सन् १९९४ मा दोलखाबाट चोरिएको थियो न्युयोर्कमा सोमबार फिर्ता गरिएको भैरवको मुखुन्दो


प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार

नेपालबाट विभिन्न समयमा चोरिएर अमेरिका ल्याइएका चारवटा नेपाली मूर्तिहरु न्युयोर्कमा सोमबार आयोजित एक समारोहमा न्युयोर्कको म्याहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो । जसमा दुईवटा भैरवका मुखुन्दो थिए भने एउटा उमा महेश्वरको ढुङ्गामा कुदिएको मूर्ति र र दुर्गाको मूर्ति थिए ।

१६ औं शताब्दीको भैरवको मुखुन्दो न्यूयोर्कको रुबिन म्युजियम अफ आर्टले नेपाललाई फिर्ता गरेको हो । सामाजिक सञ्जालमा सेप्टेम्बर २०२२ मा गरिएको पोस्ट र समाचार कभरेजमा उक्त भैरवको मुखुन्दो सन् १९९० को दशकमा दोलखाबाट चोरी भएको विवरण सार्वजनिक भएको थियो । लगत्तै संग्रहालयको प्रक्रिया अनुसार रुबिन म्युजियम अफ आर्टले तुरुन्तै आफ्नो संग्रह टोली र स्वतन्त्र अनुसन्धानकर्ताहरूको टिमले यसबारे समिक्षा सुरु गरेको थियो । प्रकृयाबारे जानकारी दिन ग्यालरीहरूमा सार्वजनिक साइन पनि राखिएको थियो।

थप रूपमा रुबिनले रिपोर्ट गरिएको चोरीको परिस्थिति र कागजातहरू सम्बन्धी थप जानकारी पत्ता लगाउन नेपाल सरकारसँग सहयोगको लागि अनुरोध गर्दै न्यूयोर्कस्थित नेपालको महावाणिज्यदूतावासलाई सम्पर्क गरेको थियो । गत मार्चमा म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयले रुबिनसँग सन् १९९४ को मार्चमा दोलखाबाट को एक साइटबाट भैरवको मुखुन्दो चोरी भएको पुष्टि गर्ने प्रमाण पठाएको थियो । कागजातको समीक्षा पछि रुबिनले मार्च १६ मा मुखुन्दो नेपाललाई फिर्ता गर्ने बाँकी प्रकृयाका लागि म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयलाई स्वीकृति दियो ।

रुबिन म्ययुजियमले भैरवको मुखुन्दो सन् २००५ मा प्राप्त गरेको जनाएको छ । म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयले प्रमाण प्रदान नगर्दासम्म आफूहरुले प्राप्त गरेको समयमा उक्त मुखुन्दो नेपालबाट चोरी भएको वा गैरकानूनी रूपमा उठाएको कुनै प्रमाण नभएको म्युजियमले जनाएको छ । रुबिनले पाउनु अगाढि उक्त मुखुन्दो कला बजारमा लेनदेन गरिएको थियो । सन् १९९६ मा सार्वजनिक लिलामीमा समेत राखिएको थियो ।

मुखुन्दोमा भैरवको प्रतिमात्मक विशेषताहरूसहित तेस्रो नेत्र, खोपडी र सर्पहरूले सजाइएको मुकुटका साथमा रातो कपालमा अर्धचन्द्राकार चन्द्रमा रहेका छन् । भैरव शिवको क्रोधित अवतार हो। यो पहिचान मध्यकालीन नेवार शिलालेखहरूसँग सम्बन्धित छ जसले आकाश भैरव जस्ता मुखौटाहरूलाई जनाउँछ।

आफूहरुले यो असाधारण मुखुन्दोको कदर गरेको र सन् २००५ देखि ग्यालरीहरूमा आगन्तुकहरूलाई देखाएको उल्लेख गर्दै मुखुन्दो चोरिएका कारण दोलखाका समुदायका सदस्यहरूलाई पर्न गएको क्षतिप्रति रुबिन म्युजियमका कार्यकारी निर्देशक जोरिट ब्रिट्चगीले गहिरो दुख व्यक्त गरेका छन् । रुबिनले लुटपाटको विरोध गर्ने तथा सङ्कलन गरिएका सामाग्रीहरुका सन्दर्भमा नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरू पालना गर्नुपर्ने विश्वास गर्ने म्युजियमले जनाएको छ । यदि रुबिनले आफ्नै अनुसन्धान मार्फत वा अर्को पक्षद्वारा संग्रहमा रहेका वस्तुहरू चोरी, लुटिएको वा अवैध रूपमा उत्खनन गरिएको दाबी गरिएको थाहा पाएमा तुरुन्तै यी दावीहरूलाई सावधानीपूर्वक र गम्भीरताका साथ सम्बोधन गर्ने तथा सम्बन्धित अधिकारीहरूसँग मिलेर काम गर्ने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com