कन्ट्रयाक्ट किलिङ


प्रकाशित मिति : भाद्र ३, २०७४ शनिबार

– केपी ढुंगाना

भाद्र २९, २०७३-

काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय विवेचत प्रजापति सानी आमासँग बस्दै आएका थिए । लागूऔषध दुव्र्यसनमा फसेका अभिभावकविहीन प्रजापति नयाँबजारका लोकल डनसँगको संगत सँगै दिनेश अधिकारी चरी, कुमार घैंटे हुँदै चक्रे मिलनसम्मको संगतमा पुगे पनि उनको कुनै आपराधिक रेकर्ड भने थिएन ।

साउन ३२ मा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपछि उनको पहिचान बन्यो हिटम्यान (पैसा लिएर आक्रमण गर्ने) । रोज राणा भनिने सरोज थापामाथि सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका प्रजापति अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनको आक्रमणबाट घाइते भएका रोज ग्रान्डी अस्पतालमा हातको घाउको उपचार गराएर घर फर्किसकेका छन् ।

अनुसन्धानमा रोज र प्रजापतिबीच कुनै दुस्मनी देखिएन । दुस्मनी थियो—
जोधा भनिने रत्नबहादुर लामा र रोजबीच । यी दुईको दुस्मनीको बीचमा प्रवेश गरेका
थिए प्रजापति ‘भाडाको अपराधी’का रूपमा ।

रोजसँग बदला लिन जोधाले उनलाई ३० लाखको कन्ट्रयाक्ट दिएका थिए । काम थियो रोजको एउटा हात छिनाल्ने । ८० हजार पेस्की लिएर कन्ट्रयाक्टअनुसार काम गर्न अर्का सहयोगी सूर्य लामाका साथ उनले ३१ गते बेलुका ७ बजे मध्यबानेश्वरमा रोजमाथि आक्रमण गरेका थिए । यद्यपि प्रजापति कन्ट्रयाक्टअनुसारको जिम्मेवारी पूरा गर्न असफल भए । रोजको हात छिनेन उनी गम्भीर घाइते मात्र भए ।

……………..
२०७० साउन २ मा सिराहाको सिक्रौन–७ का गुरुशरण साहको हत्या भयो । रामनगर मिर्चैयामा व्यापारीको पहिचान बनाएका साहको आफ्नै घरमा सुतिरहेको अवस्थामा बेलुका ११ बजे

धारिलो हतियारले हानेर हत्या गरिएको थियो । हत्या अनुसन्धानमा खटिएको सिराहा प्रहरीले उनको हत्याको योजनाकार उनकै श्रीमती चन्दरदेवी साह तथा सतदेव यादव भएको पत्ता लगायो अनि हत्यामा संलग्न देखिए भारतीय कन्ट्रयाक्ट किलर । अनुसन्धानका क्रममा गुरुशरणकी कान्छी श्रीमती चन्दरदेवीले आफ्ना प्रेमी सतदेवसँग मिलेर भारतीय अपराधीलाई २ लाखमा आफ्नो श्रीमान्को हत्याको ठेक्का दिएको रहस्य खुल्यो ।

पक्राउपछि चन्दरदेवीले प्रहरीमा दिएको बयानअनुसार सतदेव र गुरुशरण साथी हुन् । घर आउजाउका क्रममा चन्दर देवीको आफ्नै श्रीमानका साथीसँग प्रेम भयो । उनीहरूको सम्बन्ध झांगिएको १५ वर्षपछि श्रीमान्ले चन्दरलाई सतदेवसँगको सम्बन्ध तोड्न दबाब दिए । त्यसपछि उनीहरूले २५ हजार रुपैयाँ बैना दिँदै भारतीय अपराधीलाई गुरुशरणको हत्या गर्ने
जिम्मेवारी सुम्पिए । कन्ट्रयाक्टअनुसार भारतीय नागरिक सिराहा आएर गुरुशरणको हत्या गरी
भारत फर्किए ।

