अमेरिकी सिनेटर चक शुमर समक्ष युएसएमएलईले नेपाली डाक्टरको स्कोर रद्द गरेको गुनासो


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

अमेरिकामा रेसिडेन्सी गर्न आउन चाहने र आइसकेका नेपाली डाक्टरहरुको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई स्कोर रद्द गरिएकोबारे सिनेटमा बहुमतप्राप्त दलका नेता तथा बरिष्ठ सिनेटर चक शुमरको ध्यानाकर्षण गराइएको छ । आज न्युयोर्कका नेपाली समुदायका प्रतिनिधिहरु र सिनेटर चक शुमरबीचको राउण्डटेबल छलफलका क्रममा नेपालीलाई नै युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय पूर्वाग्रहपूर्ण रहेको भन्द्रै शुमरको ध्यानाकर्षण गराइएको हो ।

छलफलका क्रममा कानुन व्यवसायी खगेन्द्र जीसीले नेपालीलाईमात्र निशाना बनाएर गरिएको युएसएमएलई स्कोरबाट झण्डै ८ सय डाक्टरहरु प्रभावित भएको जानकारी दिनुभयो । स्कोर रद्दमा नेपालीलाईमात्र निशाना बनाउनु विभेदकारी भएको उल्लेख गर्दै यसबारे कदम चाल्न उहाँले सिनेटर शुमरलाई आग्रह गर्नुभयो । अमेरिकामा जे वान वा एच वान बी भिसामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु स्कोर रद्दपछि अध्यागमन स्टाटस परिवर्तन गर्नुपर्ने वा फर्कने बाध्यतामा परेको उल्लेख गर्दै जीसीले नेपाली डाक्टरहरुको चिन्ता शुमरसमक्ष व्यक्त गर्नुभयो ।

सिनेटर चक शुमरले यस विषयमा थप चासो राख्नुभएको थियो । उहाँले अमेरिका आइसकेका नेपाली डाक्टरहरु समस्यामा परेको भएमा त्यसबारे बुझेर आफूहरु उचित कदम चाल्न सकारात्मक भएको बताउनुभयो । अमेरिकामा नेपाली समुदायका समस्याहरुबारे आयोजित छलफलका क्रममा कानुन व्यवसायी जीसीले नेपाली डाक्टरहरुको समस्यालाई प्राथमिकताका साथ उठाउनुभएको थियो ।

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले सोमबार  आदेश जारी गरेको थियो । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेको छ।

प्रभावित  डाक्टरका तर्फबाट दायर गरेको मुद्दामा निर्णय गर्दै न्यायाधिस कोन्त्रेरसले वादीहरूले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्न प्रारम्भिक निषेधाज्ञा अनुरोधको सम्बन्धमा चलिरहेको अदालतको मुद्दाको सन्दर्भमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ३१ जनवरी २०२४ वा आसपासमा स्कोर रद्दको सूचनाहरू प्राप्त गर्ने व्यक्तिहरूबाट कुनै पनि आवश्यक जवाफको लागि अन्तिम म्याद स्थगित गर्ने निर्णय गरेको छ । नयाँ समयसीमा अदालतले आफ्नो निर्णय जारी गरेपछि निर्धारण हुनेछ ।

a book on a desk

अदालतको आदेश अनुशार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आफ्नो हालैको सूचनाको जवाफ दिनको लागि अन्तिम म्याद वादीको प्रारम्भिक आदेशको लागि अनुरोधमा अदालतको निर्णय नआउँदासम्मका लागि पछाडि सानुपर्नेछ । यो सम्बन्धित वर्गमा पर्ने अर्थात् प्रभावित सबै डाक्टरहरुका सन्दर्भमा लागू हुनेछ । द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि यो विस्तारको बारेमा जानकारी दिनुपर्नेछ ।

कुनै पनि पक्षले अन्य सम्भावित चासो राख्ने तेस्रो पक्षहरूलाई जवाफ दिने समयसिमा विस्तारबारे सूचित गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ । साथै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावितहरुलाई निर्णय पठाउन वा जवाफ दिनका लागि तय भएका कुनै पनि डेडलाइनहरु अदालतले प्रारम्भिक आदेश जारी नगर्दासम्म स्थगित हुनेछन् । योसँगै मुद्दाका प्रभावित डाक्टरहरुले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णयमा संलग्न अन्य पक्षलाई सूचित नगरी एकतर्फी रुपमा अस्थाई रोक लगाउने आदेशका लगि गरेको माग भने अस्वीकार गरिएको छ ।

द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले वादी वा कुनै पनि प्रभावितहरुको कारणले कुनै राहत वा सबैलाई समेट्ने राहतको प्रतिज्ञा स्वीकार नगर्ने अदालतलाई थाहा भएको र प्रारम्भिक निषेधात्मक राहतको लागि अनुरोधसहितको वादीको उजुरी र उसलाई भएका सबै अधिकार र प्रतिरक्षाहरू द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरमा सुरक्षित रहने अदालतको आदेशमा जनाइएको छ ।

युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्ना तर्कहरु पेश गर्न अदालतले समयसिमा दिएको छ । प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको विरोध प्राप्त भएको २४ घण्टा भित्र वादी प्रभावित नेपाली डाक्टरले इलेक्ट्रोनिक फाइलिङ प्रणालीमार्फत जवाफ दिनुपर्नेछ । अदालतले वादीको मुद्दाको सन्दर्भमा फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि आदेश जारी जनाएको छ ।

युएसएमएलई कार्यक्रमले  अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको  छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com