न्युयोर्क सिटीमा नेपालको झण्डा फहराउँदै मेयर आडम्सले भने -‘नेपाली समुदायप्रति गर्व गर्छु’


प्रकाशित मिति : आश्विन ५, २०८० शुक्रबार

संसारको ब्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व ब्यापारिक केन्द्रको आगन वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराएका छन् । न्युयोर्क सिटीका नेपाली समुदायले पहिलो पटक न्युयोर्क सिटीमा गर्वका साथ मेयर आडम्सले नेपालको अनुपम झण्डा फहराएको देखेर इतिहास रचेका छन् । कार्यक्रम न्युयोर्क सिटी मेयरको कार्यालय, बलिंग ग्रिन पार्क एसोसिएसन, माइनोरिटी इम्पावरमेन्ट, नेपाली महावाणिज्य दूतावास न्युयोर्क र धेरै नेपाली सामुदायिक संस्थाहरूको संलग्नतामा एकता र सांस्कृतिक गौरव देखाउने सामुहिक प्रयास थियो।

माइकल एप्पलटन / मेयरल फोटोग्राफी कार्यालय

कार्यक्रममा बोल्दै मेयर एरिक आडम्सले नेपाली समुदायले न्युयोर्क सिटी र अमेरिकामा गरेको योगदानका लागि धेरै धेरै धन्यवाद दिए । उनले भने – ‘हामीलाई थाहा छ कि नेपालबाट आएको ठूलो नेपाली समुदाय न्युयोर्क सिटीमा बस्दै आएको छ । न्युयोर्क सिटीको नेपालको झण्डा फहराउनु कति महत्वपूर्ण छ भन्ने कुराको महत्वबोध गर्न पाएकोमा म न्युयोर्कको सिटीको ११० औं मेयरको हैसियतमा गर्व गर्दछु । म नेपाली समुदायलाई योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’

माइकल एप्पलटन / मेयरल फोटोग्राफी कार्यालय

न्युयोर्क सिटीमा विविधताको महत्व कति छ भन्ने कुरा देखाउन सफल भएको भन्दै उनले नेपाली समुदायलाई धन्यवाद दिए । उनले भने – ‘तपाई एकैछिन यो क्षणको बारेमा सोंच्नुहोस् । अमेरिका विश्वमा एउटामात्र त्यस्तो देश हो, जहाँ तपाईले नयाँ भूमी अँगाल्दा पनि तपाईको सम्पदालाई नत्याग्न भनिन्छ । तपाईले आफ्नो पहिचान दिंदा पनि नेपाली अमेरिकनका रुपमा दिनुहुन्छ । जसरी मैले अफ्रिकन अमेरिकनका रुपमा दिन्छु । पोलिस अमेरिकन, जर्मन अमेरिकन, चाइनिज अमेरिकन, जापानिज अमेरिकन लगायत हरेक आप्रवासीका पछाडि आफ्नो देशको पहिचान जोडिएको हुन्छ । यसरी जोडिदा तपाईको मातृभूमि र संस्कृति सुरुमा जोडिएर आउँछ । जसका कारण तपाईले अमेरिकालाई माया गरिरहँदा पनि आफू जन्मेको वा आफ्नो मूल भएको देशको पहिचानलाई त्याग्नु पर्दैन ।’

माइकल एप्पलटन / मेयरल फोटोग्राफी कार्यालय

मेयर आडम्सले अगाडि भने – ‘हामी तपाई हाम्रा सबै संस्कृतिको समावेशीता सँगै ल्याउन चाहन्छौं । र हामी विविधताको यो अदभुत प्रयोग उत्पादन गर्दछौं र हामी एकतामा सँगै बस्छौं । न्युयोर्क सिटीमा नेपाली समुदायको ठूलो योगदान छ । तपाईहरु फस्ट रेस्पोण्डर हुनुहुन्छ, व्यवसायी हुनुहुन्छ, हाम्रो शिक्षाको भाग हुनुहुन्छ । तपाईहरु न्युयोर्क सिटीको संरचना र जगको भाग हुनुहुन्छ । तपाईहरु परिवार, आस्था, सुरक्षा र व्यवसायका साथै यो देशको महानतामा विश्वास गर्नुहुन्छ । त्यसैले म आज नेपालको झण्डा फहराउन पाउँदा गर्वको अनुभव गर्छु । हामी नेपाली समुदाय अमेरिकाका अभिन्न अंग भएकोमा गर्व गर्दै झण्डा फहराउछौं । हाम्रो गोप्य हतियार नै विविधता हो । जबसम्म हामी त्यो विविधताको कदर गर्दछौं, हामी अमेरिकी सपनाको हिस्सा बन्दै अगाडि बढ्न जारी राख्नेछौं ।’

माइकल एप्पलटन / मेयरल फोटोग्राफी कार्यालय

मेयर आडम्सले अमेरिकी झण्डाको समान उचाई र हैसियतमा नेपालको झण्डा फहराएका छन् । पहिले अमेरिकाको झण्डा फहराएपछि उनले सँगै रहेको समानान्तर पोलमा नेपालको झण्डा फहराएका थिए । यो झण्डा अबको केहीदिन सम्म न्युयोर्क सिटीको अत्यन्तै महत्वपूर्ण फाइनान्सियल डिस्ट्रिक्टमा फहराइरहनेछ । हरेक दिन हजारौं पर्यटकहरुले भ्रमण गरेर तस्वीर खिच्ने चार्जिङ बुल अगाडि यो झण्डा आगामी केहीसातासम्म फहराउने छ ।