……………
भारतको मुम्बई, दिल्ली, लखनउ हुँदै नेपाल प्रवेश गरेको व्यवसायिक अपराधको डरलाग्दो स्वरूप कन्ट्रयाक्ट किलिङ सबैभन्दा पहिले नेपालको तराई क्षेत्रमा प्रयोगमा आयो । तराईमा फैलिएको सीमावर्ती क्षेत्रका भारतीय अपराधीलाई ठेक्का दिएर आफ्ना प्रतिपर्धी सिध्याउने यो खेल अहिले अन्य भू–भागसम्म पुगिसकेको छ ।

भारतीय शहरबाट विस्तारित हुँदै नेपालको तराई छिरेको अपराधको यो डरलाग्दो शैली अहिले काठमाडौंमा पनि भित्रिसकेको छ । भारतीय क्षेत्रका व्यवसायिक अपराधीलाई ‘सुपारी’ दिएर हत्या गराउने यो शैली संगठित अपराधमा मात्र होइन, घरेलु झगडामा समेत प्रवेश गरिसकेको छ ।

काठमाडौंमा कन्ट्याक्ट किलिङको प्रयोग कुन तहसम्म भएको छ, छोरी र बाबुको यो घटनाले पुष्टि गर्छ :

२०७२ माघ २१ मा
काठमाडौंको टोखाको निर्माणाधीन पुलनजिकै एक अधबैंसे व्यक्तिको शव फेला पर्‍यो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरे । शवको घाँटी, टाउको, निधार, हात र छातीमा धारिलो हतियार प्रहार भएको देखिएपछि घटनास्थलको अवलोकनकै आधारमा प्रहरी ती अधबैसे पुरुषको हत्या भएको निष्कर्षमा पुग्यो र अनुसन्धान अगाडि बढायो । सोधखोज गर्दै जाँदा मृतक त्यहीका बासिन्दा माइला महर्जन भएको थाहा भयो । प्रहरीले घटनास्थलको मुचुल्कापछि शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाको अनुसन्धान थाल्यो ।

महर्जन घटनाको अघिल्लो दिन साँझ ६:३० तिर घरबाट निस्किएका थिए । उनको मोबाइलको कल रेकर्ड हेर्दा अन्तिम सम्पर्क उनकी २० वर्षीया छोरी संगीता पाण्डेसँग भएको देखियो । अनुसन्धानका क्रममा संगीताले परिवारको सहमतिबेगर २ वर्षअघि अन्तर्जातीय विवाह गरेको देखिएपछि प्रहरीले आफ्नो खोजतला संगीतातिरै केन्द्रित गर्‍यो ।

संगीता बाबुको मृत्युको शोकमा थिइन् । शंकाको भरमा यस्तो अवस्थामा थप चोट दिन चाहेन प्रहरीले र सामान्य सोधपुछ मात्र गर्‍यो, तर आशंका भने हटिसकेको थिएन । प्रहरी माइलाको १३ दिनको काम सकिने प्रतीक्षामा थियो ।

सूक्ष्म रूपमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले बाबुछोरीबीच पैसाको विषयमा विवाद भएको सुइको पायो । ब्युटिसियनको कोर्ष गरेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन् । श्रीमान्को आर्थिक हैसियत ब्युटीपार्लर खोलिदिन सक्ने नभएपछि उनी माइतीको शरणमा पुगेकी थिइन् ।

विवाह नगर भन्दाभन्दै भागे पनि माइतीपक्षले विस्तारै उनलाई स्वीकार गरिसकेको थियो । बाबुले जग्गा बेचेर भए पनि पैसा दिउँला त भने तर दिएनन् त्यसैले बाबु–छोरीबीच ठास्सठुस्स चलिरहेको थियो । प्रहरीको अनुसन्धान संगीता वरिपरि घुमे पनि सामान्य विवादमै छोरीले बाबुको हत्या गरिन् होला र ? प्रहरीमा आशंका कायमै थियो ।

महानगरीय प्रहरी अपराध महाशाशाखाले गत फागुन १२ मा माइलाको हत्यामा संलग्न ७ जनालाई गिरफ्तार गरेसँगै अनुसन्धानमा संलग्न प्रहरी छ्याङग भए । संगीता आफ्नै बाबुको हत्याको मुख्य योजनाकार थिइन् । पैसा नदिएको झोक फेर्न उनले संगठित आपराधिक समूहले अपनाउने कन्ट्रयाक्ट किलिङको शैली पच्छ्याउँदै कन्ट्रयाक्ट किलर प्रयोग गरेर बाबुको हत्या गराएको अनुसन्धानबाट प्रष्ट भयो ।

