ह्यारी भण्डारीको इतिहास रच्ने यात्रामा यसरी गर्न सकिन्छ सहयोग


प्रकाशित मिति : माघ १८, २०८० बिहीबार

अमेरिकाको संघीय संसदका लागि उम्मेदवारी घोषणा गरिसकेका नेपाली अमेरिकन ह्यारी भण्डारीले समुदायसमक्ष सहयोगको आव्हान गरेका छन् । अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले आफ्नो उम्मेद्वारी नेपाली समुदायका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरेमा नेपाली समुदायका पक्षमा इतिहास बन्ने निश्चित रहेको भण्डारीले बताएका छन् । आफूसँग चुनावी अभियान सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमी रहेको उनको भनाई छ ।

भण्डारीले भनेका छन् -‘म सबै नेपालीलाई सहयोग गरिदिनु भई चुनावी अभियान सञ्चालनका लागि स्रोत जुटाइ दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु । समयले हाम्रो लागि हाम्रो जीवनकालमा ल्याएको यो सुनौलो मौकाको सदुपयोग गरौं यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने छन्, सुनिने छन्, बिस्तारित हुनेछन्। हामीसँग समय धेरै छैन । आगामी मे १४ मा प्राइमरी निर्वाचन हुँदै छ। मेरो जीतका लागि निर्णायक चुनाव भनेकै यही डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जितियो भने नोभेम्बर ५ मा हुने आमनिर्वाचन एक किसिममको जीतको औपचारिकता मात्र हुने छ।’

भण्डारीको चुनावी अभियानका लागि सहयोग गर्न यहाँ क्लीक गर्नुहोला ।

भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो । मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेको तीनदिनपछि भण्डारीले उनको स्थानमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा उनी अब चुनावमा नउठ्ने भएकाले यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको छ ।

भण्डारीले आगामी मे १४ मा हुने डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदबारी घोषणा गरेका हुन् । यदि प्राइमरीमा जितेको खण्डमा डेमोक्रेटिकहरुको बाहुल्य रहेको उक्त क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा लगभग सुनिश्चित हुनेछ । यद्यपी औपचारिक जीतका लागि भने आगामी नोभेम्बरमा हुने चुनावको प्रतिक्षा गर्नुपर्छ । प्राइमरीबाटै बाहिरिएको खण्डमा भण्डारीले नोभेम्बरमा हुने अन्तिम चुनावमा भने लड्न पाउनेछैनन् ।

भण्डारीको अभियानबारे थप जान्न र उनले नेपाली समुदायका लागि गरेका काम थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com