अमेरिका लैजाने भन्दै काठमाडौं ल्याएर ११ जनालाई बन्धक बनाउने १० जना पक्राउ


प्रकाशित मिति : फाल्गुन ३, २०८० बिहीबार

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा १० जना पक्राउ परेका छन् ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा रहेका छन् ।  त्यस्तै  बिराटनगर महानगरपालिका वडा नं.-५ का बर्ष ५२ को मोहम्मद साविर मिया र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार सबैलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ ।  अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीले पिडितहरुको पासपोर्ट, विभिन्न देशका मुद्राहरु, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिंग पास हरु, ल्यापटपहरु, नक्कली रबर स्ट्याम्पहरु र कैची, पेपर कटर लगायतको सरसामानहरु बरामद गरेको छ । साथै शारीरिक यातना दिन प्रयोग हुने पाईप पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध संहिता २०७४ को अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सम्मानित जिल्ला अदालत काठमाण्डौबाट म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुुभयो ।

तस्वीर : नेपाल प्रहरी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com