चारजना चढेको मोटरसाइकल ठोक्कियो, तीनजनाको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार

सुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको प्रहरी उपरीक्षक राईले बताए ।
गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको राईले बताउनुभयो । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com