‘सुरुमा त आफ्नी छोरीले बाबुलाई मार्न यत्तिसम्म गर्न सक्छिन् र भन्ने लाग्यो,’ महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, ‘उनलाई दोस्रो पटक नियन्त्रणमा लिएर सोधपुछ गर्दा सबै कुरा सहजै स्वीकार गरेपछि हामी पनि छक्क पर्‍यौं ।’

माइला हत्यासम्बन्धी प्रहरी अनुसन्धान विवरणअनुसार ब्युटिपार्लर खोल्न ४ लाख नदिएपछि माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा माइतीका सबै सदस्यको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन् । कन्ट्रयाक्ट पाउनेहरूको जिम्मा थियो— उनका बाबु, आमा अनि दाइको समेत हत्या । परिवारका सबै सदस्यको मृत्युपछि टोखास्थित माइतीको सबै सम्पत्ति आफ्नो हुने भएकाले संगीताले यति क्रूर आपराधिक योजना बनाएको बताइन्छ ।

संगीताले माइतीका सबैको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन्– विक्रम तामाङलाई । तामाङले आफूसँग यो कामका लागि साथीहरू भएकाले तीनै जनाको हत्या गर्न सक्ने दाबी गर्दै ५० लाख मागेका थिए । बार्गेनिङ चल्दै जाँदा १० लाखमा डिल फाइनल भयो । योजनाअनुसार माघ २० मा संगीताले नै माइलालाई टोखाको स्टारटाउन नजिकै बोलाइन् । तामाङसँगै रहेका सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगर मिलेर ह्याम्मर, खुकुरी र चक्कुले माइलामाथि अन्धाधुन्ध प्रहार गरे ।

माइला कराएपछि विक्रमलगायतका आक्रमणकारीहरू भागे । उनीहरू भाग्दा माइला चलमलाइरहेका थिए । संगीता आफैंले ह्याम्मरले हानेर बाबुको चलमलाएको शरीरलाई शान्त बनाइन् । उक्त घटनामा यो प्रकृतिको अपराधको अनुभव नभएका सिकारुहरूको प्रयोग भएकाले उनीहरू पहिलो हत्यामै डराउँदा संगिताका आमा र दाजुको ज्यान जोगिएको थियो । संगीता बाबुको किरियाकर्म सकिएपछि दाइ र आमाको हत्याको ठेक्का लिनेहरूको खोजीमा लागेकै बेला पक्राउ परिन् ।

अवैध हतियार, लागूऔषध कारोबार तथा असुलीमा संलग्न ग्याङस्टारहरूले आफ्ना प्रतिस्पर्धी एवं दुस्मनको सफायामा प्रयोग गरिने अपराधको मोडल घरेलु समस्यामा प्रयोग हुनुलाई प्रहरी अधिकारीहरू समाज र जीवनशैलीमा देखिइरहेको द्वन्द्वलाई कारक बताउँछन् । इन्टरनेट तथा टेलिभिजनको सहज पहुँचका कारण सामान्य दुस्मनीमा पनि गम्भीर प्रकृतिको आपराधिक मोडल प्रयोग भएको उनीहरूको ठम्याइ छ ।

एसएसपी सर्वेन्द्र खनाल कन्ट्रयाक्ट किलिङलाई अपराधको व्यापारीकरणको गम्भीर रूप बताउँछन् । संगठित प्रकृतिको अपराधमा संलग्न र घरेलु प्रकृतिको विवादमा प्रयोग भएका कन्ट्रयाक्ट किलर अर्को अपराधमा प्रयोग हुनुअघि नै पक्राउ पर्ने गरेकाले यसले गम्भीर स्वरूप लिन नसकेको खनालको विश्लेषण छ । ‘यसको जरो तराईतिर देखिएको थियो । अब त्यो बिस्तारै ठूला सहरी क्षेत्रमा समेत फैलिएको छ,’ एसएसपी खनालले भने, ‘यो खतराको संकेत हो ।’

