पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी


प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट  पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा  पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ ।

रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।

(यस अगाडि अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका टोपबहादुर रायमाझी भैरहवाबाट नियन्त्रणमा लिइएको भन्दै प्रहरीको उच्च श्रोतले दिएको जानकारी पुष्टी हुन नसकेकाले उक्त समाचारमा भएको विवरण सच्याइएको छ । यसबाट पाठकहरु र सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं । -सम्पादक)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com