धमाधम गैर आवासीय नेपाली नागरिकता लिंदै प्रवासी नेपालीहरु , के छ प्रकृया?


प्रकाशित मिति : कार्तिक १६, २०८० बिहीबार

विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिन सुरु गरेका छन् । तत्कालका लागि उनीहरुले सम्बन्धित जिल्ला प्रशासनमा आवेदन दिएर नागरिकता लिन सुरु गरेका हुन् ।

‘मैले नेपालमा गएर नवलपरासी जिल्ला प्रशासनबाट गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिइसकें । यसको दर्ता नम्बर १ रहेको छ । म यसका लागि नेपाल सरकार र यो सम्भव बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु ,’  अमेरिकाको न्युयोर्कमा कानुनी कार्यालय रहेका न्युजर्सी निवासी चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले भन्नुभयो ।

नेपालमा जन्मिएको आफू र अमेरिकामा जन्मिएका आफ्ना छोराले पनि गैर आवासीय नेपाली नागरिकता लिएको उहाँले बताउनुभयो । उहाँले नेपालको गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेकोमा छोरालाई बधाई दिदै दोश्रो पुस्ता सहितका सबै एनआरएनहरुले यो अवशर लिनुपर्ने बताउनुभयो ।

नागरिकता लिने प्रकृया सहज रहेको अनुभव उहाँले खसोखासलाई बताउनुभयो । पहिले जिल्ला प्रशासन कार्यालयमा गरेर पुरानो वंशजको आधारमा नागरिकता बुझाउने र त्यसपछि वडाध्यक्षको सिफारिस सहित आवेदन दिनुपर्ने उहाँले बताउनुभयो । आवेदन दिंदा सकभर परिवारका सदस्यहरुमध्येकै एकजना साक्षी बस्नुपर्ने र विदेशी नागरिकताको प्रमाण, विदेशको ठेगानाको प्रमाण, अमेरिकी पासपोर्टको प्रमाण लगायतका कागजात बुझाएर शुल्क तिरेपछि एकदिनमै पनि नागरिकता प्राप्त गर्न सकिने अनुभव उहाँले बताउनुभयो ।

‘गैर आवासीय नेपाली नागरिकता लिएकाहरुले नेपालको पासपोर्ट लिन पाउने कि नपाउने भन्ने अझै स्पष्ट देखिएको छैन । भविश्यमा यो पनि स्पष्ट होला ।’ – खगेन्द्र जीसी

जीसीले भन्नुभयो  ‘तर कतिपयका सन्दर्भमा भने एकदिनभन्दा बढी समय समेत लाग्ने गरेको देखिएको छ । यसरी नागरिकता लिंदा व्यक्ति स्वयं त्यही उपस्थीत हुनुपर्छ । अब विदेशमा रहेका नेपाली दूतावास र महावाणिज्यदूतावासबाट पनि आवेदन दिन पाउने प्रकृया छिट्टै सुरु हुने अपेक्षा गरिएको छ । गैर आवासीय नेपाली नागरिकता लिएकाहरुले नेपालको पासपोर्ट लिन पाउने कि नपाउने भन्ने अझै स्पष्ट देखिएको छैन । भविश्यमा यो पनि स्पष्ट होला ।’

एनआरएनए अभियन्ता समेत रहेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी नागरिकताको निरन्तरताका लागि लामो समयदेखि कृयाशिल रहेका थिए । उनले एनआरएएनको यसै सम्बन्धि टास्क फोर्समा रहेर पनि काम गरेका थिए ।

गैर आवासीय नेपाली  नागरिकताका लागि अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु योग्य

अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु गैर आवासीय नेपाली नागरिकताका लागि योग्य छन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछन् । यसमा एनआरएनबाट अमेरिकामा जन्मेकाहरुको संख्या समावेश छैन ।

अहिलेसम्म अमेरिकामा झण्डै ७५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् । ग्रिनकार्डवाहकको संख्या भने १ लाखभन्दा धेरै रहेको छ, जो या त अमेरिकी नागरिकताका लागि योग्य भएका छैनन् या त अमेरिकी नागरिकताका लागि योग्य भएपनि नागरिकता लिएका छैनन् ।

सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेकाहरुले नेपाली पासपोर्ट लिनसक्ने वा नसक्नेबारे अझै प्रष्ट छैन ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

passport book on floor
फोटो: जेरेमी डोरो

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

नियमावलीमा के छ ?

