ट्रकमा कोचेर मेक्सिकोहुँदै ल्याइएका १७ जनाको टेक्सासमा उद्दार


प्रकाशित मिति : श्रावण ३१, २०७४ मंगलबार

मेक्सिकोको सिमा जोडिएको दक्षिणी टेक्सासको एडिनबर्गमा रेष्ट स्टपमा पार्क गरिएको एउटा ट्रकभित्र प्रहरीले १७ जना कागजपत्रविहिन आप्रवासीहरु फेला पारेको छ । उनीहरुलाई ट्रकको डिब्बामा कोचेर मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिकामा छिराइएको थियो ।

जुलाईको अन्तिम साता सान अन्टोनियोमा ९० जना आप्रवासीहरुलाई कोचेर ल्याइएको ट्रकमा १० जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै यो नयाँ घटना सार्वजनिक भएको हो । आइतबार एडिनबर्गमा ट्रकभित्र भेटिएकाहरुमध्ये १४ जना पुरुष र ३ जना महिला रहेका छन् । ट्रक फ्लाइन जे ट्राभल प्लाजामा पार्क गरिएको अवस्थामा भेटिएको थियो ।

एकदमै तातो ट्रकभित्र आफ्ना आफन्तहरु कोचेर राखिएको र उनीहरुको जीवन नै जोखिममा रहेको भन्दै कसैले मेक्सिकोबाट प्रहरीलाई फोन गरेपछि प्रहरीले त्यहाँ पुगेर उद्दार गरेको हो । उद्दार गरिएका सबै १७ जना जीवितै रहेका छन् । उनीहरु ग्वाटेमाला, होण्डुरस, मेक्सिको, रोमानिया लगायतका देशका नागरिक रहेको जनाइएको छ ।

ट्रकका दुईजना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजना क्युबाका नागरिक रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com