न्युयोर्कको क्वीन्समा सोमबार हुने ‘तेन्जिङ नोर्गे शेर्पा वे’ नामाकरण कार्यक्रमको तयारी पूरा


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

न्युयोर्कको क्वीन्समा सोमबार हुने तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रमको तयारी पूरा भएको छ । मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राख्ने कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रम संयोजक  तथा युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्क अमेरिकाका वरिष्ठ उपाध्यक्ष मिङमार लामाले जानकारी दिएका छन् ।

कार्यक्रमका लागि अमेरिकामा रहेका ४० वटाभन्दा धेरै संघ संस्थाहरुको सहयोग रहेको उल्लेख गर्दै लामाले कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन् । तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणदेखि ७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस समेत मनाइने उनले जानकारी दिए । कार्यक्रममा १५ मिनेटको ग्लोबल वार्मिङ सम्बन्धि बृत्तचित्र समेत प्रदर्शन गरिनेछ ।

७५ स्ट्रीट र ४१ एभिन्युमा तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रम अगाडि विहान साढे ९ बजेदेखि साढे १० बजेसम्म हिमाल आरोहणका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा शेर्पा किदुगको गुम्बामा दीप प्रज्वलन गरिनेछ । ११ बजेदेखि १२ बजेसम्म हुने तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रम सिटी काउन्सिल सदस्य शेखर क्रिस्ननको नेतृत्वमा हुनेछ । जुन युएस नेपाल क्लाइम्बर्स एसोसिएसन, शेर्पा किदुग र शेर्पा संघ अमेरिकाको संयुक्त आयोजनामा हुँदैछ ।  दिउसो १२ बजेदेखि ४ बजेसम्म नेपाली मौलिक तथा सांस्कृतिक नृत्य प्रदर्शनी सहित विशेष कार्यक्रमका साथ सगरमाथा दिवस मनाइनेछ ।

युएस नेपाल क्लाईम्बर्स एसोसिएसन इंक अमेरिकाका अध्यक्ष पासाङ निमा शेर्पा र कार्यक्रम सयोजक तथा बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिङमार लामाले एक वक्तव्य समेत जारी गदै ब्रोडवे र र उडसाईड एभिन्युबीचको ७५ स्ट्रिटको नाम विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पटक मानव पाइला टेक्न सफल शाहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको नाममा समर्पित गरिने उल्लेख गर्दै स्थानीय सरकारको यो कदमले नेपाली समुदायको शीर अझ उच्च भएको महसुस गरेको उल्लेख गरेका छन् । न्युयोर्क सिटी काउन्सिलले गरेको यस् सुखद र ऐतिहासिक निर्णयको स्वागत गर्दै उनीहरुले ऐतिहासिक कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

तेन्जिङ नोर्गे शेर्पाका छोरा धामेसँग कुर्तिस चिन ।

नोर्गे परिवारका सदस्यहरू र नेपालका लामो समयदेखिका साथी एसियाली विकास बैंकका लागि पूर्व अमेरिकी राजदूत कुर्तिस चिनले तेन्जिङ नोर्गे शेर्पाको नाममा ७५ औं स्ट्रीटको एउटा खण्डको सह नामाकरणले अग्रगामी पर्वतारोहीको जीवन र विरासतलाई मान्यता दिने तथा न्युयोर्कको क्वीन्स तथा सम्पूर्ण अमेरिकामा रहेका नेपाली शेर्पा समुदायको लागि सम्मान रहेको बताए । पाटनको ज्ञानोदय बालवाटिका बोर्डिङ स्कुलमा शिक्षण सहायकका रूपमा नेपाल आउन थालेका पूर्व अमेरिकी राजदूत चिनले डोल्मा इम्प्याक्ट फण्डको सल्लाहकार समितिको सदस्यको हैसियतमा रहँदा पनि बारम्बार नेपालको भ्रमण गरेका छन् ।

टाइम म्यागजिनले नोर्गेलाई २० औं शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू मध्ये एकको रूपमा नाम दिएको स्मरण गर्दै सगरमाथा दिवसमा मात्र नभई अमेरिकाको मेमोरियल डे तथा अमेरिकाले एसियन अमेरिकन र प्यासेफिक आइल्याण्डर समुदायको विविधता र सम्पदा मनाउने महिनाको अन्तिम शनिबार तेन्जिङ नोर्गे शेर्पा वे नामाकरण कार्यक्रम हुनु सुखद संयोग भएको कुर्तिस चिनले बताए ।

तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका लागि तयारी अवस्थामा राखिएको स्ट्रीटको साइन ।

नोर्गे न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७० औं बर्षगाँठका अवशरमा कार्यक्रम गरिन लागेको हो । नोर्गेको सन् १९८६ मा ७१ वर्षको उमेरमा र हिलारीको सन् २००८ मा ८८ वर्षको उमेरमा निधन भएको थियो ।

ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरणका लागि लामोसमयदेखि प्रयास हुदै आएको थियो । उर्गेन शेर्पाको नेतृत्वमा शेर्पा किदुग रहेको बेलामा सन् २०१७ को मे महिनामा ७५ स्ट्रीटको नाम नेपाल झल्किनेगरी राख्ने प्रस्ताव २५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो । त्यतीबेला उक्त स्ट्रीटको नाम नेपाल स्ट्रीट, सगरमाथा स्ट्रीट, गौतमबुद्ध स्ट्रीट, लुम्बिनी स्ट्रीट जस्ता नाममध्ये कुनै एक राख्नका लागि प्रस्ताव गरिएको थियो ।

