प्रमोद विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ फिल्म फेस्टिभलमा


प्रकाशित मिति : श्रावण २७, २०८० शनिबार

नेपाली युवा प्रमोद तिरुवाल विश्वकर्माले निर्देशन गरेको सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ न्युयोर्कका ३ वटा फिल्म फेस्टिभलमा छनोट भएको छ । फिल्ममा प्रविधिको सही प्रयोग नगर्दा कसरी नराम्रो असर पार्न सक्छ भन्ने सन्देश दिइएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी प्रमोदले न्युयोर्कको लेहमन कलेजमा फिल्ममा ब्याचलरपछि यो सर्ट फिल्मको निर्देशन गरेका हुन् । उनले ओमराज राउतसँग मिलेर लेखेको यो फिल्ममा ओमको अभिनय समेत रहेको छ । ओमले पनि न्युयोर्कमा थिएटरमा ब्याचलर गरेका छन् भने धेरै नाटकमा पनि भाग लिएका छन् ।

ओम फिल्ममा जोनको भूमिकामा छन् । फिल्मको कथामा जोन एक लेखक हुन् । उनको लक्ष्य आफ्नो पहिलो उपन्यास लेखेर प्रकाशित गर्ने हो।फोन विशेष गरी सामाजिक सञ्जालको लतका कारण उनी आफ्नो लक्ष्यबाट टाढा हुँदै जान्छन् । र अन्त्यमा फोनले उनलाई आफैभित्र लैजान्छ । र उनलाई बाहिर निस्कन दिदैन। फिल्ममा यो जादुमय र प्रतिकात्मक रुपमा देखाइएको छ ।

यो फिल्म न्युयोर्क लिफ्ट अफ फिल्म फेस्टिवल, एफ्रोडाइट फिल्म अवार्ड, स्टुडेण्ट वर्ल्ड इम्प्याक्ट फिल्म महोत्सव स्वीफमा छनौट भएको हो । स्वीफमा भने चलचित्र क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो । महोत्सवले सम्पूर्ण टिमलाई बधाई दिँदै चलचित्र करियरको उज्ज्वल भविष्यको कामना गरेको  छ ।

फिल्मलाई ओमको आफ्नै निर्माण कम्पनी ‘न्यू इन्भिजन प्रोडक्सन’ ले निर्माण गरेको हो भने बबी लोहट फिल्म प्रोडक्सनले सह–निर्माता गरेको हो । बब् फिल्मका लागि साउन्ड डिजाइनर छन् ।

आफूलाई सानैदेखि कला र चलचित्रमा धेरै रुचि रहेकाले यस क्षेत्रमा लागेको तथा विशेषगरी आफूले सामाजिक मुद्दामा आधारित कथा देखाउदै कथा कथनको शैली परिवर्तन गरेर योगदान गर्न चाहेको उनले बताए । अहिले एउटा नेपाली फिचर फिल्मको लागि लेखन कार्यमा काम गरिरहेको उनले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com