युएसएमएलईबाट नेपाली डाक्टरको स्कोर रद्दबारेको मुद्दामा डिसी अदालतको आदेश, ९ दिनमा नयाँ आदेश आउने


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्दगरेपछि प्रभावित डाक्टरले द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध अमेरिकी अदालतमा दायर गरेको मुद्दाबारे वासिंटन डिसीको डिस्ट्रिक्ट कोर्टले आदेश जारी गरेको छ । युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीका न्यायाधिस रुडोल्फ कोन्त्रेरसले एक आदेश जारी गर्दै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावित डाक्टरहरुलाई जवाफ दिनका लागि दिएको अन्तिम म्याद स्थगित गर्नुपर्ने निर्णय गरेको छ।

प्रभावित  डाक्टरका तर्फबाट दायर गरेको मुद्दामा निर्णय गर्दै न्यायाधिस कोन्त्रेरसले वादीहरूले युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्न प्रारम्भिक निषेधाज्ञा अनुरोधको सम्बन्धमा चलिरहेको अदालतको मुद्दाको सन्दर्भमा द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले ३१ जनवरी २०२४ वा आसपासमा स्कोर रद्दको सूचनाहरू प्राप्त गर्ने व्यक्तिहरूबाट कुनै पनि आवश्यक जवाफको लागि अन्तिम म्याद स्थगित गर्ने निर्णय गरेको छ । नयाँ समयसीमा अदालतले आफ्नो निर्णय जारी गरेपछि निर्धारण हुनेछ ।

a book on a desk

अदालतको आदेश अनुशार द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले आफ्नो हालैको सूचनाको जवाफ दिनको लागि अन्तिम म्याद वादीको प्रारम्भिक आदेशको लागि अनुरोधमा अदालतको निर्णय नआउँदासम्मका लागि पछाडि सानुपर्नेछ । यो सम्बन्धित वर्गमा पर्ने अर्थात् प्रभावित सबै डाक्टरहरुका सन्दर्भमा लागू हुनेछ । द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले एजुकेशनल कमिसन फर फरेन मेडिकल ग्रयाजुएट, फेडेरेशन अफ स्टेट मेडिकल बोर्ड र म्याचलाई पनि यो विस्तारको बारेमा जानकारी दिनुपर्नेछ ।

कुनै पनि पक्षले अन्य सम्भावित चासो राख्ने तेस्रो पक्षहरूलाई जवाफ दिने समयसिमा विस्तारबारे सूचित गर्न सक्ने अदालतको आदेशमा उल्लेख छ । साथै द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रभावितहरुलाई निर्णय पठाउन वा जवाफ दिनका लागि तय भएका कुनै पनि डेडलाइनहरु अदालतले प्रारम्भिक आदेश जारी नगर्दासम्म स्थगित हुनेछन् । योसँगै मुद्दाका प्रभावित डाक्टरहरुले युएसएमएलईको स्कोर रद्द गर्ने निर्णयमा संलग्न अन्य पक्षलाई सूचित नगरी एकतर्फी रुपमा अस्थाई रोक लगाउने आदेशका लगि गरेको माग भने अस्वीकार गरिएको छ ।

द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले वादी वा कुनै पनि प्रभावितहरुको कारणले कुनै राहत वा सबैलाई समेट्ने राहतको प्रतिज्ञा स्वीकार नगर्ने अदालतलाई थाहा भएको र प्रारम्भिक निषेधात्मक राहतको लागि अनुरोधसहितको वादीको उजुरी र उसलाई भएका सबै अधिकार र प्रतिरक्षाहरू द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरमा सुरक्षित रहने अदालतको आदेशमा जनाइएको छ ।

युएसएमएलई स्कोर रद्द गर्ने निर्णय कार्यान्वयन रोक्नका लागि प्रारम्भिक आदेशको माग गर्दै दायर मुद्दाका सन्दर्भमा प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले फेब्रुअरी १८ को बेलुका ५ बजेसम्म आफ्ना तर्कहरु पेश गर्न अदालतले समयसिमा दिएको छ । प्रतिवादी द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको विरोध प्राप्त भएको २४ घण्टा भित्र वादी प्रभावित नेपाली डाक्टरले इलेक्ट्रोनिक फाइलिङ प्रणालीमार्फत जवाफ दिनुपर्नेछ । अदालतले वादीको मुद्दाको सन्दर्भमा फेब्रुअरी २१ को बेलुका ५ बजे वा त्योभन्दा अगाडि आदेश जारी जनाएको छ ।

अदालतले दुबै पार्टीको बीचमा भएको समझदारीका आधारमा यो आदेश जारी गरेको अमेरिकका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले खसोखासलाई बताएका छन् । प्रभावित डाक्टरहरुलाई युएसएमएलई स्कोर रद्दको सुचना पठाउँदै परीक्षा पुन लिने, पुनर्विचारको अनुरोध गर्ने वा अपिल गर्ने विकल्पहरु दिदै समयसिमा तोकेर जवाफ पठाउन भनिएकोमा अब अदालतको यो आदेशपछि प्रभावित चिकित्सकहरुले जवाफ पठाउनका लागि हतार गर्नु नपर्ने जीसीले जानकारी दिनुभयो । तर युएसएमएलई स्कोर रद्द भई रेसिडेन्सी खारेज भइसकेका डाक्टरहरुले आफ्नो अध्यागमन स्टाटस जोगाउन ३० वा ६० दिनभित्र स्टाटस परिवर्तन गर्नुपर्ने वा अमेरिका छाड्नुपर्ने भएकाले त्यसबारे सचेत रहन कानुन व्यवसासी जीसीले सुझाव दिनुभयो ।

कानुन व्यवसायी खगेन्द्र जीसी

युएसएमएलई कार्यक्रमले  अनुसन्धान पछि नेपालका परीक्षार्थीहरुले परीक्षामा प्रश्नहरुको जवाफ दिंदा असामान्य प्रकारको ढाँचा प्रयोग गरेको पत्ता लागेको भन्दै उनीहरुको नतिजालाई रद्द गरेपछि अमेरिका आइसकेका नेपाली डाक्टरहरु समेत समस्यामा परेका छन् । युएसएमएलई परीक्षा उत्तिर्ण गरेर अमेरिका आइसकेकाहरुको समेत पहिलो, दोश्रो र तेश्रो चरणको नतिजासमेत रद्द गरेपछि अमेरिकामा रेसिडेन्सी गरिरहेका नेपाली डाक्टरहरु समस्यामा परेका हुन् । उनीहरुमध्ये कतिपयलाई अस्पताल र युनिभर्सिटीहरुले नआउनका लागि सुचित गरिसकेको  छ ।

(नोट : नाम हटाउन अनुरोध गरेको आधारमा वादीको नाम समाचारबाट हटाइएको छ ।)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com