न्युयोर्क सिटीमा घर अगाडिको र गाडीमा जमेको हिउँ सफा नगरे ८५० डलरसम्म जरिवाना, कति घण्टाभित्र गर्नुपर्छ?


प्रकाशित मिति : माघ २१, २०८० आईतबार

न्युयोर्क सिटीमा यसपटक औसतभन्दा कम हिउँ परेको छ तर पनि हिमपात भएमा त्यसको तयारीका लागि न्युयोर्क सिटीका नियमहरु जान्न आवश्यक छ । हिमपातपछि आफ्नो घर अगाडिको फुटपाथहरू कत्तिको चाँडो सफा गर्नुपर्दछ र हिड्ने बाटोहरू कति चौडा हुनुपर्दछभन्नेबारे न्युयोर्क सिटीको नियम रहेको छ । जसको पालना गर्न असफल भएमा जरिवाना हुन सक्छ ।

हिउँ पर्न बन्द हुने बित्तिकै काउन्टडाउन सुरु हुन्छ। तपाईंको कारबाट हिउँ हटाउन असफल भएमा पनि जरिवाना हुन सक्छ।

सिटीको नियम अनुशार घर वा सम्पत्तिका मालिकहरू वा भवनको जिम्मा लिएका व्यक्तिहरू, भाडामा लिनेहरू, सुपरिटेन्डेन्टहरू, वा भवन म्यानेजरहरु घर र व्यवसायको छेउमा रहेको फुटपाथलाई उचित रूपमा सुरक्षित अवस्थामा राख्नका लागि जिम्मेबार हुन्छन् । यो नियममा घर, सम्पत्ती वा व्यवसायको अगाडिको फुटपाथ र छेउछाउमा हिउँ, बरफ, फोहोर वा अन्य सामग्री सफा गर्नुपर्ने प्रावधान छ ।

बासिन्दाहरू र व्यवसायहरूले हिपमपात पछि हिउँ पर्न बिहान ७ बजेदेखि दिउसो ४ बजेर ४९ मिनेटको बीचमा रोकिएको भएमा चार घण्टाभित्र सफा गरिसक्नुपर्छ । हिउँ पर्न बेलुका ५ बजेदेखि ९ बजेर ५९ मिनेटको बीचमा रोकिएको भएमा १४ घण्टाभित्र सफा गरिसक्नुपर्छ । बेलुका ९ बजेपछि र विहान ७ बजे अगाडिको बीचमा हिउँ पर्न रोकिएको भएमा विहान ११ बजेसम्म सफा गरिसकेको हुनुपर्छ ।

न्युयोर्कमा आफ्नो घर अगाडिको हिउँ सफा गर्ने क्रममा चर्चित कानुन व्यवसायी बासु फुलारा । कभर समेत । 

घर वा व्यवसायको छेउमा रहेको फुटपाथबाट हिउँ हटाउनुपर्छ भने फुटपाथबाट सडकमा हिउँ धकेल्नु हुँदैन । घर अगाडि फायर हाइड्रन्ट भएमा त्यसको वरिपरिको हिउँ हटाउनुपर्छ । हिउँले क्रसवाकहरू ढाक्नुहुँदैन । हिउँलाई आफ्नो अगाडिको यार्ड, स्टोप लाइनको पछाडि वा घाँसे कर्ब स्ट्रिपमा सार्नुपर्छ । सम्भव भएसम्म फुटपाथको छेउमा कम्तिमा चार फिट चौडा बाटो खाली गर्नुपर्छ । कुनामा घर हुनेले पैदल यात्री हिड्ने र्‍याम्पहरू सहित क्रसवाकमा जाने बाटो खाली गर्नुपर्छ । खतराहरू रोक्न क्रसवाकबाट पग्लिएको हिउँबाट जम्मा भएका पानीका कुण्डहरु हटाउनुपर्छ । ह्वीलचेयर, स्ट्रोलर प्रयोग गर्ने व्यक्तिहरूको आवश्यकतालाई विचार गर्नुपर्छ ।

समयमै फुटपाथ सफा नगर्नेलाई सिटीले पहिलोपटक १ सय देखि १५० डलरसम्म जरिवाना गर्छ भने दोश्रोपटक १५० देखि ३५० डलरसम्म जरिवाना गर्छ । तेश्रोपटक वा त्योभन्दा बढीपटक सफा नगर्नेलाई २५० देखि ३५० डलरसम्म जरिवाना गर्छ ।

सन् २०१८ देखि गाडीबाट हिउँ नहटाउनेहरुलाई पनि कानूनी कारवाहीको व्यवस्था गरिएको छ । सार्वजनिक सडकमा गाडी चलाउने कुनै पनि चालकले आफ्नो सवारी साधनको छत, कार्गो बेड र डिब्बाहरू सहित सबै सतहहरूमा तीन इन्च भन्दा बढी हिउँ भएमा सफा गर्नुपर्छ । सवारी साधनबाट हिउँ, बरफ वा असिना सफा नगरेकोमा १५० देखि ८५० डलरसम्म जरिवाना हुन सक्छ। पार्क गरिएका सवारीहरू र आपतकालीन वा सार्वजनिक सुरक्षा सवारी साधनहरूमा पनि अपवाद छ ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com