कन्ट्रयाक्ट किलर मनराज र प्रमेश
२०७१ चैत १ गते प्रहरीका लागि १२ वर्षदेखि गलपासो बनेको एउटा हत्याको केही गुत्थी सुल्झियो । घटना थियो, २०५९ असार ३१ मा रानीबारीमा मारिएका दम्पती हेमन्त र अञ्जली श्रेष्ठको । अनेक अनुसन्धान समिति, दर्जनौं पटकको पक्राउपछि पनि तामेलीमा बसेको फाइलको धूलो टकटक्याउँदै पुन: घटनाक्रम जोड्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो पटक विश्वसनीय तथ्यसहित पक्राउ गरेको थियो मनराज गुरुङ र प्रमेश चौहानलाई ।

काठमाडौंमा लोकल गुन्डाको पहिचानसहित सक्रिय मनराजको गिरफ्तारीसँगै प्रहरीले रानीबारी हत्यालाई कन्ट्रयाक्ट किलिङसँग लगेर जोडेको थियो । प्रहरीले संकलन गरेको प्रमाणकै आधारमा टेकेर काठमाडौं जिल्ला अदालतले घटनाको सुनुवाई बन्द इजलासमा गरायो र अहिले यी दुवै पुर्पक्षका लागि थुनामा छन् ।

ब्युरोको अनुसन्धान प्रतिवेदनअनुसार घटनाको मूल कारक यी दुवै बस्ने रानीबारीस्थित घरकी घरबेटी गीता खड्का हुन् । मनराज र प्रमेशले २ लाखमा गीताको हत्याको ठेक्का लिएका थिए । त्यही ठेक्का पूरा गर्न उनीहरू गीताको हत्याको तयारीसहित रानीबारीमा पुग्दा अवरोध देखिएका श्रेष्ठ दम्पतीको हत्या गरेर गीताको हत्या प्रयास गरेका थिए । घटनामा श्रेष्ठ दम्पतीको ज्यान गयो, गीता भने जोगिइन् । उक्त घटनाको अनुसन्धानमा मनराज र प्रमेश कन्ट्रयाक्ट किलर देखिए । उनीहरू संलग्न रहेको यो नै पहिलो हत्या घटना थिएन ।

रानीबारी हत्याको नौ महिनापछि गोलढुंगामा वैदेशिक रोजगारीसँग जोडिएकी लीला गिरी मारिएकी थिइन् । लीलाको हत्याको प्रकृति र रानीबारी हत्याको प्रकृति उस्तै देखिएपछि प्रहरीले रानीबारीको घटनालाई गोलढुंगाको घटनासँग जोड्दा सफलता प्राप्त गरेको थियो । गोलढुंगाको घटनामा प्रमेश र मनराज नै जोडिएका थिए । मनराज अदालतबाट निर्दोष ठहरिए, प्रमेश दोषी ठहरिएर जेल पुगे । लीलाको हत्याको अनुसन्धानमा यी दुवैले ६ लाख लिएर उक्त कर्म गरेको कुरा खुलेको थियो ।

घरेलु विवादमा कन्ट्रयाक्ट किलिङ
 २०६८ फागुन १ मा मोरङको लेटाङमा मारिएका राजमणि राईको हत्या उनकै जेठी श्रीमती सुन्दरीले ६ लाख रुपैयाँमा कन्ट्रयाक्ट दिएको खुलेको थियो । राईको हत्यामा उनकी छोरी सुभद्रासँगै अन्य पाँचजना युवा संलग्न थिए ।

 आफ्नै छोरी तथा श्रीमतीको योजनामा पूर्वसांसद सदरुल मिंया हकको हत्या भयो । हत्या अनुसन्धानका क्रममा श्रीमती नूरजहाँ खातुनको सहयोगमा छोरी रुवेला खातुनले आफ्ना प्रेमीमार्फत कन्ट्रयाक्ट किलर प्रयोग गरी मियाँको हत्या गराएको रहस्योद्घाटन भएको थियो । अहिले ती दुवै आमा–छोरी जन्मकैद भोगिरहेका छन् ।

२०६६ फागुन १७ मा जनकपुरमा भएको सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या सञ्जय साहले कन्ट्रयाक्ट किलर प्रयोग गरी गराएको बताइन्छ । यो घटनामा सुटर मनक लामा पक्राउ परिसकेका छन् । जनकपुरमा धर्नास्थलमा बम पड्काउनसमेत साहले मुकेश चौधरीलाई पैसा दिएर प्रयोग गरेको कुरा खुलेपछि अहिले साह जेलमा छन् ।

