बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता


प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार

-डम्मर बुढा मगर/ जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ । निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना तथा ठूलो पहिरो वर्षौँदेखि गइरहनछन् । पहिरोकै कारण वर्षै जसो मानवीय र भौतिक क्षति भइरहेको हुन्छ । बर्खा सुरु भएसँगै ज्यान र सम्पत्ति जोगाउन गाउँलेहरु गाउँमाथिको दह जङ्गलतर्फ लाग्छन् ।

गाउँका करिब एक सय ५० घर परिवार छन् । यी सबै घरमा पहिरोको जोखिम छ । भूगर्भविदले गाउँ बस्नका लागि जोखिमपूर्ण भएको भने पनि स्थानीयहरु अन्यत्र बसाइसराइँ गर्न सकेका छैनन । बरु जोखिमपूर्ण अवस्थामै गाउँमै बस्न बाध्य छन् ।

हुल्दी गाउँसँगै निसीखोलाको देवीस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोका कारण घरमा चिरा परेका छन् । स्थानीयहरु चिरा परेका घर टालटुल गरी बसिरहेका छन् ।

निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित स्थानीयमा पर्छ । पालिकामा दुई सय ८२ घरपरिवार पहिरोले विस्थापित भइसकेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ती घरहमध्ये दुई सय ६० घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँपालिका–१ को देवीस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका एक सय घर, वडा नं २ खाडुका ११ घर, वडा नं २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नं ३ धाराखर्क खग्रेनीका ४८ घर स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिकाको तथ्याङ्कमा छ । वडा नं ४ का तीन घर वडा नं ५ का आठ घर, वडा नं ६ का चार घर र वडा नं ७ मा सात वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताउनुभयो ।

“यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढीपहिरोबाट नागरिक प्रभावित बन्नुपरेको छ, हुल्दी गाउँको पहिरो दुई÷चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जान थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाका लागि स्थानान्तरण गर्नुको विकल्प छैन”, सूचना अधिकारी गौतमले भन्नुभयो ।यसका लागि केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

यसवर्षको बर्खा सुरु भएपछि गाउँपालिकाले पहिरोबाट जोगिन सचेत गराइसकेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनिसकेको उहाँले जानकारी दिनुभयो । मौसमजन्य विपद् अन्तर्गत केन्द्र सरकारले दिएको रु चार लाखबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ ।

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिञ्जालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताउनुभयो । ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य हुनुपर्ने उहाँको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिञ्जालीको भनाइ छ । आर्थिक अवस्था बलियो हुनेहरु बसाइँसराइ सरेर तराईतिर झरे पनि आफूहरु भने जोखिमपूर्ण अवस्थामै बस्नुपरेको उहाँको भनाइ छ ।

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाइ नभएको सिञ्जालीको गुनासो छ । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उहाँको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिञ्जाली बताउनुहुन्छ ।

“फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना भइहाल्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छेनै पुरिन्छन्, ५÷६ वर्ष अगाडि घरमा सुतिराख्नु भएको मेरो आमानै पहिरोले पुरिदियो”, सिञ्जालीले भन्नुभयो ।

स्थानीय हुमकुमारी मल्लले आफ्नो अन्यत्र सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताउनुभयो । ठूलो पानी परेका दिन कुनै दुर्घटना हुन्छ कि भन्दै रातभर नसुती बस्ने गरेको मल्लको भनाइ छ । पहिरोले कहिले पशुचौपाय कहिले गोठ पुरिदिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उहाँको भनाइ छ ।

“गाउँपालिकामा धेरै पटक भन्यौँ, केन्द्र र प्रदेश सरकारसँग पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ”, उहाँले भन्नुभयो, “पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ ।”

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताउनुभयो । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्तीनै स्थानान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उहाँले बस्ती स्थानान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागि रहेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com