थापाखोलाबाट विद्युत् उत्पादन सुरु


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

भाद्र ९, २०७४- टुकुचेको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।  उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

भदौको अन्तिम सातासम्ममा १३.६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ । थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन गरिरहेको छ ।
‘तीन वर्षदेखि भइरहेको कन्स्ट्रक्सनको सबै काम सम्पन्न भएको छ,’ सञ्चालक कम्पनी माउन्ट कैलाश इनर्जी प्रालिका प्रबन्ध निर्देशक भरत खड्काले भने, ‘मुस्ताङमा मात्र सबै बिजुली खपत नहुने भएकाले राष्ट्रिय प्रसारणमा जोड्न लागिएको हो ।’ मुस्ताङ जिल्लाभरिलाई २ मेगावाट भए पुग्ने
उनले बताए ।

टुकुचे हिमालबाट बगेको पानीलाई बाँध बनाई ३ किमि क्षेत्रको जलाशय निर्माण गरिएको छ । यहीँबाट १ हजार ८ सय ३३ मिटर भूमिगत सुरुङ र ७ सय ५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । यो भूभागमा बिजुली उत्पादनको काम निकै जटिल भएको आयोजनाका अधिकारीहरूले बताएका छन् ।
आयोजनाले विद्युत् वितरणका लागि मुस्ताङको तल्लो भेग कोबाङ र म्याग्दीको दानामा सबस्टेसन निर्माण गरिसकेको छ ।
आयोजनाले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने जनाएको छ । सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्ससँग सम्झौता गरिसकेको छ ।
भौगोलिक जटिलताले लगानी बढेर २ अर्ब ५६ करोड रुपैयाँ लागतमा निर्माण भएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । ‘१२ करोड लगानी बढेको छ,’ उनले भने, निर्माण समयै सम्पन्न नहुनु र प्राविधिक पक्षमा फेरबदल गर्नुपरेकाले लागत बढ्यो ।’ यो आयोजनाको केही बिजुली मुस्ताङमै खपत हुने उनले बताए ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com