ह्वाइट हाउस नजिकै गोली चल्दा पाँच जना घाइते, संदिग्ध आक्रमणकारी एक भवनमा लुकेको प्रहरीको भनाइ
Photo: Heidi Kaden/Unsplash
अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित ह्वाइट हाउसबाट पैदल दूरीमा रहेको लोगन सर्कल क्षेत्रमा बिहीबार बिहान गोली चल्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गोली लागेकामध्ये एक जना नजिकैको जिममा थिए र उनको घटनास्थलमै मृत्यु भएको देखिएको छ ।
डिसी मेट्रोपोलिटन प्रहरी विभागले गोली चलाउने संदिग्ध व्यक्ति सुरुमा गोली चलेको स्थान आसपासकै एक भवनमा लुकेर बसेको जनाएको छ । नजिकैको अपार्टमेन्ट भवनको माथिल्लो तलामा कानुन कार्यान्वयन निकायको विशेष टोली परिचालन भएको देखिएको छ ।
ह्वाइट हाउसबाट करिब एक माइल उत्तरमा पर्ने लोगन सर्कल क्षेत्रमा गोली चलेको हो । प्रहरीले सर्वसाधारणलाई १५औँ स्ट्रिटको १५०० ब्लक आसपासको क्षेत्रमा नजान आग्रह गरेको छ । उक्त क्षेत्रमा भिडा फिटनेस सेन्टर, सेन्ट लुक्स एपिस्कोपल चर्च र आवासीय भवनहरू रहेका छन् भने नजिकै होल फुड्स सुपरमार्केट छ । प्रहरीले उक्त ब्लकको अधिकांश भागमा घेरा हालेको छ र घटनास्थल नजिकका विद्यालयहरू बन्द गरिएका छन् ।
बिहान ८ बजेपछि जिममा रहेका प्रत्यक्षदर्शी जेम्स स्पेलम्यानले गोली चलेको आवाज सुनेको बताए । उनका अनुसार त्यतिबेला जिममा करिब ५० जना मानिस थिए ।
केही सेकेन्डमै एक व्यक्ति भुइँमा ढले र रगतको आहाल जम्यो,” उनले भने, “जिमका एक सदस्य उनलाई मद्दत गर्न दौडिए, तर घाँटीमा गोली लागेका उनको तत्कालै मृत्यु भइसकेको थियो ।
स्पेलम्यानका अनुसार उनी र जिमका अन्य सदस्यहरू बाहिर भागेका थिए र १५औँ स्ट्रिट क्षेत्रमा थप गोली चलेको आवाज सुनिएको थियो । उनले जिमभित्र करिब दुई राउन्ड र बाहिर पाँच-छ राउन्ड गोली चलेको सुनेको बताए ।
प्रहरीको व्यापक परिचालनसँगै आसपासका सडकहरू पनि बन्द गरिएका छन् । संघीय निकाय ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स’ ले घटनास्थलमा सहयोगका लागि आफ्ना एजेन्ट पठाएको जनाएको छ । त्यस्तै, एफबिआईको वासिङ्टन फिल्ड अफिसले स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाइरहेको बताएको छ ।
नजिकैको अपार्टमेन्टमा रहेका अर्का प्रत्यक्षदर्शी रायन डुबिकीले बिहान ८ बजेतिर करिब पाँच पटक ठूलो आवाज सुनेको बताए ।आवाजहरू निकै फरक-फरक समयमा आएकाले मैले निर्माण कार्य भइरहेको होला भन्ने ठानेँ, उनले भने, “तर केही समयपछि बाहिर हेर्दा जताततै प्रहरी नै प्रहरी थिए । उनको अपार्टमेन्ट व्यवस्थापनले भवनमा सक्रिय बन्दुकधारी हुनसक्ने भन्दै सूचना पठाएको थियो ।
उक्त क्षेत्रमा यसअघि पनि हिंसात्मक घटना भएका थिए । सन् २०२५ को अगस्टको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी दक्षता विभागका एक पूर्वसदस्य र एक महिलामाथि कार लुट्ने प्रयासमा किशोरहरूको समूहले आक्रमण गरेको अधिकारीहरूले बताएका थिए ।
उक्त घटनाको केही दिनपछि ट्रम्पले स्थानीय अधिकारलाई पन्छाउँदै सहरमा प्रत्यक्ष संघीय नियन्त्रण लागू गरेका थिए र अपराध नियन्त्रणका लागि सयौँ नेसनल गार्ड परिचालन गरेका थिए, जुन हालसम्म पनि जारी छ ।