३० एभिन्युबाट उडसाइडसम्मको पूरै स्ट्रीटलाई नेपालीपन झल्किनेगरी नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । तर त्यसका लागि २२ औं डिस्ट्रिक्टका तत्कालिन सिटी काउन्सिल सदस्य कोस्टा कॉन्स्टेंटिनाइड्सले समेत पहल गर्नुपर्ने र यो क्षेत्र २ वटा डिस्ट्रिक्टभित्र पर्ने भएपछि प्रकृया लम्बिन पुगेको थियो । जसका कारण सन् २०१९ को मार्चमा कोस्टा कॉन्स्टेंटिनाइड्सको पहलमा ३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नरलाईमात्र माउन्ट एभरेष्ट वे नामाकरण गरियो । धेरैवटा ब्लकलाई नामाकरण गर्ने प्रकृयाका तुलनामा एउटा कर्नरलाईमात्र माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रकृया केही सहज भएकाले त्यतीबेला माउन्ट एभरेष्ट वे घोषणा गरिएको थियो ।

त्यसपछि शेर्पा किदुगका तर्फबाट २५ डिस्ट्रिक्टका सिटी काउन्सिल सदस्य ड्रम समक्ष लगिएको प्रस्ताव यत्तिकै सेलाएको थियो । पछि पुन सिटी काउन्सिल सदस्य ड्रम समक्ष ज्याक्सनहाइटको रुजभेल्ट एभिन्युदेखि उडसाइड एभिन्युसम्मको ७५ स्ट्रीटलाई तेन्जिंग नोर्गे शेर्पाको छोटकरी टीएन शेर्पाको नामबाट नामाकरण गर्ने प्रस्ताव लगिएको थियो । उक्त प्रस्ताव लैजादा पनि तेन्जिंग नोर्गे शेर्पा अमेरिकी नागरिक हुनुपर्ने वा अमेरिकामा योगदान गरेको हुनुपर्ने प्रमाणित गर्न भनिएपछि उक्त दोश्रो प्रस्ताव पनि पारित हुन सकेन ।

त्यसपछि उर्गेन शेर्पा कम्युनिटी बोर्डमा नियुक्त भएको बेला उनले स्ट्रीटको नामाकरणबारे थप प्रकृयाहरु बुझे । त्यसपछि तेश्रोपटक सन् २०२१ मा स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव लगियो । नोर्गेको परिवार र छोराछोरीलाई सम्पर्क गर्दा नोर्गेलाई अमेरिकी सरकारले सम्मान गरेको, नोर्गेले अमेरिकामा गरेको योगदानबारे पनि थप जानकारी प्राप्त भयो ।

२५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम, जसले जसले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका सिटी काउन्सिलमा प्रस्ताव लगेर पारित गराएका थिए । सन् २०२१ मा सिटी काउन्सिलमा गएको केही समयपछि उक्त प्रस्ताव पारित भयो । रुजभेल्ट एभिन्युदेखि उडसाइडसम्मको स्ट्रीटलाई नामाकरण गर्ने प्रस्ताव गरिएको भएतापनि ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको २ ब्लकलाईमात्र तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव पारित भयो त्यसपछि ब्रोडवे, ४१ एभिन्यु र उडसाइड एभिन्युमा तेन्जिंग नोर्गे शेर्पा वेका तीनवटा साइन राख्नका लागि अनुरोध गरिएपनि एउटा साइनभन्दा बढी नहुने भन्ने कानुनमा उल्लेख भएका कारण ४१ एभिन्युमामात्र एउटा साइन राखिने भयो । यसरी झण्डै ६ बर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे बन्ने भएको हो ।


सगरमाथाको पहिलो आरोहण सफलतापूर्वक पूरा गरेपछि तेन्जिङ नोर्गे (दायाँ) र एडमन्ड हिलारी

सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। यद्यपि उनको जन्म मिति अज्ञात रहेको मानिन्छ। सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण पछि उनले त्यस दिन आफ्नो जन्मदिन मनाउने निर्णय गरेका थिए। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए। उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।

तेन्जिङको प्रारम्भिक जीवनका परस्पर दावी गरिएका विवरणहरू छन्। उनले आफ्नो आत्मकथामा आफू उत्तरपूर्वी नेपालको खुम्बुको तेङ्बोचेमा जन्मेर हुर्केको शेर्पा भएको उल्लेख गरेका छन्। सन् १९८५ मा अखिल भारतीय रेडियोलाई दिएको एक अन्तरवार्तामा उनले आफ्ना आमाबाबु तिब्बतबाट आएको तर आफू नेपालमा जन्मेको बताएका थिए। उनका छोरा जाम्लिङ तेनजिन नोर्गेद्वारा सहलिखित एक पुस्तक सहित धेरै पछिका विवरणहरूमा भने उनको जन्म तिब्बतमा भएको उल्लेख छ । उनी खुम्बुको एक शेर्पा परिवारका लागि काम गर्न बाल्यकालमा नेपाल गएको पनि उल्लेख छ ।

जे होस्, नेपालको हिमाली छायाका चरनहरूमा याक डुलाउँदै उनको बाल्यकाल बितेको थियो। अठार वर्षको उमेरमा तेन्जिङ दार्जिलिङ हिँडेका थिए। दार्जिलिङमा मजदुर भएर उनले बीस वसन्त काटेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com