तीन वर्षअघि सप्तरीमा अन्तर्जातीय विवाह गरेको रिसमा आफ्नै बाबुले १० हजार दिएर छोरीको हत्या गराएको घटना सार्वजनिक भएको थियो । कन्ट्रयाक्ट किलर मार्फत छोरीको हत्या गराएको अभियोगमा सप्तरीको बथनाहा गाविसका चन्दर राउत तथा १० हजारमा कन्ट्रयाक्ट लिने किलर मोहन साह अहिले जेलमा छन् ।

२०७१ मंसिर १३ मा मोरगंमा छत्रबहादुर कटुवालको हत्यामा उनकै श्रीमती देउमायाले ५० हजार दिएर कन्ट्रयाक्ट किलर प्रयोग गरेकी थिइन् । जग्गा आफ्नो बनाउन जयबहादुर तिम्सिना तथा सुरज लिम्बूलाई ५० हजारको सुपारी दिएर उक्त हत्या गराइएको बताइन्छ ।

 २०७१ असार १९ मा १५ लाखमा कन्ट्रयाक्ट किलर प्रयोग गरी सौतेनी आमाको हत्या गर्ने योजना बनाएको अभियोगमा ऋचा धमला पक्राउ परेकी थिइन् । ऋचामाथि कन्ट्रयाक्ट किलर प्रयोग गरेर ममता घिमिरेको अपहरण र हत्याको योजना बनाएको अभियोग लागेको थियो ।

हाइप्रोफाइल कन्ट्रयाक्ट किलिङ

२०५५ असार १५ मा काठमाडौंको सिफलमा मारिए तत्कालीन सांसद मिर्जा दिलसाद वेग । नेपालमा गम्भीर र संगठित कन्ट्रयाक्ट किलरे प्रयोग भएको पहिलो घटना यही हो । उक्त हत्यामा सहयोगीका रूपमा केही नेपाली प्रयोग भए पनि कन्ट्रयाक्ट दिने व्यक्ति खुंखार भारतीय अपराधी थिए । मिर्जा हत्याको कन्ट्रयाक्ट भारतीय अन्डरवल्र्ड डन छोटा राजनले दिएका थिए ।

त्यसपछि करिब ९ वर्ष हाई प्रोफाइल मर्डरका कुनै पनि घटना सार्वजनिक भएनन्, तर २०६३ मा मध्यबानेश्वरमा मारिएका कमलसिंह नेपालीसँगै त्यसको श्रृंखला सुरु भयो । २०६६ माघ २६ मा लाजिम्पाटमा जमिम साह मारिए । अनुसन्धानमा साहको हत्याको कन्ट्रयाक्ट बब्बु सिंहले लिएको पत्ता लाग्यो । २०६७ फागुन २६ मा केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीमाथि गोली प्रहार भयो । उनको ज्यान जोगियो र सुटर मनमित सिंह भाटिया पक्राउ परेपछि उनले युनुसको हत्याको सुपारी लिएको रहस्योदघाटन भयो ।

२०६८ असोज ९ मा इस्लामिक संघका महासचिव फैजान अहमद मारिएपछि उनको हत्याको कन्ट्रयाक्टर अमिल पल आदि देखिए । २०७० पुस १७ मा बारामा आफताव आमल अन्सारीको हत्या भयो । उक्तहत्यामा संलग्न सुटर सिमा पार गर्न सकेनन् र पक्राउ परे । पक्राउ पर्नेमा सुटर रवि पाण्डे तथा विपिन यादव थिए । अनुसन्धानमा उनीहरू रवि फैजानको हत्याका सुटर समेत रहेको खुलेको थियो ।

यी सबै हाइप्रोफाइल कन्ट्रयाक्ट किलिङमा नेपाली नागरिक सहयोगीका रूपमा परिचालित देखिए भने योजनाकार र सुटर सबै भारतीय । हत्यामा संलग्न नेपाली नागरिक, युनुसको हत्या प्रयास एवं आफतावको हत्यामा संलग्न सुटर पक्राउ परे पनि अरु सबै भारतीय कन्ट्रयाक्ट किलर फरार छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com