न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित


प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार

न्युयोर्कमा नेपाली सामुदायिक मिडियाका ९ प्रधानसम्पादकहरु सम्मानित भएका छन् । तारा किशन फाउण्डेशनले शनिबार उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा खसोखासका प्रधानसम्पादक किशोर पन्थी, नेपालिजमका प्रदिप परियार थापा, टिभी सन्डेका किरण मरहट्टा, विश्वसन्देशका योगेश आदि, नेपालयका विष्णुप्रसाद पौडेल, टुटुल्कोका ज्योतिकुमार श्रेष्ठ, रुपान्तरणका अकुर लुईटेल, मकै हाउसका खडग पुलामी र विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा रहेका छन् । अमेरिकामा औपचारिक दर्ता भई संचालित संचालित संचारमाध्यमका संचालक र प्रधान सम्पादकहरुलाई भाषा साहित्यमा दिएको योगदानका कारण सम्मान गरिएको आयोजकले बताए ।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्य र तारा किशन फाउण्डेशनकी अध्यक्ष तारा धामीको अध्यक्षतामा भएको कार्यक्रममा देउडा गायक शंकरसिंह विष्ट र गायिका चाँदनी विष्टलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा २१ जना संचारकर्मीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेपनि न्युयोर्क क्षेत्र बाहिरका प्राय संचारकर्मीहरु भने कार्यक्रममा उपस्थीत हुन सकेनन् ।

नेपाली समुदायमा सकृय संचारमाध्यम र संचारकर्मीहरुले नेपाली भाषाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको र उक्त योगदानको कदरस्वरुप सम्मान कार्यक्रम गरिएको तारा किशन फाउण्डेशनका प्रमुख सल्लाहकार किशन धामीले बताए । सम्मानित हुने संचारकर्मीहरुका तर्फबाट बोल्दै विश्व परिक्रमाका गोविन्द गिरी प्रेरणा, खसोखासका किशोर पन्थी र टुटुल्कोका ज्योतिकुमार श्रेष्ठले यो सम्मानले थप जिम्मेबारीबोध गराएको बताए । कार्यक्रमको संचालन साहित्यकार शकुन ज्ञवालीले गरेकी थिइन् ।

कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने बाल कलाकारहरुले नेपाल र अमेरिकाको राष्ट्रिय गान प्रस्तुत गरेका थिए । कार्यक्रममा देउडा नाच, गौरा नाच र तीजका गीतहरु समेत प्रस्तुत गरिएको थियो । तारा किशन फाउण्डेशनले यस अगाडि पनि न्युयोर्कमा विभिन्न साहित्यिक र सांस्कृतिक कार्यक्रमहरु गरिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com