नेपाली चलचित्र विदेशमा प्रदर्शन हुँदै


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ ।
मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । दर्शकले व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनी नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले बताउनुभयो ।
व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्ने उहाँको भनाइ थियो । “बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्दछ । यसको सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन भने आफूलाई पायक पर्ने समयमा दर्शकले हेर्न पाउछन्”, उहाँले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘जारी’ लगायत चलचित्र नियमितरूपमै प्रदर्शन भएको बताउनुभयो ।
अष्ट्रेलियामा नियमित रूपमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले नियमित सोमा नै दर्शक हेर्न आउने क्रम बढेको बताउनुभयो । “हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन । अहिले विदेशी अन्य चलचित्र झैँ नेपाली चलचित्र पनि प्रदर्शन गर्न सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।
कुनै समय विदेशमा चलचित्र प्रदर्शन गर्न निकै सङ्घर्ष गर्नुपरेको निर्माता एवं कलाकार रवीन्द्रसिंह बानियाँले बताउनुभयो । उहाँले रेस्टुराँ, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभव सुनाउनुभयो । उहाँले निर्माण गर्नुभएको ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । “खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम पनि उत्तिकै हुन्छ”, उहाँले भन्नुभयो ।
विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा मिलेको निर्माता बानियाँले बताउनुभयोे । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
यस वर्ष दसैँ र तिहारसम्म प्रदर्शन घोषणा भएका केही नेपाली चलचित्रले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सँगै प्रदर्शन घोषणा गरेका छन् । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा विस्तार भएमा नेपाली चलचित्रको सम्भावना बढ्दै जाने चलचित्रकर्मीको भनाइ छ ।
‘कबड्डी’ शृङ्खला, ‘जारी’ विदेशमा माग भएका चलचित्र हुन् । चलचित्र निर्माता मणिराम पोखरेलले चलचित्र भवनमै प्रदर्शन गराउन निर्माताले कडाइ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो कम्पनीमार्फत निर्माण भएका चलचित्रलाई चलचित्र भवनमै प्रदर्शन गर्ने सर्त राखेर विदेशको प्रदर्शन अधिकार बिक्री गर्ने गरेको छु । दर्शकलाई गुणस्तरीय चलचित्र देखाउने हाम्रो चाहना हो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com