मिजौरीको कन्सास सिटीमा सुपर बाउल परेडमा गोली चल्दा एकजनाको मृत्यु, २९ जना घाइते
प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार
मिजौरीको कन्सास सिटीमा बुधबारको सुपर बाउल परेडमा गोलीचल्दा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये २० भन्दा बढी व्यक्तिलाई गोली लागेको प्रहरी प्रमुख स्टेसी ग्रेभ्सले बताएका छन् । घाइतेमध्ये केही बालबालिका पनि रहेको जनाइएको छ । अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
झण्डै १ मिलियन मानिसहरू डाउनटाउन कन्सास सिटीमा परेड र र्यालीका लागि उपस्थीत थिए । गोली हानाहान हुँदा खेलाडीहरू विजय र्यालीको मञ्चमै थिए । बन्दुक हिंसा अभिलेखका अनुसार यस वर्ष अमेरिकामा यो गोलीकाण्ड ४८ औं सामूहिक गोलीकाण्ड हो । सन् २०१३ यता मिजौरी राज्यमा मात्र कम्तिमा १५४ सामूहिक गोलीकाण्ड भएका छन्, जसमा ५८२ घाइते र १५६ जनाको मृत्यु भएको छ। यो तथ्यांकमा आजको गोलीकाण्ड समावेश छैन ।

राष्ट्रपति जो बाइडेनले बुधबारको सामूहिक गोलीकाण्डलाई ध्यानमा राख्दै बन्दुक नियन्त्रणका लागि काम गर्न संसदलाई आह्वान गरेका छन् । यो बन्दुक नियन्त्रणका लागि काम गर्ने समय भएको भन्दै उनले देशलाई आफ्नो साथमा उभिन आग्रह गरे । आक्रमण हतियारहरूमा प्रतिबन्ध लगाउन, उच्च क्षमताका म्यागजिनहरू सीमित गर्न, पृष्ठभूमि जाँचहरूलाई बलियो बनाउन, ह्यान्डल गर्न नसक्नेहरुको हातबाट बन्दुकहरू टाढा राख्ने काम गर्ने उनले बताए ।
उपराष्ट्रपति कमला ह्यारिसले बुधबारको गोलीकाण्डपछि उचित बन्दुक सुरक्षा कानून पारित गर्न संसदलाई आह्वान गरेकी छिन् । यदि अमेरिकाका संसदका सदस्यहरूले उचित बन्दुक सुरक्षा कानूनको साथ काम गर्ने साहस गरेमा यस्ता धेरै गोलीकाण्ड रोक्न सकिने उनले बताइन् । ह्यारिसले गोलीकाण्डबाट प्रभावितका लागि आफूले प्राथना गर्ने बताइन् । सेप्टेम्बर २०२३ मा राष्ट्रपति बाइडेनले बन्दुक हिंसा रोकथामको पहिलो ह्वाइट हाउस कार्यालय स्थापना गरेर उपराष्ट्रपतिलाई कार्यालयको निरीक्षण गर्ने जिम्मा दिएका थिए ।





