ट्रम्प भर्सनमा मनोज गजुरेल [फोटोफिचर]


प्रकाशित मिति : श्रावण २७, २०७४ शुक्रबार

-शेखर अधिकारी

श्रावण २७, २०७४- मनोज गजुरेल त्यस्ता कलाकार हुन्, जो धेरै हाइप्रोफाइलको क्यारिकेचरमा फिट हुन्छन् । शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहालमात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोजस्तै काटीकुटी भेष बदल्न सक्छन् ।
मनोजलाई फेरि चर्चित बनाएको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेषले । काठमाडौंमा भइरहेको गाईजात्रामा ट्रम्परुपी मनोजले नेपाली पत्रकार ऋषि धमलासँग साक्षात्कार गरेका छन् । ऋषि बनेका छन् अर्का हास्य कलाकार सुवोध गौतम ।ट्रम्प पत्नी मेलानियाको भूमिकामा पुरुष कलाकार चक्र दवाडी देखिएका छन् । ट्रम्पलेजस्तै दुई एडीसी मनोजसँग देखिन्छन् ।

ओबिआरमा हस्ताक्षर गर्न चीन जानेक्रममा नेपाल उत्रिएको परिकल्पनामा गाईजात्रे महोत्सवमा ‘फेक’ ट्रम्पको प्रवेश हुन्छ । ट्रम्प प्रवेश गरेलगत्तै ऋषि धमलाकै शैलीमा झम्टिएर पुग्छन्–सुवोध गौतम ।

करिब १० मिनेटको प्रहसनमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यंग्य कसिएको छ । मनोजले ट्रम्पकै हाउभाउमा ‘आई हेट फेक मिडिया’ दोहोर्‍याइरहन्छन् ।

भदौ ३ गतेसम्म चल्ने गाईजात्रामा भुलक्कड देउवामाथि आरजुको दबाबदेखि गणेशमान सिंहको सपनी आगमनसम्म देख्न सकिन्छ । देउवाको भूमिकामा दीपकराज गिरी छन् भने पत्नी आरजु बनेकी छन् दीपाश्री निरौला । गणेशमान बनेका छन् रवि डंगोल ।
‘गाईजात्रे प्रहरी–केरकार शाखा’प्रहसनमा दमन रुपाखेती, राजाराम पौडेल, निरज शर्मा छन् भने ‘खस्पताल’प्रहसनमा मनोज आचार्य, किरण केसी, सुरेन्द्र केसी, शिवहरि पौड्याल छन् । सरिष्मा मगरको नृत्य उत्तिकै दमदार छ ।

तस्बिरहरु : कविन अधिकारी/कान्तिपुर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com