१९८९ यता अमेरिकी ग्रिनकार्ड प्राप्त नेपाली ११५६८५


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

– किशोर पन्थी

अमेरिकामा कतिजना नेपालीहरु छन् ? यसबारे विभिन्न अनुमानहरु हुने गरेका छन् । कागजपत्रविहिन, विभिन्न भिसामा रहनेहरु र ग्रिनकार्ड पाइसकेका नेपालीहरु अमेरिकामा झण्डै ३ लाख रहेको अनुमान गरिदै आएको छ । तर अमेरिकामा ग्रिनकार्ड प्राप्त गरेर बसेका नेपालीहरुको संख्या भने अब अनुमानमाका आधारमा भनिरहनु नपर्ने भएको छ ।

खसोखासले युएससीआईएससँग समन्वय गरेर त्यो संख्याको हिसाबकिताब निकालेको छ । युएससीआईएसकी प्रवक्ता क्याथरिन टिकचेकसँगको समन्वयमा अमेरिकामा ग्रिनकार्ड प्राप्त नेपालीहरुको कुलसंख्या हिसाब गरिएको छ । जुन १ लाख १५ हजार ६ सय ८५ रहेको छ । आर्थिक बर्ष सन् १९८९ देखि सन् २०१७ को सुरुसम्मको हिसाब गरेर यो संख्या निकालिएको हो । सन् १९९० को जनगणनाले अमेरिकामा त्यतीबेलासम्म नेपालीमूलका २६१६ जना अमेरिकनहरु रहेको देखाएको थियो । यसरी हिसाब गर्दा अमेरिकामा सुरुदेखि अहिलेसम्म ग्रिनकार्डप्राप्त (त्यसमध्ये झण्डै ३० हजारले नागरिकता लिइसकेका छन् ) नेपालीहरुको संख्या झण्डै १ लाख २० हजारको हाराहारीमा रहेको देखिएको छ ।

सन् १९८९ भन्दा अगाडि अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरु हरेकबर्ष एकसय वा त्यो भन्दा कमको हाराहारीमा थिए । अमेरिकी सरकारले नेपालीहरुको विवरण छुट्टै राख्ने समेत गरेको थिएन । तर सन् १९८९ देखि सन् २०१५ सम्म ९६८६४ जना नेपालीहरुले अमेरिकी ग्रिनकार्ड पाए ।

सन् २०१६ मा काठमाडौंमा रहेको दूतावासले ६४८३ जनालाई आप्रवासी भिसा जारी गरेको थियो । त्योबाहेक अमेरिकामा विभिन्न भिसामा आएर ग्रिनकार्ड प्राप्त गर्नेहरुको संख्या त्यो भन्दा धेरै छ । यसरी सन् २०१६ मा झण्डै १३ हजार नेपालीहरुले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेको देखिन्छ । सन् २०१६ को विस्तृत तथ्यांक युएससीआईएसबाट प्राप्त हुन नसकेपनि १३ हजार हिसाब गरेर हेर्दा सन् १९८९देखि सन् २०१७ को पहिलो ६ महिनासम्म अमेरिकी ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख १५ हजार ६ सय ८५ हुन आउँछ । आर्थिक बर्ष २०१७ को पहिलो ६ महिनामा ५८२१ जना नेपालीले अमेरिकी ग्रिनकार्ड प्राप्त गरेका थिए ।

 

त्यसमध्ये ३० हजारलाई नागरिकता

अमेरिकाको ग्रिनकार्ड पाएका झण्डै १ लाख २० हजारमध्ये झण्डै तीसहजारले अमेरिकी नागरिकता समेत लिइसकेका छन् । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै ५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए । सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए । सन् २०१६ र सन् २०१७ को ९ महिनामा ५ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् ।

सेन्सस ब्यूरोले के भन्छ ?

यसरी १ लाख २० हजार नेपालीहरु अमेरिकी ग्रिनकार्ड प्राप्त रहेपनि अमेरिकी सरकारको सेन्सस ब्यूरोले भने अमेरिकामा भिसावाहक र कागजपत्रविहिनसमेत जोडेर लगभग त्यती नेपालीहरु रहेको अनुमान गरेको छ । जुन अनुमान सत्य देखिन्न ।

अमेरिकी सेन्सस ब्यूरोले अमेरिकामा सन् २०१५ सम्ममा जम्मा १ लाख २० हजार ८८६ जना नेपालमा नै जन्मेका नेपालीहरु रहेको अनुमान गरेको छ । यो संख्या कागजपत्रविहिन लगायत सबै नेपालीहरुको भनिएपनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार झण्डै यति नेपालीहरु अमेरिकामा ग्रिनकार्ड प्राप्त नै छन् ।

सेन्ससले सन् २०१५ सम्ममा नेपालमै जन्मेका वा पुख्र्यौली थलो नेपालमा रहेका कागजपत्रविहिन र कागजपत्र प्राप्त नेपालीको संख्या भने १ लाख ४० हजार ३१९ रहेको अनुमान गरेको छ । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार अमेरिकामा ग्रिनकार्ड प्राप्त गरेका नेपालीहरु र अमेरिकामा नेपाली बाबुआमाबाट जन्मिएकाहरुको संख्या नै यो भन्दा धेरै रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com