एक्सक्लुसिभ: क्यालिफोर्निया राज्य सरकारसँग भएको ९३ हजार डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको


प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार

क्यालिफोर्निया राज्य सरकारसँग भएको झण्डै ९३ हजार अमेरिकी डलर पूर्व अधिराजकुमार धिरेन्द्र शाहको भएको खुलासा भएको छ । शाहको नाममा रहेको ९३ हजार ४ सय ३४ डलर २७ सेन्टस (अहिलेको विनियमदर अनुशार झण्डै १ करोड २५ लाख ) क्यालिफोर्निया राज्य नियन्त्रकको खातामा रहेको खसोखासले फेला पारेको छ । यो रकम धिरेन्द्र शाहका उत्तराधिकारी, अधिकारप्राप्त व्यक्ति वा सरकारले दावी गरेर लिनसक्ने भएपनि अहिलेसम्म कसैले पनि नलिएको देखिएको छ ।

धिरेन्द्र शाहले सन् १९८६ मा अमेरिका आएको बखत अमेरिकाको बैंक अफ अमेरिकाको सानफ्रान्सिस्कोमा रहेको मुख्य कार्यालयमा बैंक एकाउन्ट खोलेका थिए । त्यतीबेला उनले १ लाख डलर राखेर बैंक एकाउन्ट खोलेतापनि बाँकी रकम भने अमेरिका बसाईका क्रममा खर्च गरेका थिए । तर उनी नेपाल फर्केपछि उक्त बैंक खातामा कुनै गतिविधि नभएपनि बैंकले उक्त खाता बन्द गरेर राज्यको कन्ट्रोलरलाई रिपोर्ट गरेको थियो ।

सीपीआईको प्रयोग गरेर हिसाब गर्दा सन् १९८६ मा ९३ हजार डलर हुनु भनेको अहिले झण्डै २ लाख ४० हजार डलर हुनु बराबर हो ।

कुनै पनि बैंक एकाउन्टहरु तीनबर्षसम्म निस्कृय भएमा उक्त एकाउन्ट बन्द गरेर राज्यको कन्ट्रोलरलाई रिपोर्ट गर्ने प्रावधान अनुरुप बैंक एकाउन्ट बन्द गरिएको बैंक अफ अमेरिकाले जनाएको थियो । सन् १९९४ को जुन २ मा धिरेन्द्र शाहले आफ्नो बैंक एकाउन्टमा रहेको रकम दावी गर्दै बैंक अफ अमेरिकालाई नेपालबाटै ९७७ १ ४१०६५५ नम्बरबाट फ्याक्स पठाएका थिए ।

त्यसपछि बैंक अफ अमेरिकाले उनलाई सन् १९९४ को जुन ९ मा फ्याक्सको जवाफ पठाएको थियो । फ्याक्समार्फत जवाफ दिने बैंकको नीति नभएपनि अत्यावश्यक अवस्थालाई मध्यनजर गर्दै एकपटकका लागि फ्याक्स मार्फत नै जवाफ पठाएको उल्लेख गर्दै बैंकले खाता बन्द गरेर क्यालिफोर्निया राज्य कन्ट्रोलरमा रिपोर्ट गरिएको बताएको थियो । बैंकको रेकर्ड अनुशार सन् १९९१ को फरबरी २८ मा बैंक अफ अमेरिकाले खाता बन्द गरेर कन्ट्रोलर समक्ष रिपोर्ट गरेको थियो ।

तीनबर्षसम्म लगातार खाता निस्कृय रहेमा खाता बन्द गरेर कन्ट्रोलरमा रिपोर्ट गरिने कानून रहेको उल्लेख गरिएकोमा धिरेन्द्र शाहले १९८८ देखि नै उक्त खाता चलाउन छाडेको देखिएको छ । त्यतीबेला राज परिवारका सदस्यहरुले विभिन्न देशमा बैंक खाताहरु खोल्ने प्रचलन भएकाले सम्भवत उनले अमेरिकामा खोलेको उक्त बैंक एकाउन्ट विर्सेको हुनसक्छन् ।

बैंक अफ अमेरिकाको जवाफपछि धिरेन्द्र शाहले क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयमा सम्पर्क गरेका थिए । क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयले उनलाई सन् १९९५ को जुलाई १४ मा जवाफ पठाएको थियो । त्यसपछि शाहले २ अगस्त १९९५ मा आफ्नो पासबुकको प्रतिलिपी समेत समावेश गरेर रकम दावी गर्दै राज्य कन्ट्रोलरको कार्यालयमा पत्र पठाएका थिए । उनले त्यतीबेला हङकङमा रहेका आफ्ना साथी पुरुषोत्तम दास गोयलको हङकङको खातामा रकम पठाउन अनुरोध गर्दै त्यसको रेकर्ड आफ्नो फ्याक्स नम्बर ९७७ १ ४१०६६५ पठाउन कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

शाहले त्यतीबेला आफ्नो ठेगानामा काठमाडौंको पोष्टबक्स नम्बर १९७१ प्रयोग गरेका थिए भने अमेरिकाको बैंक खातामा भने मोन्ट गोमेरी स्ट्रीटको पोष्ट बक्स नम्बर ३७००१ प्रयोग गरेका थिए । बैंक अफ अमेरिकामा उनको बैंक एकाउन्ट नम्बर भने ००३३४ ३३८८७ रहेको थियो । धिरेन्द्र शाहले आफ्नो साथीको एकाउन्टमा रकम पठाउन आग्रह गरेपनि सम्बन्धित व्यक्तिबाहेक अरुको खातामा रकम पठाउन नमिल्ने नीति अनुरुप उक्त रकम राज्य सरकारले रिलिज गरेको थिएन ।

सन् २००१ को जुन १ मा दरबार हत्याकाण्डमा धिरेन्द्र शाहको ५१ बर्षको उमेरमा मारिएपछि उनको रकम अहिलेसम्म पनि क्यालिफोर्निया राज्य सरकारको खातामा नै रहेको छ । उनका छोरीहरुले उक्त रकम दावी गर्न सक्ने भएतापनि अहिलेपनि कसैले पनि सफलतापूर्वक दावी गर्न भने सकेका छैनन् । नेपाल सरकारले पनि उक्त रकम सफलताका साथ दावी गर्न सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com