नागरिकता ऐनमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरिए अनुशार नियमावलीले यसको कार्यविधि तय गरेको हो ।   नियमावलीमा  गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले  कुन कुन प्रकृया अपनाउने भन्नेबारे स्पष्ट पारिएको छ ।

ऐनको दफा ७क को उपदफा १  बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले तोकिएका कागजात संलग्न गरी तोकिएको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सो नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष वा आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिन सक्नेछन् ।

एनआरनएन नागरिकताको नमुना

तोकिएका कागजातहरु भन्नाले हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, तोकिए अनुशारको प्रतिवद्धतापत्र र नागरिकता ऐनमा व्यवस्था भए अनुरुप निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकको नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्यागेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, सार्क सदस्यराष्ट्रबाहेकका देशमा बसेको प्रमाण पेश गर्नुपर्नेछ । प्रतिवद्धता पत्र भन्नाले अनुसुचीमा उल्लेख भए अनुरुपको विदेशको नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित देशमा बसोबास गर्दै आएको तथा नेपालको संविधान तथा प्रचलित कानून प्रति पूर्ण रुपमा बफादार रहने एवं नेपालको संविधान र प्रचलित कानून बमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकार बाहेक अन्य कुनै पनि अधिकार उपभोग नगर्ने प्रतिबद्धता सहितको पत्र हो ।

प्रतिवद्धतापत्रको नमुना

गैर आवासीय नेपाली नागरिकताका लागि नेपाली राजदूतावास वा महावाणिज्य दूतावासमा निवेदन प्राप्त भएमा सम्बन्धित दूतावासमा कार्यरत कम्तीमा अधिकृतस्तरको कर्मचारीले आवश्यक कुरा बुझी निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र अनिवार्य रुपमा राय सहित परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने व्यवस्था गरिएको छ । प्राप्त निवेदनमा निवेदकको नाताभित्रको नेपाली नागरिकले र त्यस्तो नाताको व्यक्ति नभएमा सम्बन्धित व्यक्तिलाई चिन्ने नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीसमक्ष उपस्थित भई सनाखत गरिदिनु पर्नेछ।

प्राप्त निवेदनका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले छानबिन गरी त्यस्तो व्यक्ति गैरआवासीय नेपाली नागरिकता पाउन योग्य देखिएमा अनुसूची(डङ। बमोजिमको ढाँचामा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ। छानबिन गर्दा प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको वैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कूटनीतिक नियोगसँग समेत बुझ्न सक्नेछ ।

सपथको नमुना

निवेदकको नागरिकता वा राहदानीको वैधताको विषयमा बुझ्न पठाएकोमा सम्बन्धित नेपाली कूटनीतिक नियोगले पन्ध्र दिनभित्र त्यस्तो नागरिकता वा राहदानीको वैधताको विषयमा बुझी जानकारी गराउनु पर्नेछ।  गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुअघि प्रमुख जिल्ला अधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यक्तिलाई तोकिएको ढाँचामा शपथ गराउनु पर्नेछ।

नियमावली बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाउन विद्युतीय माध्यमबाट समेत निवेदन दिन सक्ने व्यवस्थाको लागि मन्त्रालयले आवश्यक प्रविधिको विकास गरी त्यस्तो निवेदन विद्युतीय माध्यमबाट समेत दिन सक्ने प्रबन्ध मिलाउन सक्नेछ ।

गैर आवासीय नेपालीलाई नागरिकता दिइने भएपनि राजनीतिक अधिकार भने दिइएको छैन । उनीहरुलाई राजनीतिक दलमा संलग्न हुने वा मतदान गर्नेजस्ता क्रियाकलापमा सहभागी हुने अधिकार भने हुनेछैन ।  कसैले झुट्टा विवरण दिई गैरआवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । झुट्टो वितरण दिई गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ ।


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com