पिएसजीको जितमा नेयमार नायक


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

भाद्र ५, २०७४- ब्राजिलियन फरवार्ड नेयमारले बार्सिलोना छाडेपछि पनि आफ्नो उच्च फर्मलाई जारी राखेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि घरेलु मैदानमा डेब्यु गरेका नेयमार चम्किएपछि क्लबले लगातार तेस्रो जित दर्ता गर्‍यो । आइतबारको खेलमा पिएसजले टुलुजलाई ६-२ ले पराजित गरेको हो ।

खेलको सुरुआतमा म्याक्स ग्रेडलको गोलसँगै खेलमा पछि पारेको पिएसजीले नेयमारको प्रदर्शनमा उत्कृष्ट पुनरागमन गर्‍यो । नेयमारले बराबरी गोल गरेपछि एड्रिएन राबिओले गरेको गोलका लागि पास उपलब्ध गराएका थिए ।

दोस्रो हाफमा पिएसजीका मार्को भेर्राट्टी रातो कार्ड पाएर मैदान बाहिरिए पनि पिएसजीले खेलमा दबदबा कायम राख्यो । नेयमारले जितेको पेनाल्टीमा एडिन्सन कभानीले गोल गरे भने हाभिएर पास्तोरेले स्कोरलाई ४-१ बनाए। त्यसअघी क्रिस्टियन जुलिएनले टुलुजका लागि गोल गरेर खेलमा फर्कने आशा जगाएका थिए ।

नेयमारले टोलीको पाँचौ गोलका लागि लेभिन कुर्जावालाई असिस्ट दिए । छैटौं गोलका लागि उनले बक्सभित्र रहेका ४ डिफेन्डरलाई छलाएर गरेको प्रहारमा गोलरक्षकले कुनै मौका पाएनन् ।
जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा आफ्नो पकड कायम राख्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com