न्युयोर्क क्षेत्रको समुन्द्रको पानीमा मान्छेको मासु खाने ब्याक्टेरिया, तीनको मृत्यु, सचेत रहन चेतावनी


प्रकाशित मिति : भाद्र १, २०८० शुक्रबार

a person walking on a beach

न्युयोर्क राज्यका अधिकारीहरूले मान्छेको मासु खाने ब्याक्टेरियाका बारेमा बासिन्दाहरूलाई सावधान गराएका छन् । यो ब्याक्टेरियाले हालै ३ जनाको ज्यान लिइसकेको छ ।

राज्यको स्वास्थ्य विभागले एक प्रेस विज्ञप्ति जारी गरी बासिन्दाहरूलाई मान्छेको मासु खाने ब्याक्टेरिया कसरी पहिचान गर्ने भन्नेबारे सल्लाह दिएका छन् । भाइब्रियो भल्निफिकस ब्याक्टेरियाबाट तीन जना संक्रमित भएको र ब्याक्टेरियाले एकजना न्युयोर्क निवासी र दुईजना कनेक्टिकट बासिन्दाको ज्यान लिएको अधिकारीहरुले बताएका छन् ।

यो ब्याक्टेरियाका कारण छाला बिग्रने र अल्सर निम्त्याउने हुन्छ । यो ब्याक्टेरिया प्रशोधन नगरिएको शेलफिश वा समुद्रको पानीमा पाइन्छ। दुर्लभ भए पनि भाइब्रिओ ब्याक्टेरिया दुर्भाग्यवश न्युयोर्क क्षेत्रमा आइपुगेको र असाधारण रूपमा खतरनाक हुन सक्ने गभर्नर क्याथी होकुलले एक विज्ञप्तिमा बताएकी छिन् ।

गभर्नर क्याथी होकुल

थप अनुसन्धान गर्दा सबै न्यूयोर्कवासीहरू सतर्क रहन र आफू तथा आफ्ना प्रियजनहरूलाई सुरक्षित राख्न जिम्मेवार सावधानीहरू अपनाउनु महत्त्वपूर्ण भएको देखिएको उनले बताएकी छिन् । समुद्री पानीबाट खुला घाउहरू जोगाउन र प्रतिरक्षा प्रणाली कमजोर भएकाहरु विशेष सावधान रहन चेतावनी दिइएको छ । काँचो वा आधा पकाएको शेलफिशहरू नखान वा सम्पर्कमा नआउन समेत चेतावनी दिइएको छ ।

होकुलले ब्याक्टेरिया प्राकृतिक रूपमा नुनिलो पानीको तटीय वातावरणमा हुने र सामान्यतया मौसम तातो हुँदा मे देखि अक्टोबर सम्म फेला पार्न सकिने बताएकी छिन् ।
स्वास्थ्य विभागले कमजोर प्रतिरक्षा प्रणाली भएका बासिन्दाहरूलाई ब्याक्टेरिया बोक्न सक्ने ओइस्टर जस्ता काँचो वा कम पकाएको शेलफिस नखान चेतावनी दिएको छ ।

भाइब्रोसिस रोक्न मद्दतको लागि काटिएको वा चिथोरिएको जस्ता घाउ भएका मानिसहरू, भर्खरै अंगहरु छेंडेका वा ट्याटु बनाएकाहरुले उक्त भागमा समुद्रको पानी नपार्न चेतावनी दिइएको छ । त्यस्ता घाउहरु वाटरप्रूफ ब्यान्डेजले छोप्न समेत सुझाव दिइएको छ । काँचो शेलफिश ह्यान्डल गर्दा पन्जा लगाउन र काम सकिएपछि साबुन र पानीले राम्ररी हात धुन चेतावनी दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com