समुदायका समस्याबारे सिनेटमा बहुमतदलका नेता चक शुमरसँग न्युयोर्कका नेपालीको छलफल


प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार

गतबर्ष नेपाली समुदायका साथमा न्युयोर्कमा चक शुमर ।

सिनेटमा बहुमत दलका नेता न्युयोर्कका सिनेटर चक शुमरसँग न्युयोर्कको नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली आप्रवासी समुदायका समस्याबारे छलफल गरेका छन् । आज न्युयोर्क सिटीमा रहेको चक शुमरको कार्यालयमा भएको राउण्डटेबल छलफलमा नेपाली आप्रवासी समुदायले प्राप्त गर्नसक्ने सहयोग र श्रोतहरुबारे छलफल भएको हो ।

विगतमा अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्नमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै शुमरले नेपाली समुदायलाई सहयोग गर्न र आवश्यक श्रोतहरु उपलब्ध गराउन आफू सधै तत्पर रहेको बताए । उनले अमेरिकालाई जीवन्त राख्न आप्रवासी समुदायको भूमिकाको प्रशंसा गर्दै उनले नेपाली समुदाय आफूलाई निकै मनपर्ने समुदाय रहेको उल्लेख गरे ।

अल्पंख्यक समुदायका लागि आफू सधै काम गर्न इच्छुक रहेको बताउँदै उनले नेपाली समुदायका लागि कम्युनिटी सेन्टर निर्माणमा समेत सहयोग गर्ने उनले बताए । उनले भने – ‘तपाईहरु समुदायभित्र छलफल गरेर आगामी बर्षका लागि एउटा स्थानमा एउटा कम्युनिटी सेन्टरको प्रस्ताव ल्याउनुहोस्, हामी कम्युनिटी सेन्टर निर्माणका लागि एक हिस्सा सहयोग गर्न तयार छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले आप्रवासी र अल्पसंख्यक समुदायहरुको हितमा हुनेगरी सुरक्षा, स्वास्थ्य, ट्याक्ससम्बन्धि नीति निर्माणका साना व्यवसायहरुका हितमा नीति निर्माणमा काम गरिरहेको र भविश्यमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए । उनले आप्रवासी समुदायले भोगेका घृणा अपराध, मानसिक स्वास्थ्य लगायतका विषयमा आफू जानकार रहेको र यसविषयमा मिलेर काम गर्न तत्पर रहेको बताए ।

अमेरिकामा रेसिडेन्सी गर्न आउन चाहने र आइसकेका नेपाली डाक्टरहरुको युएसएमएलई स्कोर रद्द गरिएकोबारे पनि सिनेटर शुमरको ध्यानाकर्षण गराइएको थियो । नेपालीलाईमात्र निशाना बनाएर युएसएमएलई स्कोर रद्द गरिदै झण्डै ८ सय डाक्टरहरु प्रभावित भएको र नेपालीलाईमात्र निशाना बनाउनु विभेदकारी भएको उल्लेख गर्दै सिनेटर शुमरको ध्यानाकर्षण गराइएको थियो ।

त्यस्तै काठमाडौंमा रहेको अमेरिकी दूतावासले निकै सुस्त गतिमा आप्रवासी भिसा जारी गर्दा अमेरिकी ग्रिनकार्डवाहक र नागरिकहरु लामो समयदेखि परिवारसँग विछोडिएर बस्नुपरेको पनि शुमरको ध्यानाकर्षण गराइएको थियो । त्यहाँ सानो पोष्ट र थोरै कर्मचारी भएका कारण त्यस्तो समस्या भएको र समाधानका लागि आफूहरुले पहल गर्ने चक शुमरको कार्यालयका तर्फबाट जानकारी दिइएको थियो ।  कामदार भिसाका सन्दर्भमा र अमेरिकामा नेपालबाट कृषि कामदार ल्याउनका लागि नेपाललाई सुचीमा राख्नका लागि पनि सिनेटर शुमरको ध्यानाकर्षण गराइएको थियो । नेपाल सानो देश भएकाले आप्रवासी भिसा लगायतका सन्दर्भमा नेपालका लागि छुट्टै नीति बनाएर अगाडि बढ्नका लागि पहल गर्ने शुमरले बताए ।

२०२० जनगणनामा अमेरिकामा रहेका नेपालीहरुको संख्या वास्तविक संख्याभन्दा कम देखिन आएको र जनगणनामा रहेको प्राविधिक विषयका कारण यस्तो हुन गएकाले आगामी जनगणनामा उक्त समस्या हुन नदिन अहिलेदेखि नै पहल गर्नुपर्ने विषयपनि छलफलका क्रममा उठाइएको थियो । जनगणना फारम भर्दा ‘नेपाली’ उल्लेख गर्ने स्थान नभएको र अन्य उल्लेख गरेर ‘नेपाली’ लेख्नुपर्ने प्राविधिक समस्या वास्तविक भन्दा कम जनसंख्या देखिनुको एउटा मुख्य कारक रहेकाले आगामी जनगणनामा कम्तीमा अनलाइनबाट भर्दा ‘नेपाली’  छान्ने विकल्प हुनुपर्नेगरी प्रणाली बनाउन आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सिनेटर चक शुमरको कार्यालयबाट नेपाली समुदायले कस्ता सेवाहरु प्राप्त गर्न सक्छन् ? भन्नेबारे जानकारी समुदायलाई गराउनका लागि राउण्डटेवल कार्यक्रमको पहल गएिको माइनोरिटी इम्पावरमेन्ट नेटवर्ककी श्रेया तुलाधरले बताइन् । समुदायमा जनचेतनाको अभाव ठूलो समस्या रहेको र धेरैले भाषिक समस्याको सामना गरेकाले आफूहरुले राउण्डटेबलका लागि पहल गरेर पुलको काम गर्न खोजेको उनले बताइन् । राउण्डटेबल आयोजनाका लागि तुलाधरसहित ७ जनाको टिम सकृय भएको थियो । नेपाली समुदायका विषयबारे सिनेटर चक शुमरसँग यति बृहत रुपमा छलफल भएको सम्भवत यो पहिलोपटक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com