नागरिकता ऐनमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खुल्यो एनआरएन नागरिकता लिने बाटो


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गैर आवासीय नेपाली नागरिकता लिने बाटो खुलेको छ । नागरिकता ऐनसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

बिहीबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको छ । अब राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता ऐन कार्यन्वयनमा यसअघि लागेको रोक हटेको छ ।

अघिल्लो संसदबाट पारित भएर प्रमाणीकरणका लागि पठाएको विधेयक पछिल्लो संसद र त्यसबाट निर्वाचित राष्ट्रपतिले प्रमाणीकरण गरेको कारण त्यो कानुनसँग बाझिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा डा. सुरेन्द्र भण्डारीले रिट दायर गरेका थिए । उक्त रिटमा यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

बिहीबार अल्पकालीन अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा भएको सुनुवाइमा न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । अब नागरिकता ऐनका आधारमा नगरिकता पाउन योग्य भएकाहरुले नागरिकता प्राप्ति गर्ने बाटो खुलेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीले पाउने एनआरएन नागरिकता के हो ?

नागरिकता ऐनमा  गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान रहेपनि राजनीतिक अधिकार भने दिइएको छैन ।

गैरआवासीय नेपाली नागरिकताको व्यवस्था नेपालको संविधानले नै गरे अनुरुप नागरिकता ऐनमा समेटिएको हो । नागरिकता ऐनमा विदेशको स्थायी बासिन्दा भएका नेपालीहरूलाई नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता उपलब्ध गराउने विषय समेटिएको छ ।

तर उनीहरुलाई राजनीतिक दलमा संलग्न हुने वा मतदान गर्नेजस्ता क्रियाकलापमा सहभागी हुने अधिकार भने हुनेछैन । गैरआवासीय नागरिकताका लिन चाहने व्यक्तिका बुबा वा आमा र हजुरबुबा वा हजुरआमा नेपाली नागरिक हुनुपर्ने र सम्बन्धित व्यक्तिले पहिले नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण आवश्यक पर्ने जनाइएको छ।

त्यस्तै विदेशी मुलुकको नागरिकता लिएको प्रमाण र दक्षिण एशियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण पेस गरेपछि गैरआवासीय नागरिकता पाइने उल्लेख छ।

कसैले झुट्टा विवरण दिई गैरआवासीय नेपाली नागरिकता लिएमा तीन महिनादेखि एक वर्षसम्म कैद वा पच्चीस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ । झुट्टो वितरण दिई गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता स्वतः रद्द हुनेछ ।

एनआरएन नागरिकताका लागि अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु योग्य

अमेरिकामा बस्ने झण्डै ७५ हजार नेपाली अमेरिकनहरु एनआरएन नागरिकताका लागि योग्य  छन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट एनआरएन नागरिकता प्राप्त गर्न सक्नेछन् । यसमा एनआरएनबाट अमेरिकामा जन्मेकाहरुको संख्या समावेश छैन ।

अहिलेसम्म अमेरिकामा झण्डै ७५ हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् । ग्रिनकार्डवाहकको संख्या भने १ लाखभन्दा धेरै रहेको छ, जो या त अमेरिकी नागरिकताका लागि योग्य भएका छैनन् या त अमेरिकी नागरिकताका लागि योग्य भएपनि नागरिकता लिएका छैनन् ।

सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ५ हजार ७ सय ९४ र सन् २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए । आर्थिक बर्ष २०२२ र २०२३ को तथ्यांक समेत जोड्दा ७५ हजार नेपालीले अमेरिकन नागरिकता लिइसकेका छन् ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

२०१५ सम्म २५ हजार नेपालीलाई अमेरिकी नागरिकता

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

विवादित विषय के के हुन् ?

ऐनमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई केही समय परिचयपत्र मात्र दिएर सात वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था राख्नुपर्ने राज्य व्यवस्था समितिको प्रस्तावविपरीत तत्कालै नागरिकता दिने व्यवस्था राखिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका हुन् । त्यस्तै कतिपय प्रावधानले महिलाको आत्मसम्मानमा ठोस पुर्‍याउन सक्नेतर्फ पनि आवाज उठाइएको छ ।

ऐनले नेपालको नागरिक रहेकी आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। तर बाबु नभएको वा नखुलेको तथ्य स्थापित गर्दा पेस गर्नुपर्ने विवरणहरूमा महिलालाई आत्मसम्मानमा ठेस पुग्ने प्रश्नहरू गरिने भन्दै कतिपयले विरोध जनाएका छन्।

बुबा नेपाली नागरिक भए आमा विदेशी भए पनि सन्तानलाई वंशजको नागरिकता दिने तर बुवा विदेशी नागरिक भए सन्तानलाई अङ्गीकृत नागरिकता दिने विधेयकको व्यवस्था पनि विभेदकारी रहेको आवाज उठेको थियो । नेपाली महिलासँग विवाह गरेर नेपालमै बसोबास गर्न चाहने विदेशी पुरुषहरूले नेपाली नागरिकता लिन सक्ने व्यवस्था नगरेका कारण ऐनले आफूहरूको समान अधिकार सुनिश्चित नगरेको भन्दै केहीले विधेयकमा आपत्ति जनाएका थिए।

नेपालको पछिल्लो संविधान जारी हुनुअघि नेपालमा जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई बाबुआमा दुवै नेपाली भएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्थामा पनि कतिपयले विरोध गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com