न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा मनाइयो नेपालको गणतन्त्र दिवस


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

नेपालको गणतन्त्र दिवसको १६औ बार्षिकोत्सवको अवसरमा नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कद्वारा नियोगमा आज एक बिशेष कार्यक्रमको आयोजना गरी मनाइयो । कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमद्वारा नेपालको राष्ट्रिय झण्डा फहराई प्रारम्भ गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजाउनुका साथै शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत गौतमले गणतन्त्र दिवसको उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट उपस्थित अतिथि एवं सम्पूर्ण नेपाली समुदायमा हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्नुभयो । साथै, उहाँले नेपालमा गणतन्त्रको स्थापनार्थ नेपाली जनता र राजनैतिक दलहरुले गरेको संघर्ष तथा त्यागको चर्चा गर्दै गणतन्त्रको पृष्ठभूमी र महत्वमाथि प्रकाश पार्नु भयो ।

संविधानसभा मार्फत संघीय गणतान्त्रिक संविधान जारी हुनु र सोही अनुरुप मुलुकमा तीनै तहको सरकार स्थापना भई विकास र समृद्धिले लिएको गतिलाई महत्वपूर्ण उपलब्धिको रुपमा बुझ्नुपर्ने उहाँले बताउनु भयो । साथै देशको विकास र नागरिकका आकांक्षाको परिपूर्तीका निम्ति नेपाल सरकारले चालेका प्रयासमा गैरआवासीय नेपाली समुदायको सहयोगको अपेक्षा सरकारले गरेको कुरा समेत राख्‍नुभयो।

वाणिज्यदूत गणेश प्रसाद अधिकारीले कार्यक्रममा उपस्थीतहरुलाई धन्यवाद दिदै गणतन्त्र दिवसको शुभकामना दिनुभयो । कार्यक्रमको संचालन उपवाणिज्यदूत संगिता न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा न्युयोर्क र न्युजर्सीका विभिन्न नेपाली संघसंस्थाका पदाधिकारी, प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र नियोगका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

आमन्त्रित अतिथिहरुले आफ्नो शुभकामना आदान प्रदानका क्रममा गणतन्त्र स्थापनाका लागि आफ्नो अमुल्य जीवनको बलिदानी गर्ने ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै नेपालमा गणतन्त्रको संस्थागत विकास गर्न सबैले आ आफ्नो जिम्मेवारी इमानदारीकासाथ बोध र पालना गर्ने सके गणतन्त्र दिवसको सार्थकता र शहीदको सपना साकार हुनसक्ने कुरामा जोड दिए । साथै, मातृभूमीको विकासका लागि आफ्ना तर्फबाट यथोचित योगदान दिन आफुहरु प्रयासरत र तयार रहेको प्रतिबद्धता समेत वक्ताहरुले ब्यक्त गरे ।

सबै तस्वीर:  महावाणिज्यदूतावास न्युयोर्क

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com