ बजेसम्म छरिएर हिउँ पर्ने सम्भावना छ। पूर्वी लङ आइल्याण्ड र कनेक्टिकटमा साँझसम्म हिउँ पर्न सक्छ।

न्युयोर्क सिटी र वरपरका कतिपय क्षेत्रहरूहरुम ४ देखि ५ इन्चको बीचमा हिउँ पर्नसक्छ । शनिबार राती भने आकाश सफा हुनेछ । तापक्रम कम्तीमा २७ डिग्री फरेनहाइटको आसपासमा हुनेछ । आँधीले प्रायः तल्लो हडसन उपत्यका र कनेक्टिकटको धेरै भागलाई छल्ने र त्यहाँ केवल १ देखि २ इन्च मात्र अपेक्षित छ।

साउथ न्युजर्सीमा ४ देखि ६ इन्चको पूर्वानुमान गरिएकाले उक्त क्षेत्रले सबैभन्दा धेरै हिउँ देख्नेछ। साउथ जर्सी र उपनगरीय फिलाडेल्फिया काउन्टीहरूमा मौषम चेतावनी जारी गरिएको छ ।

न्युयोर्क सिटीमा घर अगाडिको र गाडीमा जमेको हिउँ सफा नगरे ८५० डलरसम्म जरिवाना

हिमपातपछि आफ्नो घर अगाडिको फुटपाथहरू कत्तिको चाँडो सफा गर्नुपर्दछ र हिड्ने बाटोहरू कति चौडा हुनुपर्दछभन्नेबारे न्युयोर्क सिटीको नियम रहेको छ । जसको पालना गर्न असफल भएमा जरिवाना हुन सक्छ ।

हिउँ पर्न बन्द हुने बित्तिकै काउन्टडाउन सुरु हुन्छ। तपाईंको कारबाट हिउँ हटाउन असफल भएमा पनि जरिवाना हुन सक्छ।

सिटीको नियम अनुशार घर वा सम्पत्तिका मालिकहरू वा भवनको जिम्मा लिएका व्यक्तिहरू, भाडामा लिनेहरू, सुपरिटेन्डेन्टहरू, वा भवन म्यानेजरहरु घर र व्यवसायको छेउमा रहेको फुटपाथलाई उचित रूपमा सुरक्षित अवस्थामा राख्नका लागि जिम्मेबार हुन्छन् । यो नियममा घर, सम्पत्ती वा व्यवसायको अगाडिको फुटपाथ र छेउछाउमा हिउँ, बरफ, फोहोर वा अन्य सामग्री सफा गर्नुपर्ने प्रावधान छ ।

बासिन्दाहरू र व्यवसायहरूले हिपमपात पछि हिउँ पर्न बिहान ७ बजेदेखि दिउसो ४ बजेर ४९ मिनेटको बीचमा रोकिएको भएमा चार घण्टाभित्र सफा गरिसक्नुपर्छ । हिउँ पर्न बेलुका ५ बजेदेखि ९ बजेर ५९ मिनेटको बीचमा रोकिएको भएमा १४ घण्टाभित्र सफा गरिसक्नुपर्छ । बेलुका ९ बजेपछि र विहान ७ बजे अगाडिको बीचमा हिउँ पर्न रोकिएको भएमा विहान ११ बजेसम्म सफा गरिसकेको हुनुपर्छ ।

घर वा व्यवसायको छेउमा रहेको फुटपाथबाट हिउँ हटाउनुपर्छ भने फुटपाथबाट सडकमा हिउँ धकेल्नु हुँदैन । घर अगाडि फायर हाइड्रन्ट भएमा त्यसको वरिपरिको हिउँ हटाउनुपर्छ । हिउँले क्रसवाकहरू ढाक्नुहुँदैन । हिउँलाई आफ्नो अगाडिको यार्ड, स्टोप लाइनको पछाडि वा घाँसे कर्ब स्ट्रिपमा सार्नुपर्छ । सम्भव भएसम्म फुटपाथको छेउमा कम्तिमा चार फिट चौडा बाटो खाली गर्नुपर्छ । कुनामा घर हुनेले पैदल यात्री हिड्ने र्‍याम्पहरू सहित क्रसवाकमा जाने बाटो खाली गर्नुपर्छ । खतराहरू रोक्न क्रसवाकबाट पग्लिएको हिउँबाट जम्मा भएका पानीका कुण्डहरु हटाउनुपर्छ । ह्वीलचेयर, स्ट्रोलर प्रयोग गर्ने व्यक्तिहरूको आवश्यकतालाई विचार गर्नुपर्छ ।

समयमै फुटपाथ सफा नगर्नेलाई सिटीले पहिलोपटक १ सय देखि १५० डलरसम्म जरिवाना गर्छ भने दोश्रोपटक १५० देखि ३५० डलरसम्म जरिवाना गर्छ । तेश्रोपटक वा त्योभन्दा बढीपटक सफा नगर्नेलाई २५० देखि ३५० डलरसम्म जरिवाना गर्छ ।

सन् २०१८ देखि गाडीबाट हिउँ नहटाउनेहरुलाई पनि कानूनी कारवाहीको व्यवस्था गरिएको छ । सार्वजनिक सडकमा गाडी चलाउने कुनै पनि चालकले आफ्नो सवारी साधनको छत, कार्गो बेड र डिब्बाहरू सहित सबै सतहहरूमा तीन इन्च भन्दा बढी हिउँ भएमा सफा गर्नुपर्छ । सवारी साधनबाट हिउँ, बरफ वा असिना सफा नगरेकोमा १५० देखि ८५० डलरसम्म जरिवाना हुन सक्छ। पार्क गरिएका सवारीहरू र आपतकालीन वा सार्वजनिक सुरक्षा सवारी साधनहरूमा पनि अपवाद छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com