न्युयोर्क ट्रेनमा होमलेसको मृत्युको घटनामा पूर्व अमेरिकी सेनाबाट आत्मसमर्पण


प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार

A group of several hundred people protest the death of Jordan Neely, Friday, May 5, 2023, at Washington Square Park in New York. Neely, a locally-known Michael Jackson impersonator who friends say suffered from worsening mental health, died Monday, May 1, when a fellow rider pulled him to the floor and pinned him with a hold taught in Marine combat training. (AP Photo/Brooke Lansdale)

यस महिनाको सुरुमा न्युयोर्कको सबवे ट्रेनमा अमेरिकी सेनाका भेट्रान डेनियल पेनीले होमलेस स्ट्रीट कलाकार जोर्डन नीलीको घाँटी अठ्याउँदा नीलीको मृत्यु भएपछि पेनीले दोस्रो डिग्री हत्याको आरोपको सामना गर्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। २४ वर्षीय पेनीले आत्मसमर्पण गरेपछि शुक्रबार बिहान हातकडी लगाएर प्रहरी परिसरबाट लगिएको थियो । पेनीलाई शुक्रबार हतकडी लगाएर म्यानहट्टन फौजदारी अदालतमा अभियोग लगाउन उपस्थित गराइएको थियो भने पछि १ लाख डलर नगद जमानतमा रिहा गरियो।

अमेरिकी सेनाका भेट्रान पेनीले अमेरिकी मरीनमा सेवा गरेका थिए। उनी एक सर्जेन्ट थिए । उनले सन् २०१७ देखि सन् २०२१ सम्म मरिनमा सेवा गरेका थिए । उनको अन्तिम असाइनमेन्ट नर्थ क्यारोलिनाको क्याम्प लेजेउनेमा थियो । अब उनलाई जुलाई १७ मा अदालतमा पेश गरिनेछ ।

वास्तुकलामा स्नातक डिग्री गरिरहेका पेनी न्यूयोर्क शहरमा बस्छन् भने उनले आफ्नो पासपोर्ट २४ घण्टाभित्र बुझाउनुपर्नेछ । न्यायिक स्वीकृति बिना उनी राज्य बाहिर जान पाउनेछैनन् । मृतक नीलीको परिवारले भने पेनीविरुद्ध कडा अभियोगको आशा गरिरहेको थियो। हत्याको लागि सजाय हुनुपर्ने र हत्या जानाजानी भएको नीली परिवारका वकील लेनन एडवर्ड्सले बताएका छन् ।

पेनीले ३० वर्षीया नीलीलाई म्यानहट्टन ट्रेनभित्र रोकेका थिए जब नीली यात्रुहरुमाथि अभद्र तरिकाले चिच्याएका थिए । नीलीले अनियमित व्यवहारका साथ यात्रुहरुसँग पैसा माग्न थालेपछि उनलाई रोकेर भुईमा लडाइएको थियो । नीलीलाई रोक्ने क्रममा पेनीले घाँटी अठ्याउँदा नीलीको मृत्यु भएको थियो । नीलीलाई अस्पतालमा मृत घोषणा गरिएको थियो ।

उनको मृत्युलाई हत्याको रूपमा लिइएपनि त्यहाँ हत्याको आशय थियो भन्ने नभएको मुख्य मेडिकल परीक्षकको न्युयोर्क शहर कार्यालयका प्रवक्ताले बताएका थिए । न्युयोर्क शहरका मेयर एडम्सले जिल्ला न्यायधिवक्ता एल्भिन ब्रागको कार्यालयले अनुसन्धानमा लिइएको दृष्टिकोणको प्रशंसा गरेका छन् ।

नीलीले घटना हुनु अघि अनियमित व्यवहार गरेपनि घाँटी अठ्याउनु अगाडि ट्रेनमा कसैलाई आक्रमण नगरेको प्रत्यक्षदर्शीको भनाई छ । नीलीको मृत्युले अमेरिकाभर घरबारविहीनता र मानसिक रोगसँगको संघर्षमा ध्यान केन्द्रित गर्दा विरोध प्रज्वलित गरेको छ।

माइकल ज्याक्सनको नक्कलका लागि परिचित नीलीले सन् २००७ देखि मानसिक स्वास्थ्य समस्या भोगेका थिए । उनी १४ वर्षको हुँदा उनकी आमाको हत्या भएको थियो । आफ्नी आमाको निर्मम हत्यापछि उनको शव सुटकेसमा भेटिएपछि उनी आघातमा परेका थिए ।

मृत्यु हुनु अघि नीली न्युयोर्क सिटीको विभागको घरबारविहीन सेवाहरूको तीव्र आवश्यकताको साथ शहरका घरबारविहीनहरूको सूचीमा थिए । सूची सामान्यतया सार्वजनिक गरिदैन तर आउटरिच संस्थाहरूले ती व्यक्तिहरूको खोजीमा हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com