फोटो : आर्थर पिकोलो

झण्डा फहराउने उक्त कार्यक्रम माइनोरिटी इम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधरको मन्तव्यबाट सुरुवात भएको थियो । उनले आफू न्युयोर्क सिटीभन्दा बस्न मन लाग्ने अर्को ठाउँ नभएको उल्लेख गर्दै आफ्नो कथा सुनाइन् । विजय नकर्मी द्वारा कोरियोग्राफीमा बसन्त डान्सरहरुदे मनमोहक सांस्कृतिक नृत्य प्रस्तुतिको साथ कार्यक्रम अगाडि बढेको थियो । त्यसपछि गेमी टकसेरा सोसाइटीले ढोल बजाएर उत्साहजनक प्रदर्शन गर्दा समुदायका सदस्यहरू तालमा रमाए । बलिङ ग्रीन पार्क एसोसिएसनका अध्यक्ष आर्थर पिकोलोले यस पार्कमा सन् १९९६ देखि नै झण्डा फहराइदै आएपनि अहिलेसम्म फहराएको अद्वीतीय र फरक झण्डा नेपालको रहेको उल्लेख गरे ।

न्युयोर्क सिटी मेयर कार्यालयका अन्तर्राष्ट्रिय मामिलाका डेपुटी कमिश्नर दिलीप चौहानले नेपाली समुदायका लागि यो क्षण गौरवको क्षण भएको बताए । उनले कार्यक्रमको आयोजनामा ​​अग्रपंक्तिमा रहेर सहयोग गरेका थिए ।

फोटो : आर्थर पिकोलो

कार्यक्रममा आप्रवासी मामिलाको कार्यालयका कमिश्नर म्यानुअल क्यास्ट्रोले नेपाली समुदायमा थप सक्रिय हुन इच्छा व्यक्त गरे ।

फोटो : आर्थर पिकोलो

 

मेयरको अन्तर्राष्ट्रिय मामिला कार्यालयका कमिश्नर एडवर्ड मर्मेलस्टिनले नेपाली समुदायलाई झण्डा फहराउने समारोहका लागि बधाई दिए ।

फोटो : आर्थर पिकोलो

मेयरको आपतकालीन सेवा कार्यालयका कमिश्नर जैच इस्कोलले आफ्नो बुबा र उनकी दिवंगत आमाले नेपालमा विवाह गरेको र नेपालसँगको सम्बन्ध गहिरो भएको तथा आफू नेपालमा नै आमाको गर्भमा बसेको कथा सुनाए ।

फोटो : आर्थर पिकोलो

यो कार्यक्रम आफ्नी आमाले पनि देख्न पाएको भए निकै खुशी हुने मन्तव्य व्यक्त गर्दा उपस्थीतहरु भावुक भएका थिए ।

फोटो : आर्थर पिकोलो

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । न्युयोर्क राज्य संसदकी सांसदहरु जेनिफर राजकुमार र स्टीवन रागा, न्युयोर्क सिटी काउन्सिल सदस्य जुली वोन लगायतले नेपाली समुदायलाई बधाई दिदै मन्तव्य राखेका थिए । जेनिफर राजकुमारको पहलमा नेपाली समुदायको सम्मानमा विगतमा पनि न्युयोर्कले नेपाल डे, माउन्ट एभरेष्ट डे लगायतका दिवसहरु पारित गरिसकेको छ । उनले नेपाली समुदायलाई आफ्नो आवाज सुन्न र उत्साहका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरिन् । उनले मेयरसँग यस वर्ष दीपावलीलाई स्कूल बिदाको रूपमा समावेश गर्न मद्दत गरेको समेत उल्लेख गरिन् ।

फोटो : आर्थर पिकोलो

त्यस्तै राज्य सांसद स्टीवन रागाले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो नेपाली समुदाय र नेपाली व्यवसायहरु उल्लेख गर्दै आफू सधै नेपाली समुदायलाई सहयोग गर्न उत्सकु रहेको बताए ।

फोटो:  प्रदीप परियार थापा/ नेपालिज्म

जुली वोनले जय नेपालको नारा लगाउँदै दर्शकलाई उत्साहित बनाइन् ।

फोटो : आर्थर पिकोलो

कार्यक्रममा कानुन व्यवसायी खगेन्द्र जिसीले ३० वर्षअघि जागिर खोज्दै वाल स्ट्रीटमा जाँदा त्यहाँका मानिसहरूलाई नेपाल भनेको थाहा नभएको तर अहिले त्यही वाल स्ट्रीटमा नेपालको झण्डा फहराउन पाउँदा गर्व लागेको बताए ।

फोटो:  प्रदीप परियार थापा/ नेपालिज्म

माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका अध्यक्ष श्याम कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्कीको कडा परिश्रम र प्रयासको लागि समुदायले उनको प्रशंसा गरेको छ।

फोटो : आर्थर पिकोलो

कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले यस ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै अमेरिकामा रहेको नेपाली समुदायलाई बधाई दिए ।

फोटो : आर्थर पिकोलो

उनले मेयर आडम्सलाई गैडा उपहार समेत दिएका थिए ।

कभर फोटो:  प्रदीप परियार थापा/ नेपालिज्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com